मंगलवार, ३ असार, २०८२

लेस्टेकोट पर्यटन विकास कार्यक्रम: पञ्चदेवल विनायकको नयाँ पहल

विशिष्ट अतिथि नेकपा एमाले नगर कमिटी सदस्य तथा वडा नम्बर ९ का पूर्वप्रत्यासी भरत साउद ‘सृजन’ ले लेस्टेकोट जस्तो सम्भावनायुक्त क्षेत्रमा नगरपालिकाको ध्यान नपुगेकोमा दुखेसो गरे।

सुदूरपश्चिम प्रदेशको अछाम जिल्लास्थित पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ९ कालेकाडाको लेस्टेकोट क्षेत्र पर्यटकलाई लोभ्याउने महत्त्वपूर्ण गन्तव्य बन्दैछ। फागुन २९ गते फागु पूर्णिमाको अवसरमा कालेकाडा युथ क्लबले आयोजना गरेको पर्यटन विकास कार्यक्रमले यस क्षेत्रको सम्भावनालाई उजागर गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ९ का अध्यक्ष रामप्रसाद जैसीले ब्यानर पढेर उद्घाटन गरे। उनले आयोजक कालेकाडा युथ क्लबलाई धन्यवाद दिँदै पर्यटनमात्र नभई विकास निर्माणमा सबैको सहयोग आवश्यक रहेको बताए। “वडा अध्यक्ष एक्लैले सबै गर्न सक्दैन, प्रतिपक्षको सहयोग र समर्थन चाहिन्छ,” उनले भने।

क्लबलाई कानुनी रूपमा दर्ता गरी अघि बढ्न सुझाव दिँदै आवश्यक सहयोगको प्रतिबद्धता पनि व्यक्त गरे।

विशिष्ट अतिथि नेकपा एमाले नगर कमिटी सदस्य तथा वडा नम्बर ९ का पूर्वप्रत्यासी भरत साउद ‘सृजन’ ले लेस्टेकोट जस्तो सम्भावनायुक्त क्षेत्रमा नगरपालिकाको ध्यान नपुगेकोमा दुखेसो गरे। “नगरपालिकाको घोषणापत्रमा समेत यो क्षेत्र समेटिएको छैन। विकासका नाममा विनाशमात्र भएको छ,” उनले आरोप लगाए।

राम्रा कामको प्रचार कम र नराम्रा कामको चर्चा बढी हुने यथार्थ औंल्याउँदै युवाहरूको यो प्रयासमा सबैको साथ आवश्यक रहेको उनको भनाइ थियो। उनले कार्यक्रमको सफलताको शुभकामना दिँदै क्लबलाई धन्यवाद दिए।

कार्यक्रम एक हप्ताको अभियानपछि फागु पूर्णिमाको दिन भव्य रूपमा सम्पन्न भयो। लेस्टेकोट क्षेत्रमा चन्द्र-सूर्य अंकित २० फिट अग्ला तीनवटा नेपाली राष्ट्रिय झण्डा फहराइएको थियो। होडिङ बोर्ड र ब्यानर प्रदर्शनले कार्यक्रमलाई थप आकर्षक बनायो।

आयोजकले यो दिनलाई ऐतिहासिक क्षणको संज्ञा दिँदै खुसी व्यक्त गरे। कार्यक्रममा नेपाली कांग्रेस नेता प्रजापति जैसी, एमाले वडा कमिटी अध्यक्ष देवीराम जैसी, माओवादी केन्द्रका नरेन्द्र बोहरा ‘सनम’, राष्ट्रिय लोक तथा दोहोरी गायन प्रतिष्ठान अछामका अध्यक्ष जनक कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति कमल शाही, इलाका प्रहरी इन्चार्ज रामसिंह फराल, वडा सचिव सञ्जयकुमार यादव, वडा सदस्य खन्टीदेवी भाट र पूर्व वडा सदस्य राजपुरा बोहरा अतिथिको रूपमा उपस्थित थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति कमल शाहीले हिमाल, पहाड र तराईको पहिचान झल्कने गरी नगरस्तरीय पर्यटन ब्रान्ड बनाउनुपर्ने सुझाव दिए। “लेस्टेकोटलाई केन्द्रमा राखेर रणनीतिक योजना र गुरुयोजना बनाउन जरुरी छ,” उनले जोड दिए।

एमाले वडा कमिटी अध्यक्ष देवीराम जैसीले पर्यटनलाई प्रदेश समृद्धिको आधार मानेर प्राथमिकतामा राख्नुपर्ने बताए। भरत साउदले पर्यटनलाई कृषि, खेल, शिक्षा, स्वास्थ्य र उद्योगसँग जोड्नुपर्ने धारणा राखे। सहभागीहरूले तल्लो तहमा पर्यटन संरचना अभावले समस्या भएको अनुभव सुनाए।

कालेकाडा युथ क्लबका अध्यक्ष अशोककुमार शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य लोकेश बोहोराले स्वागत मन्तव्य राख्नुभयो भने लालुप्रताप शाहीले सञ्चालन गरे। आयोजकले प्रत्येक वर्ष फागु पूर्णिमामा गोष्ठी आयोजना गर्ने योजना बनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार