हाम्रो गाउँको ठकुरी, क्षेत्री, बाहुनसँग दलितको बिहेवारी अहिलेसम्म चलेको छैन। हाम्रो गाउँमा क्षेत्री बाहुनहरूको भोज हुँदा निम्तो गर्छन्, दलित र गैरदलितसँगै बसेर खाने गर्छन्। छुट्टै बस्नुपर्दैन, भान्सा फरक पनि छैन।
मलाई दलित समुदायकी हुँ भन्ने चाहिँ म पाँच, छ कक्षामा पढ्नेबेला देखि थाहा थियो। म दलित हुँ भन्ने कुरा थाहा थियो तर म दलित भएको महसुस अहिलेसम्म भएको छैन।
साथीहरू पनि प्रायः गैरदलित नै हुनुहुन्थ्यो। दलित साथीहरू कमै हुनुहुन्थ्यो। गैरदलितले साथीहरूले तँ यस्तो होस् उस्तो होस् भनेर कहिले पनि छुट्याउनु भएन। सँगै खाने, सँगै हिँड्ने, सँगै पढ्ने, यस्तै गर्दै ठूलो भइयो।
हाम्रो समुदायमा यस्तो भेदभाव गर्ने आठ नौ वर्ष पहिलासम्म थियो। अरू त्यस्तो भेदभाव देख्दिनँ। खाना खान चाहिँ गैरदलितले आफ्ना घरभित्र जान नदिने चाहिँ देखेको हो। तर त्यो अहिले सबै हटिसकेको छ, हाम्रो समुदायतिर।
हाम्रो समुदायमा ठकुरी, नेपाली, विक, दमाई, क्षेत्री, बाहुन सबै छन्। हाम्रो गाउँमा पुग्न सल्यान सदरमुकामबाट करिब २ घण्टा जति लाग्छ।
हाम्रो गाउँमा सबैले कुरा बुझ्नुहुन्छ, त्यस्तो भेदभाव गर्नुहुन्न। हामी दलित भएर यस्तो पीडित छौँ भन्ने कुरामा मलाई त्यस्तो केही पनि लाग्दैन। मलाई भेदभावको खासमा महसुस नै भएन।
हामी अहिले ठकुरीको घरमा गएर खान्छौँ। त्यस्तो केही पनि छैन। त्यहाँ सबै कुरा जानेको, हामीलाई उल्टै सिकाउने, बुझाउने गर्नुहुन्छ, गैरदलितहरूले।
अन्तरजातीय विवाह एकजना भाइको भएको छ। उनीहरुको प्रेम विवाह भएको हो। भाइले रुकुमबाट क्षेत्री थरकी केटीसँग अन्तरजातीय विवाह गरेको हो।
त्यो भाइले भगाएर ल्याएपछि केटी पक्षका माइतीहरू आएर केटी लिन आएका थिए। पछि लिएर गए, फेरि केटी भागेर आइन्। अहिले घरजम भइरहेका छ। सम्बन्ध राम्रै छ।
हाम्रो गाउँको ठकुरी, क्षेत्री, बाहुनसँग दलितको बिहेवारी अहिलेसम्म चलेको छैन। हाम्रो गाउँमा क्षेत्री बाहुनहरूको भोज हुँदा निम्तो गर्छन्, दलित र गैरदलितसँगै बसेर खाने गर्छन्। छुट्टै बस्नुपर्दैन, भान्सा फरक पनि छैन।
लोकसेवा पढ्न काठमाडौं जाँदा सुने ‘आफ्नो जात भन्नुहुन्न, भनेपछि कोठा पाइदैन।’ तर मलाई लाग्थ्यो कोठा नदिए पनि होस्टल बसेर पढौँला, तर आफ्नो जात लुकाएर कोठामा बस्दिनँ।
हामीले कोठा खोज्दै जाँदा नेवारको घरमा गयौँ। हामी दुई तीन जना साथी थियौँ। सबै दलित नै थियौँ। ‘कुन जातिको हो? के गर्नुहुन्छ?’ भनेर सोध्नुभयो। उक्त घरबेटीको तरकारी पसल भएको कारणले हामीले हाम्रो थर बताइसकेका थियौँ। तर घरबेटीले ‘हामी जातीय विभेद मान्दैनौँ, बरु इमानदारीपूर्वक बस्नुपर्छ’ भनेर सम्झाउनुहुन्थ्यो।
मैले काठमाडौं जाँदा पनि खासै भेदभाव भोगिनँ। साथीहरूले भोगिरहेको कुरा सुनाउँथे तर मेरो मनमा चाहिँ, ‘बरु होस्टल बसेर पढौँला, आफ्नो जात लुकाएर कोठा खोजेर बस्दिनँ’ भन्ने थियो। मैले आजसम्म जातीय विभेद भोगेकै छैन। हाम्रो परिवार र समुदायले नै त्यो कुरा भोगेन।
मैले आजसम्म त्यस्ता जातीय विभेद भएका घटनाहरू सम्झनामा छैनन्। मेरो अगाडि मेरो परिवार समाजसमेतले जातीय विभेद भोगेको मैले देखेको छैन। मलाई थाहा नभएको कुरा हो यो।
हाम्रो गाउँमा हाम्रो विक मात्र होइन, सार्की, दमाई समुदायलाई समेत त्यस्तो विभेद केही छैन। मेरो बुबा चाहिँ घर बनाउने काम गर्नुहुन्थ्यो। आमाले घरकै काम गर्ने गर्नुहुन्थ्यो र हाम्रो समाजका मान्छेले सिलाउने सीप, भाँडा बनाउने थरसँग जोडिएको पेशा भन्ने चाहिँ छ।
तर अहिले सिलाउने काम गैरदलितले समेत गरिरहेका छन्। हाम्रो ठूला बुबाले अहिलेसम्म भाँडाकुँडा बनाउने काम गर्नुहुन्छ। अनि दमाई समुदायले बाजा बजाउने काम समेत गरिराख्नु भएको छ।
मलाई कतै जातीय विभेद भएको देख्दा एकदमै दुःख लाग्छ। दलित भएर यति पीडित हुनुहुन्न जस्तो लाग्छ। यो विभेद जसरी पनि अन्त्य गर्नुपर्छ।
मैले नभोगे पनि मजस्तै दिदीबहिनी, अरू समाज समुदायले भोगिरहनु भएको छ। उहाँहरूले न्याय पाउनुपर्छ। अब आउने पुस्ताले यो खालको विभेद नदेखोस्, नभोगोस् भन्ने खालको समाज बनाउनुपर्छ।
विभेदका घटना देख्दा धेरै दुःख लाग्छ। रुकुमको नवराजको घटना देख्दा म धेरै रोएँ। त्यतिबेला त्यो घटना मलाई आफ्नै घरमा घटेको जस्तो लाग्यो।
खगेन्द्र सुनारले जातीय भेदभाव विरुद्ध खरो आवाज उठाउनु भएको छ जस्तै लाग्छ। उहाँलाई सबैले साथ दिनुपर्छ। मेरो श्रीमान् पनि जातीय भेदभावको विरुद्धमा लड्दै आइरहनु भएको छ।
पुष्पा वि.क. समता फाउन्डेसनको दलित मानव अधिकार रक्षक हुनुहुन्छ र उहाँ सल्यान जिल्लामा दलित अधिकारको पैरवी गर्दै समतामूलक समाज निर्माण गर्ने गतिविधिमा सक्रिय हुनुहुन्छ।















