कर्णालीमा बाल किशोर मानसिक स्वास्थ्य निकै संवेदनशील विषय बनेको छ।
जुम्लाका गुठिचौर गाउँपालिका -१ को खडकदेवी माध्यमिक विद्यालयका कक्षा ६ र ७ का विद्यार्थीहरू एक्कासी काँप्ने, रुन थाल्ने, पतुर्ने, अनुक्रियाहीन हुने, शरीर झनझनाहट हुने, दाँत किच्ने, दौडधुप गर्ने जस्ता व्यवहार देखिन सुरु भएपछि स्थानीय तहदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकध विशेषज्ञ टोली त्यहीँ पुगेर उपचार सुरु गरेको छ।
विद्यालयको अनुरोधमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक प्राध्यापक ओम प्रकाश काफ्लेको नेतृत्वमा मनोचिकित्सक डा. आलोक कुमार साह सहितको मनोसामाजिक तथा मनोचिकित्सकीय टोली विद्यालय पुगेको थियो।
१० जना प्रभावित विद्यार्थीको स्वास्थ्य परीक्षण तथा मनोवैज्ञानिक मूल्यांकनपछि गम्भीर तनावसँग जोडिएका लक्षणहरू पहिचान भएको प्रतिष्ठानका उपकुलपति डा.पुजन कुमार रोकायाले बताए।

उनका अनुसार विद्यार्थीहरूमा देखिएका लक्षणहरू समूहमा फैलिने ‘समूहगत मानसिक असर’ का संकेत हुन्। हरेक विद्यार्थीमा ‘भावनात्मक तनावका कारण देखिने स्नायु–सम्बन्धी समस्या’ पाइएको हो।
मूल्यांकनका क्रममा विद्यार्थीहरू विद्यालयमै विगतमा एक मृत बालिका राखिएको घटनाबाट अझै प्रभावित रहेको पाइएको डा. साहको भनाइ छ।
उनले भने ‘गाउँमा पहिरो जाँदा एक बालिकाको मृत्यु भएको र उनको शव एक दिन विद्यालयमै राखिएको थियो। सो घटनाले बालबालिकामा गहिरो मानसिक आघात बनाएको देखियो।’

मनोविद नन्दराज आचार्यका अनुसार विगतको डर अहिले फेरि सक्रिय जस्तो देखिन्छ। बालबालिकाले तनावलाई शारीरिक र व्यवहारगत रूपमा व्यक्त गरिरहेका छन्।
लगातार १४, १५ दिनदेखि समस्या देखिँदै आएको थियो। यतिबेला एक विद्यार्थीले आत्महत्या गरेको घटनाले विद्यालय झनै संवेदनशील बनेको गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए।
उनले थपे, ‘हामी सबै अत्यन्त मर्माहित छौँ। प्रभावित विद्यार्थीको उपचार र दीर्घकालीन सहयोगका लागि गाउँपालिका पूर्ण रूपमा प्रतिबद्ध छ।’

टोलीमा सहभागी जस्वास्थ्यका विद्यार्थी जमिन शाहीका अनुसार, प्रभावित विद्यार्थीलाई तत्काल मनोसामाजिक परामर्श, शिक्षक, अभिभावक तथा विद्यार्थीलाई मानसिक स्वास्थ्यबारे जानकारी दिइएको छ।
उनका अनुसार कतिपय विद्यार्थीलाई औषधोपचार पनि सुरु गरिएको छ। साथै, नियमित रूपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मनोचिकित्सा सेवा लिन सिफारिस गरिएको छ।
प्रतिष्ठानका उपकुलपति डा. रोकायाले कर्णालीमा बाल किशोर मानसिक स्वास्थ्य निकै संवेदनशील विषय रहेको बताए। उनले भने, ‘विद्यालयसम्म विशेषज्ञ टोली पुग्नु ठूलो उपलब्धि हो।’

त्यस्तै, कार्यवाहक निर्देशक डा. कमल थानीले यो घटनाले समुदायस्तरमा मानसिक स्वास्थ्यमाथि बढी ध्यान दिन आवश्यक छ भनेर देखाएको धारणा राखे।
यस्तो समस्या विद्यालय मात्र होइन, परिवार र समुदायसँग जोडिने प्राध्यापक सेषानन्द सञ्ज्यालको भनाइ छ। उनका अनुसार दीर्घकालीन रूपमा मनोवैज्ञानिक सहयोगको आवश्यकता देखिन्छ।
प्रतिष्ठानका सहायक प्राध्यापक ओम प्रकाश काफ्लेले विद्यालयहरूलाई बालबालिकामा देखिने व्यवहारगत परिवर्तन तुरुन्त पहिचान गर्न र सुरक्षित वातावरण बनाउन जरुरी रहेको तर्क राखे।
















