मंगलवार, ३ असार, २०८२

दिनेश सुनार नेपाल उत्पीडित जातीय मुक्ति समाज जुम्लाको अध्यक्षमा चयन

उपाध्यक्षमा वीर बहादुर सार्की, महिला उपाध्यक्षमा सयरुपा दमाई, सचिवमा दले साकी, उपसचिवमा दिनेश सार्की र कोषाध्यक्षमा जगत नेपाली चयन भएका छन्।

नेपाल उत्पीडित जातीय मुक्ति समाज जुम्लाको अध्यक्षमा दिनेश सुनार चयन भएका छन्। नेकपा एमाले निकट यो संगठनको छैटौँ जिल्ला अधिवेशन शनिवार जुम्लामा सम्पन्न भएको थियो।

अधिवेशनले सुनारको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। कार्यसमितिको उपाध्यक्षमा वीर बहादुर सार्की, महिला उपाध्यक्षमा सयरुपा दमाई, सचिवमा दले साकी, उपसचिवमा दिनेश सार्की र कोषाध्यक्षमा जगत नेपाली चयन भएका छन्।

मुक्ति समाजका केन्द्रीय सचिव तेज कुमार विकले नयाँ नेतृत्वले उत्पीडित समुदायको हितमा प्रभावकारी काम गर्ने अपेक्षा व्यक्त गरे। केन्द्रीय इन्चार्ज तिजु गौतमले उत्पीडित समुदायको उत्थान र पुनर्स्थापनाका लागि सक्रिय हुन नवनिर्वाचित समितिलाई निर्देशन दिए।

नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका गौतमले संविधानले जातीय विभेदलाई सम्बोधन गरे पनि समाजमा अझै समस्या कायम रहेको बताए। उनले जुम्लाबाटै यो मुद्दामा आन्दोलनको थालनी गर्नुपर्नेमा जोड दिए।

साथै, एमाले नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि अध्यादेश ल्याए पनि पश्चगामी शक्तिहरूले अवरोध गरेको उनको भनाइ थियो।

नेकपा एमाले जुम्लाका इन्चार्ज रतननाथ योगीले उत्पीडित समुदायको सवाललाई बलियो बनाउन मुक्ति समाजको नयाँ समितिले परिणाममुखी काम गर्ने विश्वास व्यक्त गरे। उनले पार्टीका सबै शुभेच्छुक संगठनहरूले सकारात्मक सहयोग गरेर अनुकरणीय काम गर्नुपर्ने बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार