नेपाल रेडियोलोजिकल सोसाइटी कर्णाली प्रदेशले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MoHP) मार्फत कार्यान्वयन गर्न लागिएको ONM (ओपन न्यूरोमोडुलेसन) प्रस्तावप्रति गम्भीर आपत्ति र गहिरो चिन्ता व्यक्त गरेको छ। सोसाइटीले उक्त प्रस्तावले रेडियोग्राफी पेशाको व्यावसायिक गरिमा, संरचनागत पहिचान र भविष्यको दिशामा नकारात्मक प्रभाव पार्ने बताएको छ।
सोसाइटीले ONM प्रस्तावलाई असमान, अपारदर्शी र अन्यायपूर्ण भएको ठहर गर्दै यसप्रति विरोध जनाएको छ। रेडियोग्राफी पेशाकर्मीहरूको अधिकार, सम्मान र पेशागत पहिचानलाई कुनै पनि हालतमा सम्झौता गर्न नहुने कुरामा जोड दिँदै सोसाइटीले सरकार र सम्बन्धित निकायहरूलाई यस विषयमा पुनः विचार गर्न आग्रह गरेको छ।
विरोध कार्यक्रम अन्तर्गत, मिति २०८२/०३/०५ देखि २०८२/०३/०७ सम्म सम्पूर्ण रेडियोग्राफी पेशाकर्मीहरूले कालोपट्टी बाँधेर आफ्नै कार्यकक्षमा शान्तिपूर्ण विरोध जनाउने निर्णय गरिएको छ। तर, यस अवधिमा सेवा प्रवाह निरन्तर र अविच्छिन्न रूपमा जारी रहनेछ नेपाल रेडियोलोजिकल सोसाइटी कर्णाली प्रदेशका संयोजक मकर बहादुर हमालले बताए।
उनले भने, “यो शान्तिपूर्ण विरोध कार्यक्रममार्फत हामी संघीय सरकार, स्वास्थ्य मन्त्रालय तथा सम्बन्धित सरोकारवाला निकायहरूलाई स्पष्ट सन्देश दिन चाहन्छौं कि रेडियोग्राफी पेशाको अस्तित्व, वैज्ञानिक पहिचान र व्यावसायिक सम्मानसँग कुनै सम्झौता कदापि स्वीकार्य छैन।”
सोसाइटीले सबै रेडियोग्राफी पेशाकर्मी, सरोकारवालाहरू र आम जनतालाई आत्मसम्मान, वैज्ञानिक हैसियत र भावी पुस्ताको अधिकार सुरक्षित गर्न एकजुट हुन आह्वान गरेको छ।