शुक्रबार, ५ बैशाख, २०८२

आगलागी पीडित न्यौपानेलाई नेपाल निजामती कर्मचारी युनियनद्वारा ७५ हजार नगद राहत

राहत रकम युनियनका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर खड्काले एक कार्यक्रमका बीच पीडितको हातमा हस्तान्तरण गरे।

जुम्लाको चन्दननाथ नगरपालिका–०४ मालाभिडमा गत बिहीवार साँझ भएको भीषण आगलागी पीडित शिवलक्ष्मी न्यौपानेलाई नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति जुम्लाले राहतस्वरूप रु ७५ हजार नगद सहयोग प्रदान गरेको छ।

बिजुलीको सर्किट सर्ट भएका कारण आगलागी भएर पुरै घर जलेर नष्ट भएको थियो। जसबाट न्यौपाने परिवार घरवारविहीन बनेका छन्। युनियनले पीडितको पीडा कम गर्न तत्काल सहयोग हात बढाएको हो।

राहत रकम युनियनका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर खड्काले एक कार्यक्रमका बीच पीडितको हातमा हस्तान्तरण गरे।

कार्यक्रममा जिल्ला कार्य समिति जुम्लाका अध्यक्ष मिमराज खत्री, अन्य पदाधिकारीहरू र स्थानीय समुदायको उपस्थिति थियो।

अध्यक्ष खत्रीले पीडितप्रति सहानुभूति व्यक्त गर्दै यो सहयोगले तत्कालीन आवश्यकतालाई केही हदसम्म राहत दिने विश्वास व्यक्त गरे।

उनले भने, “यो रकमले सिंगो घर त बन्न सक्दैन, तर संकटको समयमा यो पीडितका लागि महत्वपूर्ण सहारा बन्नेछ।”

खड्काले युनियनले सामाजिक उत्तरदायित्वलाई विशेष प्राथमिकता दिँदै संकटमा नागरिकलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

“हामी कर्मचारीको हकहितका लागि मात्र होइन, समुदायमा संकट पर्दा साथ दिने संस्था पनि हौं,” उनले थपे।

पीडित न्यौपानेले युनियनप्रति धन्यवाद दिँदै सहयोगले आफ्नो घाउमा मलम लगाएको महसुस भएको बताइन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार