प्राकृतिक रूपमा सुन्दर जुम्ला भाषा, संस्कृति, सभ्यताका साथै वौद्ध, हिन्दु, वोन र जैन धर्मको अनुपम संयोग र यसको मूल स्रोत वा केन्द्र कैलाशलाई जोड्ने आधार शिविर पनि हो।
मिलेको भूलोग, ऐतिहासिक विरासत र वैभव भएको स्थानमा जन्मन पाउनु र कर्मभूमि बनाउन पाउनु यहाँका बसोबास गर्ने नागरिक सौभाग्य ठन्दछन्। विडम्वना वर्तमान समयमा आएर हामीमा आफ्नोपन र मनकारी भावना दिनप्रतिदिन स्खलन हुँदै गइरहेको छ। अब हाम्रो सोच र चिन्ता यता तिर पनि जानुपर्ने आजको आवश्यकता हो।
जात्रा, जात्र मात्र नभएर यसले सामाजिक र सांस्कृतिक मूल्य मान्यता बचाउनका साथै विकृति र विसंगतिहरुलाई पनि सहि बाटोमा ल्याउन दिशानिर्देश गर्दछ। यी विषयमा गम्भीर भइ भोलिको पुस्तामा आफ्नो मौलिकतालाई पनि बचाई राख्न आधार तयार पार्दै पुस्तान्तरण गर्नु जरूरि छ।
साथै यसले जिल्लाको सांस्कृतिक पर्यटनमा ठूलो प्रभाव पार्दै स्थानीय रोजगारी सृजनामा पनि टेवा पुर्याउँछ।
जुम्लामा जात्राको परम्परालाई खोतल्ने हो भने वि.स १९५३ को आसपासबाट सुरुवात भएको हो। विभिन्न समाज र भूगोलमा मानव जातिको अस्तित्व यो संसारमा जब भयो त्यही समयबाट नै मानव जातिले आफ्नो स्थान, परिवेश, भूगोल अनुरुप केही त्यस्ता मूर्त वा अमूर्त रूपमा आफ्नो समाजमा त्यस्ता मन वहलाउन होस् वा अन्य सन्देशमुलक कार्य, संस्कार र संस्कृति पनि निर्माण गरेको हुन्छ।
यस्तै साउन र भदौ महिनामा मुख्यतया जुम्लाको सदरमुकाम खलंगामा हुने जात्रा नेवार समुदायसँग जोडीएको पाइन्छ। जब कान्तिपुरी नगरी (हालको काठमाडौं) बाट नेवार समुदाय देशको विभिन्न स्थानहरुमा व्यापारिक स्थानन्तरको शिलसिलामा दैलेख हुँदै जुम्ला आगमन र स्थायी कर्मथलो बनाउँदा देखिनै उनीहरुले यो संस्कृति भित्र्याएको देखिन्छ।
जसका प्रवर्तकका रुपमा पूर्णसिंह श्रेष्ठ मल्लका छोरा कृष्णबिर श्रेष्ठ मल्ललाई मानिन्छ। तर, आजको परिवेशमा यो नेवार समुदायको मात्र नभएर समग्र जुम्लाबासीको संस्कार र संस्कृति बनिसकेको छ। यो संस्कृति चन्दननाथ नगरपालिका भित्र मात्र सिमित नभई जिल्लाका अन्य भाग, कर्णाली आसपासका जिल्ला सँगै समग्र कर्णाली प्रदेश भित्र ठूलो जात्रा वा संस्कृतिको रुपमा विस्तार भइसकेको छ।
श्रावण कृष्ण चतुर्दशीका दिन गठामंगल (गाँठेमंगल) को रुपमा घण्टाकर्ण नामक राक्षेशको पुत्ला थपना गरि सोहि दिन साँझ नदीमा सेलाई विदिवत् जात्राको सुरुवात गरिन्छ। सो दिनबाट जात्रा सुरुवात हुन्छ। त्यसैदिनदेखि हरेक साँझ लाखे नाच देखाउने गरिन्छ। यसले जात्रा चलिरहेको छ भन्ने संकेत दिन्छ।
गाउँगाउँबाट सदरमुकाम आउने नागरिकले यो सन्देश बोकेर गाउँगाउँ पुग्दछन् र भन्दछन् ‘यो वर्ष पनि जात्रा भव्य रुपमा मनाइँदैछ।’
जनै पूर्णिमाको भोलिपल्टबाट जात्रापर्व व्यापक हुन्छ। त्यो दिनबाट जात्राले औपचारिक रुप लिन्छ। पहिलो दिन औपचारिक रुपमा गाईजात्रा मनाइन्छ। जसरी काठमाडौं उपत्यकामा गाईजात्रा मनाइन्छ त्यसरी नै जुम्लामा पनि मनाइन्छ। यहाँको गाईजात्रा इतिहाससँगै जोडिएर मनाउने गरिन्छ।
खासगरि त्यस वर्ष बजार आसपासको घरमा त्यस वर्ष मान्छे मरेको रहेछ भने त्यही घरबाट गाई निकाल्ने चलन छ।
गाईसँगै गाईका बाच्छाहरु नाचेर आम दर्शकलाई रमाइलो दिने गरिन्छ भने मान्छे मरेको घरका सदस्यहरुको शोक पनि कम हुन्छ। यद्यपी पछिल्लो समय गाईजात्रा देशको अव्यवस्थालाई प्रहार गर्ने व्यंग्यात्मक प्रतिबिम्बको रुपमा समेत चिनिएको छ।
पछिल्लो समय यसरी गरिने व्यंग्य व्यक्ति केन्द्रित बढी भएकोले सरकारले कानुन बनाएर यसलाई नियन्त्रण गर्न खोजेको देखिन्छ।
सत्ता बाहिर हुन्जेल जनताको पक्षमा चर्का, मिठा र मन छुने भाषण गर्ने र सत्तामा पुगेपछि जनताको सामुहिक स्वार्थलाई तिलाञ्जली दिएर व्यक्तिगत स्वार्थमा लाग्ने समग्र नेपाली राजनीति र राजनीतिका पात्रहरुलाई व्यंग्य गर्न नपाउँदा केही आक्रोस भने बाँकी नै छन्।
दोस्रो दिन रोपाई जात्रा, तेस्रो दिन मिम वाद्साहा र पल्टन जात्रा, चौथो दिन बाघभालु मार्ने र खष जात्राले जुम्ली नागरिकलाई भरपुर मनोरञ्जन दिन्छ। यही अवधिमा मनोरञ्जनात्मक तथा सचेतनामूलक कार्यक्रमहरु गरिन्छ। यस बीचमा बडिमालिका बढाई गर्ने काम पनि सकिसकेको हुन्छ।
कृष्ण जन्माष्टमिको दिन कृष्ण जन्मेको दृश्य देखाइन्छ। कृष्ण जन्माष्टमिको भोलि पल्ट लाखे मारि कृष्णको विजय रथयात्रा कृष्ण मन्दिरबाट सुरुवात गरि चन्दननाथ, भैरवनाथ र दरबार मालिकाको मन्दिर परिक्रमा गरि सोहि कृष्ण मन्दिरमा आई विधिवत् रुपमा जात्राको समापन गरिन्छ।
जात्राको यो अवधिमा जुम्ला जिल्ला लगायत त्यसको आसपासका जाजरकोट, मुगु, कालिकोट र डोल्पा जिल्लाका लगभग बिस-तीसहजार नागरिकहरु लामोसमय कृषी पेशा र घरायसी कामकाजबाट थकान मेटाउन जात्राको माध्यमबाट भरपुर मनोरञ्जन लिने गरिरहेका छन्। साउन कृष्ण चतुर्दशीका दिनबाट लाखेले लगाउने गरेको मखुन्टो (ख्वापा) आम दर्शकहरुले लामो समयदेखि एउटै खालको देख्दै आएका छन्। के त्यो मगुन्टो हरेक वर्ष नयाँ किनिन्छ ? हरेक वर्ष किनिने मगुन्टो सँधै एकै किसिमको कसरी हुन्छ ? यस्ता प्रश्नहरु लगभग धेरै दर्शकहरुले गरिरहेको छन् भने कयौंको खुल्दुलीको विषय हो।
यस प्रश्नको उत्तर खोज्दै जाँदा यसको लामो इतिहास भेटिन्छ। सुरुका दिनमा मगुन्टो माटो र कागज कुटेर बनाउने गरिन्थ्यो। पछि २००५ सालमा पुरै पितलको मकुण्डो डोटीबाट ल्याइएको हो। त्यसको आकार नमिलेकोले कामिटोलका विष्णु सुनारले त्यसलाई मिलाएर परिमार्जन गरेका थिए।
जुम्ला बजारका चित्रलाल श्रेष्ठले २०१८ सालदेखि हालसम्म उक्त मगुन्टोलाई मर्मत संहार, सिंगार पटार र संरक्षण गर्ने काम गर्दै आएका छन्। १२ वटा चौंरी गाईका फुर्कालाई बाँधेर लाखेको ठाग्रो बनाइन्छ र सिरमा चन्द्र सूर्यको आकृति पनि राखिन्छ। लाखेले नाच्नेबेला शिरमा लगाउने ठोग्रो र मगुन्टो गरि झण्डै १० देखि १२ किलो सम्मको हुन्छ। यसरी लामो समय हामीले देख्दै आएको लाखेको मगुन्टो उहिलेदेखि अहिलेसम्म एउटै प्रयोग हुँदै आइरहेको छ।