प्रहरीले स्थानीयलाई समेत अवैध कार्यबारे जानकारी दिन आग्रह गर्दै सामुदायिक सहयोग आवश्यक रहेको बताएको छ।
पछिल्लो समय जुम्लामा लागुऔषध दुव्र्यसन र चोरीका घटनाहरू बढ्दै गएका छन्। प्रहरीले पनि कडाइ गर्दै अपरेशनहरू तीव्र पारेको छ।
जिल्ला प्रहरी कार्यालय, जुम्लाले फागुन महिनाभित्र मात्रै ब्राउन सुगर, ट्रमाडोलसहित तीन जनालाई पक्राउ गरेको छ भने डिजेल चोरीमा संलग्न थप व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ।
ट्रमाडोलसहित दुई जना पक्राउ
फागुन २० गते बिहान ११:३० बजेतिर चन्दननाथ नगरपालिका-५, जुगाड खोला नजिकै लागुऔषध (ट्रमाडोल) सेवन गरिरहेका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चन्दननाथ-१ का २२ वर्षीय लक्की परियार र सोही उमेरका प्रविन परियार रहेका छन्। प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
उनीहरूबाट Tramadol Capsules IP लेखिएको चार पत्ता, अर्थात् ४० क्याप्सुल बरामद गरिएको छ।

ब्राउन सुगरसहित युवक पक्राउ
यसअघि फागुन १८ गते साँझ ४:०० बजे चन्दननाथ-७, भाइरल पुल नजिकै लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
उक्त क्रममा २८ वर्षीय शर्पराज रावललाई पक्राउ गरिएको छ। उनको साथबाट ब्राउन सुगर जस्तो देखिने १५० मिलिग्राम धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

डिजेल चोरीमा संलग्न थप व्यक्तिहरू पक्राउ
फागुन १० गते जुम्ला बजारको बसपार्कमा पार्किङ गरेर राखिएको टिप्परबाट डिजेल चोरी भएको घटनामा संलग्न व्यक्तिहरू फेला परेका छन्।
यसअघि नै दुई जनालाई पक्राउ गरिसकेको प्रहरीले फागुन १९ गते थप दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चन्दननाथ-५ का ३९ वर्षीय नरबहादुर सुनार र २२ वर्षीय डिल्ली कार्की रहेका छन्।
उनीहरूलाई चोरीमा प्रयोग गरिएको क १ ह १०१ नम्बरको अटो रिक्सा समेत बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) छेदिलाल कामतीका अनुसार जुम्लामा लागुऔषध र चोरीका घटनाहरू बढ्न थालेपछि प्रहरीले निगरानी थप कडा बनाएको छ।
उनले भने, “हामीले विशेष सूचना प्राप्त भएलगत्तै निगरानी बढाएका छौं। पछिल्लो समय लागुऔषधको दुव्र्यसन र चोरीका घटनाहरू नियन्त्रण गर्न निरन्तर अभियान सञ्चालन गरिरहेका छौं। अपराधमा संलग्न जो-कोहीलाई कारबाहीको दायरामा ल्याइनेछ।”
प्रहरीले स्थानीयलाई समेत अवैध कार्यबारे जानकारी दिन आग्रह गर्दै सामुदायिक सहयोग आवश्यक रहेको बताएको छ। “सहयोगका लागि प्रहरीको हटलाइन वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न सकिनेछ,” डीएसपी कामतीले थपे।