मंगलवार, ३ असार, २०८२

अछामको चियान डाँडा टावर पूर्ण सञ्चालनमा, विकट बस्तीमा सञ्चार पहुँच विस्तार

यो टावरले अछामको तामकोट, भाटगाउँ, ओखलगैरा, भानाकोट, भुइँचाला, कालेकाँडा, चिलतडा, मोटेला, राकु, राउतेरह, ओदलतडा र दैलेखको पिपलकोट, दैखोला, नौलाबन, छाम, मालाचौर, खिडकिज्युला, राताखड्केगडेन जस्ता दुर्गम बस्तीमा सञ्चार सेवा प्रदान गर्नेछ।

अछामको पञ्चदेवल विनायक नगरपालिका-९, भाटगाउँस्थित चियान डाँडामा रहेको नेपाल टेलिकमको टावर नम्बर ५२८ झन्डै ६ वर्षपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ। २०७७ सालमा निर्माण भएको यो टावर सञ्चालनमा आएको दुई महिना नबित्दै प्राविधिक समस्याका कारण बिग्रिएको थियो।

गत वैशाख २५ गते स्थानीयले दिएको निवेदनको पाँच दिनपछि वैशाख २९ गते प्राविधिक टोलीले टावरमा नयाँ डिभाइस जडान गरेको थियो। तर, जडान भएको ३६ घण्टा नबित्दै जेठ १ गते डिभाइसमा जोडिएको मेसिन जलेर नष्ट भएको थियो। चार्जर कन्ट्रोलरमा समस्या आएपछि ब्याट्री पड्किएर आगलागी भएको प्राविधिक टोलीले जनाएको छ।

जेठ २ गते नेकपा एमालेका नगर उपसचिव भरत साउदले पुनः निवेदन दिएपछि नेपाल टेलिकमले तत्कालै आवश्यक सामग्री पठाएर मर्मत कार्य अघि बढायो। जेठ ७ गते दिउँसो ३ बजेदेखि टावर पूर्ण रूपमा सञ्चालनमा आएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, अत्तरिया, कैलालीका वरिष्ठ इन्जिनियर लक्ष्मण चन्दले जानकारी दिए।

यो टावरले अछामको तामकोट, भाटगाउँ, ओखलगैरा, भानाकोट, भुइँचाला, कालेकाँडा, चिलतडा, मोटेला, राकु, राउतेरह, ओदलतडा र दैलेखको पिपलकोट, दैखोला, नौलाबन, छाम, मालाचौर, खिडकिज्युला, राताखड्केगडेन जस्ता दुर्गम बस्तीमा सञ्चार सेवा प्रदान गर्नेछ।

इन्जिनियर चन्दका अनुसार, हाल टावरमा ९५० भन्दा बढी डिभाइस जोडिएका छन्, जुन एक टावरको क्षमता (३५० डिभाइस) भन्दा धेरै हो। यसले गर्दा सञ्चार गुणस्तरमा समस्या आएको छ। यसलाई समाधान गर्न र सञ्चार सेवालाई थप प्रभावकारी बनाउन दैलेखको पिपलकोटमा अर्को टावर निर्माण गर्ने योजना रहेको छ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, सुर्खेतसँग यसबारे छलफल भइरहेको र २०८२ भित्रै टावर निर्माण हुने अपेक्षा गरिएको छ।

ग्रामीण क्षेत्रमा इन्टरनेट र फोनको पहुँच विस्तारका लागि थप टावर आवश्यक रहेको स्थानीयको भनाइ छ। टावरको पूर्ण सञ्चालनले दुर्गम बस्तीका बासिन्दालाई सञ्चार सेवामा सहजता हुने विश्वास गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार