र्याली जिल्ला जनस्वास्थ्य प्रशासन कार्यालय, जुम्लाबाट सुरु भई खलंगाको मध्य बजार हुँदै चन्दननाथ नगरपालिकाको प्रांगणमा पुगेर समापन भएको थियो।
विश्व क्षयरोग दिवसको शुभ अवसरमा आज जुम्ला जिल्लाको खलंगा बजारमा एक भव्य र्याली कार्यक्रम आयोजना गरिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS), KAHS AMR क्लब, युवा पहल, कर्णाली प्रदेश, जिल्ला प्रशासन कार्यालय जुम्ला र चन्दननाथ नगरपालिकाको संयुक्त आयोजनामा भएको यो कार्यक्रमले क्षयरोगविरुद्ध जनचेतना फैलाउने उद्देश्य राखेको थियो।
र्याली जिल्ला जनस्वास्थ्य प्रशासन कार्यालय, जुम्लाबाट सुरु भई खलंगाको मध्य बजार हुँदै चन्दननाथ नगरपालिकाको प्रांगणमा पुगेर समापन भएको थियो। कार्यक्रमको मुख्य नारा “हो! हामी क्षयरोग अन्त्य गर्न सक्छौ। लगानीको प्रतिवद्दता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता” रहेको थियो।
र्यालीमा जिल्ला जनस्वास्थ्य अधिकारी तथा क्षयरोग र कुष्ठरोग फोकल पर्सन श्री अमरबहादुर रावल, चन्दननाथ नगरपालिकाका जनस्वास्थ्य अधिकारी श्री क्षेत्र महत, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य महाविद्यालयका स्नातक तेस्रो वर्ष र प्रथम वर्षका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अवधिमा सहभागीहरूले क्षयरोग रोकथाम र उपचारको महत्त्वबारे जनचेतना फैलाउन पोस्टर वितरण गरेका थिए भने विभिन्न वक्ताहरूले भाषणमार्फत क्षयरोग अन्त्यका लागि सामुदायिक सहभागिता र लगानीको आवश्यकतामाथि जोड दिएका थिए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी दिलिप प्रसाद हरिजनका अनुसार यो कार्यक्रमले स्थानीय समुदायमा क्षयरोगप्रति सचेतना बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। “हामीले यहाँको समुदायलाई यो रोगविरुद्ध एकजुट हुन र उपचारको पहुँच बढाउन प्रेरित गर्न खोजेका छौँ,” उनले भने।