जुम्ला जिल्लामा अध्ययनका क्रममा केही समय बिताएका फोटोग्राफर राज अधिकारीले त्यहाँको संस्कृति र परम्पराले आफूलाई गहिरो प्रभाव पारेको बताए।
कर्णालीको समृद्ध संस्कृति र पहिचान बोकेका तस्वीरहरू सांस्कृतिक संस्थानद्वारा प्रकाशित ‘कल्चरल्ली गोर्जस नेपाल’ नामक फोटो पुस्तकमा समावेश भएका छन्।

नवलपरासीका चर्चित फोटोग्राफर राज अधिकारीले खिचेका यी तस्वीरहरूले जुम्ला जिल्लाको सांस्कृतिक वैभवलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।
सांस्कृतिक संस्थान, नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्कृति संरक्षणमा सक्रिय संस्थाले प्रकाशन गरेको यो पुस्तकमा अधिकारीका पाँचवटा उत्कृष्ट तस्वीरहरू छापिएका छन्।

यसअघि भोग, द बिट एक्जिबिसन र पिक्सोटो जस्ता अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा समेत जुम्लाको संस्कृति झल्काउने तस्वीरहरू प्रकाशन गरी ख्याति कमाइसकेका अधिकारीले कर्णालीको सांस्कृतिक गहना विश्वसामु पुर्याउने प्रयासलाई यो पुस्तकले थप बल दिएको छ।
जुम्ला जिल्लामा अध्ययनका क्रममा केही समय बिताएका फोटोग्राफर अधिकारीले त्यहाँको संस्कृति र परम्पराले आफूलाई गहिरो प्रभाव पारेको बताए।

“कर्णालीको संस्कृति नै यहाँको असली गहना हो। यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन म यथाशक्य प्रयास गरिरहेको छु,” उनले भने।
यो प्रकाशनले नेपालको सुदूरपश्चिम क्षेत्रको सांस्कृतिक सम्पदालाई उजागर गर्नुका साथै स्थानीय कलाकार र फोटोग्राफरहरूलाई प्रोत्साहन प्रदान गरेको छ।

कर्णालीको मौलिकता र सुन्दरतालाई विश्वसामु चिनाउने यो प्रयासले सांस्कृतिक पर्यटनको सम्भावनालाई समेत उजागर गरेको छ।


