दैलेखको आठबीस नगरपालिका–६ मा वृद्धवृद्धा, अशक्त तथा अपाङ्ग व्यक्तिहरूलाई लक्षित गर्दै घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ।
वडा अध्यक्ष एवम् कार्यवाहक नगरप्रमुख नवराज शर्माले शिहासैन, खडकागडेन र राताचौला लगायतका गाउँमा पुगेर मोबाइलमार्फत डाटा संकलन गरी १८० भन्दा बढी लाभग्राहीको नवीकरण गरिएको जानकारी दिए। उनका अनुसार अपाङ्ग र अशक्त व्यक्तिहरूलाई वडा कार्यालयसम्म आउन कठिन भएकाले कर्मचारीको सहयोगमा गाउँमै पुगेर नवीकरण गर्ने पहल गरिएको हो।

८६ वर्षीया गङ्गा पुरीले आफ्नै घर नजिकै सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न पाउँदा सहज भएको अनुभव सुनाउँदै पालिकासम्म जानुपर्ने झन्झट हटेको भन्दै खुसी प्रकट गरिन्।
अध्यक्ष शर्माले भत्ता बुझ्नका लागि पालिका केन्द्रसम्म आउनुपर्ने बाध्यता वृद्धवृद्धा र अशक्त नागरिकका लागि ठूलो समस्या भएको बताउँदै, वडास्तरबाटै वितरण गर्न थालिएकोमा जनताको बोझ कम भएको स्पष्ट पारे। उनले भने, “भत्ता बुझ्न सवारी साधन रिजर्भ गर्दा बढी खर्च हुने, कतिपयले त पैदलै आउनुपर्ने र एकैदिनमा फर्किन नसक्ने अवस्था हुन्थ्यो। वडामै पुगेर भत्ता वितरण गर्दा जनतालाई स्थानीय सरकार छ भन्ने अनुभूति हुन्छ।”

नगर प्रमुख तर्कबहादुर बडुवाल र उपप्रमुख कल्पना थापा चन्दले पनि कार्यपालिकाको निर्णयअनुसार बैंक तथा सुरक्षा निकायसँग समन्वय गरी वडास्तरमै भत्ता वितरण गर्ने योजना अघि सारिएको बताए। उनका अनुसार इन्टरनेटको सहज पहुँच भए आगामी दिनमा टोलटोलमै गएर वितरण गर्ने तयारी समेत भइरहेको छ।

नगरपालिकाको पञ्जीकरण शाखाका कर्मचारी जनक भण्डारी, प्रशासन शाखाका कर्मचारी राजेन्द्र जैसी र वडा अध्यक्ष शर्माको सक्रियतामा हालसम्म रोल टोलमा ७५ र खडकागडेन टोलमा ८६ गरी जम्मा १६१ जनाको नवीकरण भएको जानकारी दिइएको छ।
यो पहल दैलेख जिल्लामा पहिलो पटक भएको जनाउँदै वडा अध्यक्ष शर्माले कर्मचारी र स्थानीय सरकारको सहकार्यबिना यस्तो काम सम्भव नहुने बताए।
















