शुक्रबार, ५ बैशाख, २०८२

दिल्लीमा ज्वलन्त स्मृति क्लबको उप-समिति गठन

बित्थडचिरमा यसले खेलाडी उत्पादन, जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन, वृद्धवृद्धा, बुद्धिजीवी र महिलालाई सम्मान, टुहुरा बालबालिकालाई सहयोगलगायतका सामाजिक कार्य गर्दै समाजमा उदाहरणीय भूमिका निर्वाह गरेको छ।

सुदूरपश्चिम प्रदेश, बझाङ जिल्लाको बित्थडचिर गाउँपालिकामा विगत दुई वर्षदेखि सामाजिक कार्यमा सक्रिय ज्वलन्त स्मृति क्लबले भारतको नयाँ दिल्लीमा आफ्नो उप-समिति गठन गरेको छ।

बित्थडचिर गाउँपालिकामा स्थायी बसोबास गर्ने र हाल रोजगारीको सिलसिलामा नयाँ दिल्लीमा रहेका बुद्धिजीवी, राजनीतिज्ञ, युवा र समाजसेवीहरूको सरसल्लाहमा यो उप-समिति स्थापना गरिएको हो।

उक्त समिति बित्थडचिर गाउँपालिका वडा नं. ७ का दसवर्षे जनयुद्धमा सहिद हुनुभएका स्व. धर्म बि.क. (पर्चलित नाम: ज्वलन्त) को स्मृतिमा गठन गरिएको छ। क्लबले गणतन्त्र, महिला, दलित, जनजाति, पिछडिएको वर्ग र परिवर्तनका लागि कार्य गर्ने उद्देश्य राखेको छ।

बित्थडचिरमा यसले खेलाडी उत्पादन, जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन, वृद्धवृद्धा, बुद्धिजीवी र महिलालाई सम्मान, टुहुरा बालबालिकालाई सहयोगलगायतका सामाजिक कार्य गर्दै समाजमा उदाहरणीय भूमिका निर्वाह गरेको छ।

अङ्ग्रेजी मिति २०२५ मार्च २३ (चैत १०, २०८१) का दिन नयाँ दिल्लीको कनाट प्लेसस्थित सेन्ट्रल पार्कमा आयोजित बैठकमा ३० जनाको उपस्थितिमा उप-समिति गठन गरिएको हो। समाजसेवी गोविन्द बि.क.को अध्यक्षतामा बसेको उक्त बैठकले बित्थडचिर गाउँपालिकाका वडा नं. १ देखि ९ सम्मका प्रतिनिधित्व हुने गरी सर्वसम्मत रूपमा संचालन समिति र सल्लाहकार समिति चयन गरेको छ।

संचालन समितिमा अध्यक्ष रमेश पहरी, उपाध्यक्ष दीपक बि.क., वरिष्ठ उपाध्यक्ष शङ्कर बि.क., सचिव प्रकाश बि.क., सहसचिव सुशील ओखेडा, कोषाध्यक्ष पूजा ओखेडा र सदस्यहरू वकिल ओखेडा, दीपक ओखेडा तथा सागर बि.क. रहनुभएको छ। त्यस्तै, सल्लाहकार समितिमा प्रमुख सल्लाहकार गोविन्द बि.क., वरिष्ठ सल्लाहकार धनसिंह खडायत र सल्लाहकारहरू जैदन बि.क., राहुल बि.क., अर्जुन बि.क., नरेश ओखेडा र शेरसिंह बि.क. चयन हुनुभएको छ।

बैठकमा उपस्थित बुद्धिजीवी, नेतागण र समाजसेवीहरूले चयनित संचालन समिति र सल्लाहकार समितिका पदाधिकारीहरूलाई टीका र दोसल्लाले सम्मान गर्दै बधाई दिएका थिए। कार्यक्रमको अन्त्यमा प्रमुख सल्लाहकार गोविन्द बि.क.ले आफ्नो मन्तव्य राख्दै बैठकको समापन गर्नुभएको थियो।

ज्वलन्त स्मृति क्लब प्रवास दिल्लीका सहसचिव सुशील ओखेडाले यो जानकारी दिँदै उप-समितिले दिल्लीमा रहेका बित्थडचिरवासीको हितमा काम गर्ने र गाउँपालिकामा क्लबको उद्देश्यलाई थप सशक्त बनाउने बताउनुभयो। यो कदमले प्रवासमा रहेका नेपाली समुदायबीच एकता र सामाजिक कार्यमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार