स्थानीयले आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन जिम्मेवार र कार्यक्षम कर्मचारी नियुक्त गर्न नगरपालिकासँग आग्रह गरेका छन्। साथै, शहिद र घाइते परिवारको सम्मानका लागि भत्ता वितरण प्रक्रियालाई सहज र पारदर्शी बनाउन जोड दिएका छन्।
चन्दननाथ नगरपालिकाले शहिद स्मृति भत्ता र घाइते अपाङ्ग जीवन निर्वाह भत्ता वितरणमा ढिलासुस्ती गरेको भन्दै स्थानीय शहिद तथा घाइते परिवारले असन्तुष्टि व्यक्त गरेका छन्।
जनयुद्ध, जनआन्दोलन र प्रदेश स्थापना आन्दोलनका शहिद र घाइतेका परिवारले भत्ता प्राप्त गर्नुपर्नेमा नगरपालिकाको गैरजिम्मेवारीका कारण आर्थिक वर्ष २०७९/८० मा समेत आधा रकम मात्र प्राप्त गरेको गुनासो गरेका छन्।
आर्थिक वर्ष २०८१/८२ मा चन्दननाथ नगरपालिकाले मिति २०८१/१०/०८ मा भत्ता वितरणका लागि सूचना प्रकाशित गरेको थियो। उक्त सूचनाको आधारमा ४७ जना शहिद र घाइते परिवारले निवेदन दिएका थिए।
तर, नगरपालिकाका केही कर्मचारीको गैरजिम्मेवारीका कारण निवेदनको कुनै सुनुवाइ नभएको र भत्ता वितरण नहुने अवस्था सिर्जना भएको स्थानीयको आरोप छ।
चन्दननाथ नगरपालिका–१० का जनयुद्धका घाइते साहसी राजकुमार शाहीले भने, “कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत भत्ता व्यवस्था गरिनुपर्छ। यदि प्रदेश सरकारबाट सम्भव नभए चन्दननाथ नगरपालिकाले नै यो व्यवस्था गर्नुपर्छ।”
उनले भत्ता वितरणमा ढिलासुस्ती गर्ने कर्मचारीमाथि कारबाहीको मागसमेत गरे।
स्थानीयले आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन जिम्मेवार र कार्यक्षम कर्मचारी नियुक्त गर्न नगरपालिकासँग आग्रह गरेका छन्। साथै, शहिद र घाइते परिवारको सम्मानका लागि भत्ता वितरण प्रक्रियालाई सहज र पारदर्शी बनाउन जोड दिएका छन्।
यस विषयमा चन्दननाथ नगरपालिकासँग प्रतिक्रिया लिन खोज्दा सम्बन्धित अधिकारीहरू सम्पर्कमा आएनन्। शहिद र घाइते परिवारको मागलाई सम्बोधन गर्न स्थानीय र प्रदेश सरकारले तत्काल कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।