मन्त्री यादवले कर्णालीप्रति आफ्नो गहिरो माया र जिम्मेवारीको भावना व्यक्त गरे। उनले थपे, “घर मधेसमा भए पनि कर्णाली मेरो मनमा छ। यहाँको विकासका लागि मेरो पूर्ण सहयोग रहनेछ।”
संघीय खानेपानी मन्त्री प्रदीप यादवले जुम्लाबासीका समस्याको दीर्घकालीन समाधानका लागि संघीय सरकारको पूर्ण प्रतिबद्धता रहेको उद्घोष गरेका छन्। हिमा, सिंजा, र कनकासुन्दरी गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेको बृहत् वास सम्मेलन तथा देवारगाउँ तल्लो बस्ती पूर्ण सरसफाई उन्मुख घोषणा समारोहमा बोल्दै मन्त्री यादवले जुम्लालाई विकासको उज्यालो गन्तव्य बनाउने संकल्प व्यक्त गरे।
“यो मेरो पहिलो जुम्ला भ्रमण हो। भौगोलिक रूपमा दुर्गम भए पनि यहाँको सांस्कृतिक धन र ऐतिहासिक योगदान अतुलनीय छ,” मन्त्री यादवले भने, “नेपाली भाषाको उद्गमस्थल, हिमाली सुगन्धले भरिएको जुम्ली स्याउ, र यहाँका मेहनती नागरिकको जोशले मलाई छोएको छ। जुम्लालाई विकासमा पछाडि पार्ने छैनौं।”
मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्री यादवले कर्णालीप्रति आफ्नो गहिरो माया र जिम्मेवारीको भावना व्यक्त गरे। उनले थपे, “मेरो घर मधेसमा भए पनि कर्णाली मेरो मनमा छ। यहाँको विकासका लागि मेरो पूर्ण सहयोग रहनेछ।”
जुम्लाको धौलीगाढ खानेपानी आयोजना, जसको लागत १ अर्ब २५ करोड रुपैयाँ छ, आगामी एक वर्षभित्र सम्पन्न हुने मन्त्री यादवले बताए। “जग्गा समस्याले केही ढिलाइ भएको हो, तर बजेटको कमी हुनेछैन। खानेपानी मन्त्रालयले पर्याप्त बजेट विनियोजन गरेको छ। एक वर्षमा यो आयोजना पूरा हुनेछ,” उनले ढुक्क पार्दै भने।
जुम्लामा सञ्चालित अन्य खानेपानीका डीपीआर परियोजनाहरू पनि तीव्र गतिमा अगाडि बढिरहेको उनले जानकारी दिए। यी परियोजनाले जुम्लाबासीको शुद्ध र सुरक्षित खानेपानीको आवश्यकता दीर्घकालीन रूपमा पूरा गर्ने अपेक्षा गरिएको छ।
सडकको समस्या समाधानका लागि पनि मन्त्री यादवले ठोस पहल गर्ने बाचा गरे। “सडक कालोपत्रेका लागि म सम्माननीय प्रधानमन्त्रीज्यूसँग छलफल गर्नेछु। जुम्लावासीको सडक समस्या समाधान मेरो प्राथमिकतामा छ,” उनले भने।
जुम्लाको अर्गानिक र पौष्टिक जुम्ली स्याउलाई विश्व बजारमा पुर्याउने मन्त्री यादवको दृष्टिकोणले स्थानीयबासीमा उत्साह थपेको छ। “हिमाली माटोको सुगन्ध बोकेको जुम्ली स्याउ अब स्वदेशमा मात्र सीमित हुनुहुँदैन। यो विश्व बजारमा निर्यात गर्नुपर्छ। जुम्लाको स्याउले देश–विदेशमा आफ्नो पहिचान बनाउनुपर्छ,” उनले भने।
कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले संघीय र स्थानीय सरकारबीचको गहिरो सहकारको महत्त्व जोड दिए। “जुम्ला स्रोत–साधनले समृद्ध छ, तर विकासमा पछाडि परेको छ। संघ र प्रदेश सरकारसँगको सहकार्यमा हामी जुम्लाको उज्ज्वल भविष्य निर्माण गर्नेछौं,” उनले भने।
कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्य र सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले पनि जुम्लाको विकासका लागि एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा खानेपानी मन्त्रालयकी सचिव ईञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठ, र प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहको उपस्थितिले समारोहको गरिमा बढाएको थियो।