मंगलवार, ३ असार, २०८२

पातारासीमा उमेर पुगेर विवाह गर्नेलाई बधाई पत्र

गाउँपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख भगवती गिरीले यस कार्यक्रमको सुरुआत गर्ने प्रस्ताव राखेकी थिइन्।

पातारासी गाउँपालिकाले बालविवाह न्यूनीकरणको उद्देश्यसहित एउटा नयाँ र सकारात्मक कदम सुरु गरेको छ।

अब २० वर्ष उमेर पूरा गरी विवाह गर्ने जोडीलाई गाउँपालिकाको तर्फबाट विशेष बधाई पत्र प्रदान गरिनेछ। यो कदमले बालविवाह रोकथाममा महत्त्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ।

गाउँपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख भगवती गिरीले यस कार्यक्रमको सुरुआत गर्ने प्रस्ताव राखेकी थिइन्।

उनका अनुसार हरेक वर्ष विवाह गर्ने महिनामा प्रहरी, जनप्रतिनिधि, महिला बालबालिका शाखा, बाल क्लव र अनुगमन, र्‍याली अभियान अन्तरक्रिया सडक नाटक प्रदर्शन, बस्ती बस्ती, मावि स्तरका विद्यालय, समुदायमा जाने, सचेतना कार्यक्रम गर्ने लगायतका काम निरन्तर भई रहेका छन्।

यो वर्ष पनि मंसिर १ देखि ७ गतेसम्म अभियान सकिए लगत्तै शनिबार याे भन्दा पहिला बाल विवाहकाे प्रयास बढी हुने उक्त वडामा विवाहित नयाँ जोडिलाई बधाई पत्र दिएर यो कार्यकाे सुरुवात गरिएको उनको भनाइ छ।

बाल विवाह न्युनिकरणका कार्यक्रमहरुकाे प्रस्ताव  राख्दा अध्यक्ष पूर्णसिंह बोहोरा, उपाध्यक्ष जनमाया रोकाया लगायत सबै  जनप्रतिनिधि ले सहयाेग गर्ने गरेकाे महिला बालबालिका शाखा प्रमुख गिरीले थपिन्।

“उमेर पुगेपछि मात्र विवाह गर्ने प्रचलनलाई प्रवर्द्धन गर्न यो उपाय अपनाइएको हो,” उनले भनिन्, “यसले नयाँ पुस्तामा सही सन्देश पुर्‍याएर बालविवाह गर्ने परम्परागत हानिकारक अभ्यास अन्त्य गर्न सहयोग पुर्‍याउने विश्वास छ।”

सोही योजना अनुरुप पातारासी गाउँपालिका वडा नम्बर ७ रिनीका अर्जुन खड्का र लालमाया बुढा(खड्का)लाई पहिलो बधाई पत्र प्रदान गरियो।

यो जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेकाले बालविवाह न्यूनीकरणको लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको भन्दै सम्मान गरिएको हो।

“बाल विवाह नगर, गर्नु हुँदैन” भन्दै गर्दा नकारात्मक असर बढि देखिने भएकाेले सकारात्मक सन्देश फैलाउनका लागि उमेर पुगेर विवाह गर्ने जाेडिलाई बधाई  पत्र दिन सुरु गरिएको हो। यसपछि उमेर पुगेका विवाहलाई आत्मनिर्भरतासँग जोडिने गिरीको तर्क छ।

बधाई पत्रमा उल्लेख गरिएको सन्देश यस्तो छ, “तपाईंहरूको जोडीले २० वर्ष उमेर पूरा गरी विवाह गरेर बालविवाह न्यूनीकरणमा प्रेरणादायी भूमिका निर्वाह गर्नुभएकोमा हार्दिक बधाई तथा सफल र सुखद दाम्पत्य जीवनको शुभकामना।”

बधाई पत्र वडा अध्यक्ष, वडा सचिव र महिला तथा बालबालिका शाखा प्रमुखको हस्ताक्षरसहित प्रदान गरिएको थियोे।

पातारासी गाउँपालिकाले बालविवाह विरुद्धको अभियानलाई तीव्र बनाउँदै जुम्लाको पहिलो बालविवाहमुक्त वडा घोषणा गर्न सफल भएको छ।

पातारासीको वडा नम्बर ५ बालविवाहमुक्त वडा घोषणा भइसकेको छ भने अन्य वडाहरूलाई पनि यो अभियानमा सहभागी गराउन योजनाहरू अघि बढाइएको गिरीले बताइन्।

बालविवाहजस्तो सामाजिक कुरीतिलाई रोक्न यस्तो सकारात्मक पहलको स्वागत भइरहेको छ।

यो कार्यक्रमले युवा पुस्तालाई सशक्त बनाउन र उमेर नपुगि विवाह गर्ने अभ्यासलाई जरैदेखि उखेल्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पातारासी गाउँपालिकाको यो प्रयास अन्य स्थानीय तहहरूका लागि पनि उदाहरणीय बन्न सक्छ।

उमेर पुगेपछि मात्र विवाह गर्ने संस्कारलाई समाजमा स्थापित गर्न यो कदमले महत्वपूर्ण भूमिका खेल्ने गिरीको दाबी छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार