जुम्लाको तातोपानी गाउँपालिका -८, राक्सेस्थित पाटनमा २०८२ असार १६ गते दिउँसो १५:०० बजे भारी वर्षातका कारण आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ।
उक्त घटनामा स्थानीय सर्पराज रावतसहित ९ जनाका करिब एक हजार भेडा र १३ घोडामध्ये ९१० सकुशल रहेको, १३ वटा भेडा र १ घोडा मृत्यु भएको पाइएको छ।
त्यस्तै ७७ भेडा र १२ घोडा बेपत्ता भएको तातोपानी -७ का वडा अध्यक्ष तिलक बहादुर रावतले बताए।
घटनास्थल अस्थायी प्रहरी पोष्ट ताम्तिबाट ५-६ घण्टा पैदल दूरीमा पश्चिम र जिल्ला प्रहरी कार्यालयबाट ७५ किलोमिटर पूर्वमा पर्छ।
थप अनुसन्धानका लागि २०८२ असार १७ गते बिहान ०६:३५ बजे प्रहरी सहायक हवल्दार गणेश बहादुर बलायरको नेतृत्वमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
टोलीले दिउँसो १३:४५ बजे पुगेर गरेको अनुसन्धान अनुसार तातोपानी-७ का सर्पराज रावतका २५० भेडामध्ये १८ बेपत्ता र १ मृत, हरीदत्त रावतका २५० भेडामध्ये १० बेपत्ता, लालसिंह रावतका १०० भेडामध्ये ९ बेपत्ता र १ मृत, टेक बहादुर रावतका २०० भेडामध्ये १६ बेपत्ता र १३ घोडामध्ये १२ बेपत्ता तथा १ मृत, अमर रावतका १०० भेडामध्ये १२ बेपत्ता र ११ मृत र लाल बहादुर रावतका १०० भेडामध्ये १२ बेपत्ता भएको पाइएको छ।
बेपत्ता भेडा र घोडाको खोजी कार्य जारी छ। यो घटनाले स्थानीय पशुपालकहरूलाई ठूलो आर्थिक नोक्सानी भएको छ।