“चन्दननाथ नगरपालिकाका जनतालाई प्रभाव पार्ने यस्ता अनियमितताप्रति सम्बन्धित निकाय गम्भीर नहुनु दुःखद भएको” नगरकमिटी अध्यक्ष सुरेन्द्र महत बताए।
चन्दननाथ नगरपालिकामा पछिल्लो समय विकास निर्माण योजनामा देखिएको अव्यवस्था, ढिलासुस्ती र गम्भीर आर्थिक अनियमितताप्रति नेकपा (माओवादी केन्द्र) चन्दननाथ नगरपार्टीले गम्भीर आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालय, जुम्लामा ध्यानाकर्षण पत्र बुझाएको छ।
उक्त पत्रमा नगरपालिकाभित्र सञ्चालनमा आएका अधिकांश विकास योजनाहरू समयमै सम्पन्न नहुँदा जनतामा निराशा बढेको, कार्यसम्पादन गुणस्तरीय नहुनुका साथै योजना व्यवस्थापन अव्यवस्थित हुँदै गएको र ठेक्का तथा भुक्तानी प्रक्रियामा अत्यन्त गम्भीर आर्थिक अनियमितता भएको उल्लेख गरिएको छ।
माओवादी केन्द्रले नगरपालिकाभित्र केही योजनाहरू दोहोर्याएर ढलान गरिएको, कतिपय योजनामा काम नहुनुका बाबजुद पनि रकम भुक्तानी गरिएको, र कतिपय योजनामा लागत अनुमान भन्दा बढी परिमाण देखाएर फर्जी बिलमार्फत रकम निकालिएको आरोप लगाएको छ। त्यस्तै, बिना जग्गा पास र प्रतिष्ठान दर्ता नगरिकन भवन निर्माण अघि बढाइएको र उपभोक्ता समितिको आडमा ठूला आर्थिक लेनदेन गरिएकोप्रति पनि पार्टीले आपत्ति जनाएको छ।
प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाइएको ध्यानाकर्षण पत्रमा कृत्रिम रूपमा निर्माण व्यवसायी बनाइ ठेक्का दिलाई बैंक खाता रोक्का र फुकुवा गर्ने प्रक्रियामार्फत करोडौं रुपैयाँ भुक्तानी गरिएको, करिडोर निर्माणमा मिलेमतो गरेर अनावश्यक परिमाण देखाई लाखौं रकम अपचलन गरिएको, र निर्माण सम्पन्न नहँदै पाइपलाइनको रूपमा रकम छुट्याई भुक्तानी गरिएको जस्ता कार्यको तत्काल छानबिन गर्न माग गरिएको छ।
पार्टीले यस्ता अनियमितता सुशासन र पारदर्शिता विरुद्धको कार्य भन्दै तीब्र असन्तोष प्रकट गर्दै दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।
“चन्दननाथ नगरपालिकाका जनतालाई प्रभाव पार्ने यस्ता अनियमितताप्रति सम्बन्धित निकाय गम्भीर नहुनु दुःखद भएको” नगरकमिटी अध्यक्ष सुरेन्द्र महत बताए।
पार्टीले ध्यानाकर्षण पत्रमार्फत यथाशीघ्र छानबिन गरी सबै तथ्य सार्वजनिक गर्न र दोषीमाथि आवश्यक कानुनी प्रक्रिया थाल्न जिल्ला प्रशासन कार्यालयमार्फत माग अघि सारेको हो। सोही अनुरुप नभए पार्टीले थप कारबाही गर्ने समेत जनाएको छ ।


















