ख्रिष्टमसको सन्देश प्रेम, क्षमा र एकता हो, जसले हाम्रो जीवनलाई गहन बनाउँछ। यो लेख तपाईंको हृदयलाई स्पर्श गरोस्: जीवन व्यर्थ होइन, यो परमेश्वरको प्रेम काव्य हो।
एक अन्धकारपूर्ण रातमा एउटा तारा चम्किरहेको छ। एक्लो, तर आकाशलाई उज्यालो पार्ने शक्तिशाली। यो तारा हो येशू ख्रीष्टको जन्म परमेश्वरको सृष्टिमा एक चम्किलो बिन्दु, जसले मानव जीवनको अर्थ, उद्देश्य र आशालाई उजागर गर्छ।
ख्रिष्टमस, जसलाई हामी डिसेम्बर २५ मा मनाउँछौं, केवल उत्सव होइन, बरु बाइबलको केन्द्रीय सन्देशको उत्सव हो। जसरी शेक्सपियरले ‘सारा संसार एक रंगमञ्च हो’ भनेका थिए, बाइबलमा यो रंगमञ्च परमेश्वरीय हो, र येशूको जन्म यसको क्लाइमेक्स हो। यसले हामीलाई प्रश्न सोध्छ: हाम्रो जीवनको उद्देश्य के हो? र यसको उत्तर परमेश्वरको प्रेममा निहित छ।
आधुनिक विज्ञानले बताउँछ कि ब्रह्माण्डको सुरुवात भयो। यसको एउटा सुरुवाती बिन्दु छ (Big Bang)। हरेक प्रभावको एउटा कारण हुन्छ। यदि ब्रह्माण्डको कारण छ भने, त्यो कारण समय र पदार्थभन्दा बाहिरको हुनुपर्छ, अर्थात् अलौकिक। बाइबलले भन्छ, ‘आदिमा वचन हुनुहुन्थ्यो… र सबै थोक उहाँद्वारा सृजित भयो’ (यूहन्ना १:१–३)।
मानव जीवनका हरेक क्षेत्रमा जीवन सफल जस्तो लाग्छ। तर राति जब एक्लै हुन्छौं, एउटा प्रश्न बारम्बार आउँछ, ‘यो सबको अर्थ के हो?’ पैसा, शक्ति, ज्ञानले पनि पूर्ण शान्ति दिन सक्दैन। येशूले भन्नुभयो, ‘म जीवनको रोटी हुँ। मकहाँ आउने कहिल्यै भोकाउँदैन, र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउँदैन’ (यूहन्ना ६:३५)।
परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ, तर उहाँले आफूलाई सानो, असहाय बालकको रूपमा प्रकट गर्नुभयो। किन? किनकि उहाँ हामीसम्म पुग्न चाहनुहुन्थ्यो। उहाँ टाढाका, शक्तिशाली परमेश्वर मात्र होइनन्। उहाँ नजिकका, प्रेम गर्ने पिता हुनुहुन्छ। यो प्रेम यति गहिरो छ कि उहाँ हाम्रा लागि मर्न तयार हुनुभयो।
बाइबल अनुसार, मानिसको जीवनको उद्देश्य अनन्त कालदेखि नै परमेश्वरको योजनामा निहित छ। उत्पत्ति १:२६–२७ मा परमेश्वरले भन्नुभयो भनेर यसरी भनिएको छ, ‘हामी आफ्नै स्वरूपमा, आफ्नै प्रतिरूपमा मानिस बनाऔं।’
यो वाक्यले दार्शनिक रूपमा जीवनको आधारलाई स्पष्ट गर्छ: मानिस परमेश्वरको प्रतिबिम्ब हो, एक जीवित कला कृति जसले सृष्टिकर्ताको महिमालाई प्रतिबिम्बित गर्छ। परमेश्वरले मानिसलाई प्रेमको लागि सृष्टि गर्नुभयो।
उहाँसँग घनिष्ठ सम्बन्ध राख्न र उहाँको महिमा गर्नको लागि (यशैया ४३:७)। तर यो सुन्दर सृष्टिमा पापको छाया पर्छ। उत्पत्ति ३ मा आदम र हव्वाले परमेश्वरको आज्ञा उल्लङ्घन गर्दा पाप प्रवेश गर्छ, जसले सम्बन्ध टुटाउँछ र मृत्यु ल्याउँछ (रोमी ५:१२)। यो पतनले जीवनलाई संघर्षपूर्ण बनाउँछ। क्रोध, लोभ, ईर्ष्या जस्ता पापका छायाहरूले हृदयलाई घोच्छन्।
बाइबलमा यो सृष्टि, पतन र मुक्तिको सबै परमेश्वरको योजना हो। परमेश्वरको योजना भनेको यो टुटेको सम्बन्धलाई पुनर्स्थापित गर्नु हो। यर्मिया २९:११ मा भनिएको छ, ‘मेरा विचारहरू तिमीहरूले जान्दछौ भनी परमप्रभु भन्नुहुन्छ, ती विपत्तिका लागि होइनन्, शान्तिका विचारहरू हुन्, र तिमीहरूलाई आशा र भविष्य दिनलाई।’
यो योजना अनन्त कालदेखि नै मुक्ति र आशिषमा केन्द्रित छ, जसलाई येशू ख्रीष्टद्वारा पूरा गरिन्छ (२ तिमोथी १:९)। पुरानो नियमका भविष्यवाणीहरू (जस्तै यशैया ७:१४ र मीका ५:२) ले येशूको जन्मको पृष्ठभूमि तयार पार्छन्, जसले ४०० वर्षको मौनतालाई तोड्छ र ईश्वरको प्रेमलाई प्रकट गर्छ।
येशू ख्रीष्टको जन्म जीवनको उद्देश्यलाई पूर्णता दिन्छ। उहाँको जन्म बेतलेहेममा, एक गोठमा भएको थियो, नम्रताको प्रतीक। कुमारी मरियमबाट पवित्र आत्माद्वारा जन्मनुभयो (लूका १:२६–३८)। यो ‘इम्मानुएल’ (परमेश्वर हामीसँग) को पूर्ति हो (मत्ती १:२३)।
स्वर्गदूतहरूले गोठालाहरूलाई घोषणा गरे, ‘आज दाऊदको शहरमा तिमीहरूका लागि मुक्तिदाता जन्मनुभयो’ (लूका २:११), र पूर्वबाट आएका ज्योतिषीहरूले उपहार दिए, जसले उहाँलाई राजा, परमेश्वर र बलिदानको रूपमा चित्रित गर्छ।
येशू यस संसारमा आउनुको मुख्य कारणहरू बाइबलमा स्पष्ट छन्: पापीहरूलाई उद्धार गर्न (लूका १९:१०), हाम्रो पापको लागि बलिदान हुन (यशैया ५३:५), अनन्त जीवन दिन (यूहन्ना ३:१६), सत्य र मार्ग देखाउन (यूहन्ना १४:६), मानिस र परमेश्वरबीच मेलमिलाप गराउन (१ तिमोथी २:५), र प्रेम तथा क्षमा सिकाउन (यूहन्ना १५:९)।
मत्ती १:२१ मा भनिएको छ, ‘उनीले एउटा छोरा जन्माउनेछिन्, र तिमीले उनको नाम येशू राख्नेछौ, किनकि उनी आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट मुक्त गर्नेछन्।’
यो उपदेश हृदयस्पर्शी छ। जीवनमा दुःख, चिन्ता, डर र पाप छन्, जसरी रोमी ३:२३ ले भन्छ, ‘सबैले पाप गरेका छन् अनि परमेश्वरको महिमाबाट वञ्चित भएका छन्।’ तर येशूले क्रूसमा आफ्नो ज्यान दिएर पापको सजाय लिनुभयो र तेस्रो दिन जीवित हुनुभएर मृत्युमाथि विजय प्राप्त गर्नुभयो (१ यूहन्ना ३:८)।
यो प्रेमको दर्शन हो, जसलाई मत्ती २२:३७–३९ मा येशूले भन्नुहुन्छ: ‘तैंले आफ्नो सारा हृदयले… परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर… तैंले आफ्ना छिमेकीलाई आफूलाई जस्तै प्रेम गर।’
साहित्यिक रूपमा, यो एक महाकाव्य हो पतनबाट मुक्तिसम्मको यात्रा। जीवनको उद्देश्य सेवा, प्रेम र परमेश्वरसँगको सम्बन्धमा निहित छ, जसले अस्तित्ववादी निराशावादलाई चुनौती दिन्छ। भजनसंग्रह १३३:१ ले भन्छ, ‘दाजुभाइहरू एकसाथ बस्नु कति राम्रो छ!’ यो उपदेशले हामीलाई आह्वान गर्छ: जीवनलाई परमेश्वर–केन्द्रित बनाऔं, जसले अनन्त अर्थ दिन्छ।
बाइबल अनुसार, मानिसको जीवनको उद्देश्य परमेश्वरलाई महिमा दिनु, उहाँलाई चिन्नु र प्रेम गर्नु, तथा अरूसँग सम्बन्धमा बाँच्नु हो। येशूको जन्मले यो उद्देश्यलाई पूर्णता दिन्छ। उहाँले पाप र मृत्युलाई पराजित गरेर अनन्त जीवन दिनुहुन्छ (रोमी ६:२३)। यो कुरा आशाको हो। जसरी एक नदी समुद्रमा मिल्छ, जीवन परमेश्वरमा पूर्ण हुन्छ।
प्रकाश २१:४ ले भन्छ, ‘उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब मृत्यु हुनेछैन।’ ख्रिष्टमसको सन्देश प्रेम, क्षमा र एकता हो, जसले हाम्रो जीवनलाई गहन बनाउँछ। यो लेख तपाईंको हृदयलाई स्पर्श गरोस्: जीवन व्यर्थ होइन, यो परमेश्वरको प्रेम काव्य हो।
आजको दिनमा, हामीले धेरै डरलाग्दा आवाजहरू सुन्छौं समस्या, चिन्ता, भविष्यको डर। तर येशूले भन्नुहुन्छ, ‘बाटो, सत्य र जीवन म नै हुँ’ (यूहन्ना १४:६)। चुनौती यो छ: ती बोझहरूलाई प्रभुको चरणमा राख्नुहोस्।
यदि तपाईंले येशूलाई अझै ग्रहण गर्नुभएको छैन भने, आजै मनमनै प्रार्थना गर्नुहोस्, ‘प्रभु येशू, मलाई थाहा छ मैले पाप गरेको छु। मलाई क्षमा गर्नुहोस्। म विश्वास गर्छु कि तपाईं मेरो निम्ति मर्नुभयो र फेरि जीवित हुनुभयो। आज म तपाईंलाई मेरो मुक्तिदाता र प्रभुको रूपमा ग्रहण गर्छु। आमेन।’
यो प्रार्थना साँच्चै मनले गर्नुहोस्, र तपाईं परमेश्वरको सन्तान बन्नुहुनेछ। बाइबल पढ्नुहोस्, प्रार्थना गर्नुहोस्, र ख्रीष्टको मण्डलीमा सामेल हुनुहोस्। यो चुनौतीले तपाईंको जीवनलाई परिवर्तन गरोस्। परमेश्वरसँगको सम्बन्धमा बाँच्नुहोस्, र उहाँको महिमा खोज्नुहोस्।
मेरी ख्रिष्टमस!
















