कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचारका क्रममा हिमा गाउँपालिका–३ का डिकेशनाथ योगीको मृत्यु भएपछि शनिवार विहानैदेखि आक्रोशित भएका आफन्तहरु आन्दोलित भएका थिए।
डाक्टरको लापरवाहीका कारण योगीको मृत्यु भएको भन्दै उनीहरूले प्रतिष्ठान परिसरमा विरोध प्रदर्शन समेत गरेका थिए।
जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको संयोजकत्वमा पिडित परिवारलाई राहत तथा क्षतिपूर्ति दिलाउन पहल गर्ने समिति गठन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए।
उनका अनुसार समितिको सदस्यमा बद्रीनाथ योगी, डा. विनम्र विष्ट, पूर्णप्रसाद चौलागाईं, रतननाथ योगी र विष्णुबहादुर महत रहेका छन् भने प्रशासनिक अधिकृत मीनबहादुर रावल सदस्य–सचिव रहनेछन्।
बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति जुम्ला आएपछि क्षतिपूर्ति सम्बन्धी अन्तिम छलफल गरी तीन दिनभित्र राहत उपलब्ध गराउने सहमति गरेको छ।
पीडितले क्षतिपूर्ति पाउनुअघि शव नउठाउने अडान दोहोर्याएका छन्।