बूढो हुँदै गएको र स्वास्थ्यले गर्दा मजदुरी गर्न गाह्रो भएपछि घर सम्झिएँ। बूढो भएपछि जन्मथलोको माया र भरोसा लाग्दो रहेछ।
सुर्खेत। भाई बेपत्ता भएपछि दाजु प्रेम सुनारले पूजा लगाए। भारतमा रहेका आफन्तहरुसँ पनि गुहारे।
भाई भेटिन्छ कि भनेर भारतमै मजदुरी गर्न थाले। ३० औँ वर्ष बित्यो, भाई भेटिन्छ की भनेर भारतको कुनाकुना पुगे। कतै भेटिएनन्। आस मारेर घर फर्किए।
२०५२ सालदेखि बेपत्ता भएका बल बहादुर सुनार ३० वर्षपछि घर फर्किए। सुर्खेत वीरेन्द्रनगर -१० का ५९ वर्षीय उनी ३० वर्षको उमेरमा घरबाट भारत गएका थिए।
उनीे भारतको देहरादुनमा जिवीत छन् भन्ने कुरा थाहा पाएपछि दाजु प्रेम सुनार र भाउजू रुपकली सुनारले भारतमा रहेका आफन्तहरुसँग लामो समयसम्म गुहारे।
उनले भने, ‘बूढो हुँदै गएको र स्वास्थ्यले गर्दा मजदुरी गर्न गाह्रो भएपछि घर सम्झिएँ। बूढो भएपछि जन्मथलोको माया र भरोसा लाग्दो रहेछ। त्यसैले घर फर्किने निर्णय गरेँ।’
घर फर्किएपछि छिमेकीहरू अचम्ममा परेका छन्। घर पुग्दा उनले आफ्नै छोराछोरीलाई पनि चिन्न सकेनन्।
बाबा बेपत्ता हुँदा १ वर्षकी छोरी चन्दाले चिन्ने कुरै भएन। उनी बेपत्ता भएको दश वर्षमै पत्नीको मृत्यु भइसकेको थियो। यतिका वर्ष नआउँदा परिवार र छरछिमेकीले उनी जीवितै रहेको भन्ने आशा मारिसकेका थिए।
घरमा खान लाउनको समस्या थियो। दैनिक उपभोग्य वस्तु नुन, तेल, चामलको जोहो नभएपछि उनी भारत पलायन भएका थिए।
उनले भने, ‘भारत पसेपछि काम र उतैका साथीभाइसँग घुलमिल हुँदा घर बिर्सेँ।’
उनले दैनिक ५ सयका दरले काम गरेको थिए। करिब ५ लाखसम्म पैसा जम्मा भएको थियो। सलमान मुस्लिमलाई पैँसा राख्ने जिम्मा दिएका थिए।
‘पैसा दिएको मान्छेले मलाई पागल भनेर ५ महिना सम्म सुधार केन्द्रमा राखेपछि घर फर्किन ढिला भयो,’ कुटीरोसँग उनले आफ्ना दु:ख सुनाए।
उनी घरमा साना छोराछोरी छोडेर भारतमा गएका थिए। अहिलेसम्म पैसा नपाउँदा समस्या भएको उनको भनाइ छ। ‘पैसाको लागि कुर्दाकुदा ३० वर्ष सम्म भारतमै विते।’
उनी आएपछि उनका दाजु र भाउजू सँगै दुई छोरी समेत खुसी छन्। भारतबाट बाबा पर्किएपछि आजसम्म टुहुरा जस्तै रहेका भन्दै जेठि छोरी चन्दा र कान्छी सिताले सुनारले भनिन्, ‘बल्ल संरक्षक पायौँ।’
उनी यतिबेला आफन्तसँग भेटघाटमा व्यस्त छन्। ‘श्रीमतीकोे मृत्युको खबर यहीँ आएर सुनें,’ बल बहादुरले भने, ‘छोरीहरुको पनि बिहे भैसकेछ नाति नातिना देख्दा सन्तोष लागेको छ।’
उनी भारत जानेबेला सुर्खेतको बजार अहिलेको जस्तो नभएको सम्झिन्छन्। उनी अहिलेको विकास देखेर देखेर चकित भएका छन्।
‘अब त घर–घरमा गाडी पुग्ने जमाना आएछ,’ उनले भने, ‘३० वर्ष धेरै विकास भएछ।’
‘नागरिकता नभएको हुँदा साथीभाइले अनागरिक भन्दै होच्याउँदा अति दुःख लाग्थ्यो,’ उनले आफ्नो विगत सम्झिए, ‘नागरिकता नहुँदा बैंकमा खाता खोल्न समेत पाएको थिइनँ।’
पत्रकार प्रज्वल चुनाराको नेतृत्वले ३० वर्ष देखि सम्पर्क बिहिन भएका बल बहादुर सुनारलाई जन्मलो सुर्खेतमा पुर्याएका छन्।