सोमबार, २८ पुष, २०८२

ठूली भैली : कर्णालीको सामूहिक चेतना, सांस्कृतिक पहिचान र लोकपरम्पराको जीवन्त धरोहर

ठूली भैली खेल्नका लागि सबैभन्दा पहिले टोल वा गाउँका युवाहरू भेला भई समूह गठन गर्छन्। यस समूहमा नेतृत्व गर्ने एक जना अगुवा, गीत सुरु गर्ने मुख्य गायक तथा ताल मिलाउने सहगायकहरू हुन्छन्। सामूहिक अनुशासन र मेलमिलाप यस खेलको आधार हो।

ठूली भैली नेपाली लोक संस्कृतिको एक जीवन्त, सामूहिक र अर्थपूर्ण परम्परा हो। विशेषतः भैलो अथवा भैली पुस औँसीको अवसरमा खेलिन्छ। यसलाई अर्को शब्दमा भैले औँसी पनि भनिन्छ।

औँसीको भोलिपल्टदेखि चार दिनसम्म लगातार रूपमा यो भैली खेलिन्छ। भैलीको सुरुवात गर्दा जहिले पनि गाउँको मुखिया तथा मान्यजनको घरमा भैली राखेर सामूहिक रूपमा महिला र पुरुषहरू मिलेर खेल्ने संस्कार रहेको छ। कर्णाली क्षेत्रका खसआर्य समुदायहरूले जुम्ला, मुगु आसपासका क्षेत्रमा बढी भैली खेल्ने चलन छ।

यो भैली गीत नाचको मनोरञ्जन मात्र होइन, समाजको एकता, श्रमको सम्मान र समृद्धिको कामनासँग गाँसिएको सांस्कृतिक कर्मकाण्ड हो। यो बिस्तारै लोप हुने प्रबल सम्भावना देखिँदैछ।

यसको महिमा घट्नु र तिहारको भैलोको महिमा बिस्तारै झाङ्गिँदै जानु भनेकै ठूली भैली (पुसे भैली) को मुख्य बाधक हो। ठूली भैलीले आर्थिक सहकारी, परोपकार र सामाजिक सद्भावलाई मजबुत बनाउँछ। भैलीबाट उठेको रकमले सामूहिक रूपमा भोज गरेर उनीहरूले मनोरञ्जन लिन्छन् भने अर्कोतर्फ अहिले समाज एकतासँगै आवश्यकताको पहिचानलाई मध्यनजर गर्दै जम्मा भएको पैसा सामाजिक विकासमा खर्च गर्ने चलन पनि बढ्दो छ।

ठूली भैलीले समाजको मौलिक परम्परा, लोकभाषा र स्थानीय इतिहासलाई जोगाइराख्दै संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गरी जीवन्त बनाइराख्ने विशेषता राख्दछ। यसको प्रमुख उद्देश्य भनेको संस्कृतिलाई लोप हुन नदिनु र यसलाई बचाइराख्नु नै हो।

भैलो खेल्नेहरू घरको ढोकामा पुगेर घरधनीलाई आदरपूर्वक बोलाई अनुमति लिएपछि शुभकामनासहित गीत आरम्भ गरिन्छ। सबै जना आँगनको गोल घेरामा उभिएर मुख्य गायकले भैलीका पंक्तिहरू भट्याउने गर्छन् भने बाँकी सदस्यहरूले कोरसमा दोहोर्‍याउँदै ताल मिलाउँछन्।

यस क्रममा देवी, देवताको स्मरण, घरधनीको प्रशंसा तथा धन, धान्य, स्वास्थ्य र समृद्धिको कामना गर्दै गाइन्छ। भैली खेलिसकेपछि घरधनीले गच्छेअनुसार नगद र अन्नपात दिएपछि त्यस घरको पितृ, कुल र वंश सम्झिँदै मुखै, मुखले आशीर्वाद दिइन्छ। अन्न, पशु र घर–गृहस्थीको रक्षा होस् भनेर कामना गरिन्छ। अशुभ भएको घरमा भैली खेल्न हुँदैन भन्ने जनविश्वास छ।

पुसे औँसीको भैली सामान्य तिहार भैलीभन्दा लामो, गम्भीर र कथात्मक हुन्छ। यसमा विशेष गरेर भैली कहाँबाट आयो, कहाँ बस्यो वा कुन ठाउँको भैलीले के–के काम गर्‍यो भन्ने सन्दर्भहरू अर्थसहित प्रस्तुत गरिन्छ। ठूली भैली प्रायः समूहमा गम्भीर लयमा यिनै शब्द प्रयोग गरी गाइन्छ।

भैलाे पुकार्ने

औंसीका बार
दरमुद बार
दरमे खोली
बाँसैकी झोली
बाँसैकी भित्ती
आरे न तारे
पीपलु ढाले
पीपल पाती
रायाेकी छाती
रायो जुमायो
बाँँखुरी खायो
ओ बाँखुरी
कसू सुहायो
भैलै सुहायो
भैलेरा आया
ऋतु जुनाया
ऋतु कि भारे
हाम्री खेल्ले चारे
चारे पैँचारे
चञ्चलले भारे
मधेसको कपडा
पर्वतको तामो
दुबजल जेडिया
पाथाजनभरिया
अहिलेको निम्तो
आइसलको पढ्छौ

एकातिर यस्तो तरिकाले गाउने गर्दछन् भने अर्कोतिर देवताको पुकार सँगसँगै भैलो कहाँबाट आयो भन्ने खालको अर्ति सहितको एक कथात्मक जस्तो बनाएर गाउने गरिन्छ।

पल्लीको भैलो
यो र भैली काँ र उब्ज्यो।
सर घर उब्ज्यो
सरघरका भैलाले
क्याउ क्याउ खान्की पायो
सुनै खायो, सुनै लायो
सुनै खानकी पायो
यो र भैलो कहाँ र उब्ज्यो
ताउला खार उब्ज्यो।
ताउला खारका भैलले
क्याउ क्याउ खान्की पायो
तामाई खाने, तामाई लाउने
तामै खानकी पायो
यो र भैलो कहाँ गयो
मुगु खोला आयो।
मुगु खोलका भैलले
क्याउ क्याउ खान्की पायो
नुनै खानकी पायो
यो र भैलो काँर आयो
दान्साँगुमा आयो
दान्साँघुका भैलाले
क्याउ क्याउ खान्की पायो
तीर्थबरु ल्यायो।
याे र भैलो काँर आयो
चन्दननाथ आयो
चन्दननाथका भैलाले
क्याउ क्याउ खान्की पायाे
सुनै छन् कि पायो
तामा खान्की पायो ।

यसरी भैली भट्याउन जान्नेहरूले थप्दै लयबद्ध तरिकाले गाउँछन्। कतैकतै टोल, गाउँ र छिमेकअनुसार फरक फरक भैली भट्याउने चलन पनि पाइन्छ।

ठूली भैली खेल्नका लागि सबैभन्दा पहिले टोल वा गाउँका युवाहरू भेला भई समूह गठन गर्छन्। यस समूहमा नेतृत्व गर्ने एक जना अगुवा, गीत सुरु गर्ने मुख्य गायक तथा ताल मिलाउने सहगायकहरू हुन्छन्। सामूहिक अनुशासन र मेलमिलाप यस खेलको आधार हो।

मुख्य गायकले भैलीका पंक्तिहरू गाउने गर्छन् भने बाँकी सदस्यहरूले कोरसमा दोहोर्‍याउँदै ताल मिलाउँछन्। अन्त्यमा संकलित सामग्री सामूहिक रूपमा बाँडफाँड गरिन्छ वा सामूहिक भोज तथा सामाजिक काममा प्रयोग गरिन्छ। यसरी ठूली भैलीले समाजमा एकता, सहयोग र सांस्कृतिक चेतनालाई मजबुत बनाउँछ।

ठूली भैली नेपाली लोकसंस्कृतिको अत्यन्तै पुरानो र विशिष्ट परम्परा हो, जसको सामाजिक महत्व अझ व्यापक छ। ठूली भैली खेल्दा जात, वर्ग, लिङ्ग र उमेरको भेद नमानी सामूहिक रूपमा सहभागी हुने परम्परा छ। तर बुढापाकाहरूले भने जातीय भेद राखेर दलित समुदायको घर आँगनमा भैली खेल्न नजाने गरेको देखिन्छ, जसले केही हदसम्म समुदायमा विभेद सिर्जना गरेको पाइन्छ।

विशेषतः ठूली भैली समाजमा आपसी सद्भाव, सहकार्य र सामाजिक एकता मजबुत बनाउन खेलिन्छ। गाउँ समुदायबीच मेलमिलाप बढाउने, पुराना रिसराग मेटाउने र नयाँ पुस्तालाई सांस्कृतिक अनुशासन सिकाउने माध्यमका रूपमा यसको भूमिका महत्वपूर्ण छ।

सांस्कृतिक दृष्टिले ठूली भैली लोकगीत, लोकभेषभूषा, नृत्यशैली र स्थानीय भाषाको संरक्षण गर्ने अमूल्य माध्यम हो। पुस्तौँदेखि मौखिक रूपमा सर्दै आएको ज्ञान, लय र संस्कार यसैमार्फत जीवित रहँदै आएका छन्।

यसरी ठूली भैली कर्णालीमा धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई जोगाइराख्ने एक महान् लोकपरम्परा हो, जसको संरक्षण र निरन्तरता आजको पुस्ताको साझा दायित्व हो। जुम्लीबीसीको छुट्टै किसिमको पहिचान र संस्कृति जगेर्नाको महत्वपूर्ण पाटो यही ठूली भैली हो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार