शहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य परियोजनाअन्तर्गत विपद् बहस कार्यक्रम जुम्ला सदरमुकामस्थित कर्णाली मावि, अनामनगरमा सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाकी अधिकृत ईश्वरा सुवेदीले रेडक्रसले विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा गरिरहेको कार्यहरुको प्रस्तुति दिइन्।
उनले भनिन्, “वडास्तरमा विविध ज्ञान, सीप तथा तालिम प्रदान गरिएको छ। जलवायु परिवर्तनसम्बन्धी अभिमुखिकरण, सामाजिक सुरक्षा योजना, विपन्न तथा महिला समुदाय लक्षित कार्यक्रम तथा सञ्चार माध्यममार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। सदरमुकामको घामडाँडामा मौसम पूर्वानुमान सूचना दिनका लागि पूर्वतयारी समेत गरिएको छ।”
कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले नगरभित्रको विपद् न्यूनीकरणका लागि नगरपालिका अन्तर्गतको विपद् शाखाले सक्रियताका साथ कार्य गरिरहेको जानकारी दिए। नेपाल विद्युत प्राधिकरण जुम्लाका सुपरभाइजर हरिचन्द्र थापाले पनि विद्युत सम्बन्धी आपतकालीन तयारी र व्यवस्थापनबारे बोले।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा र जगदीश चौलागाईं पनि कार्यक्रमका वक्ताको रूपमा सहभागी थिए।
कार्यक्रममा कर्णाली माविका विद्यार्थीहरूले वक्ताहरुलाई विविध प्रश्न गर्दै विपद् व्यवस्थापनबारे चासो राखेका थिए। उपस्थित सहभागिहरूले यस्तो खालको कार्यक्रमले समुदाय र विद्यार्थीहरूमा विपद् सन्दर्भमा चेतना बढाउने विश्वास व्यक्त गरेका थिए।