जुम्लाको घुगुत्ती हुँदै च्यारे चौरसम्म पर्यटक र स्थानीयको लर्को लाग्ने गरेको छ। तर, सरकारी सवारीको यस्तो दुरुपयोगले प्रशासनिक पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको छ।
पछिल्लो समय जुम्लाको पर्यटकीय क्षेत्र च्यारे चौरमा घुम्न जानेको भीड बढेसँगै सरकारी सवारी साधनको दुरुपयोग पनि चरम रूपमा देखिएको छ। शुक्रबार रातिदेखि परेको पानी र हिउँ शनिबार थामिएपछि च्यारे चौर घुम्न गएका स्थानीयले सरकारी सवारी साधनको लापरबाहीपूर्ण प्रयोग भएको दृश्य देखेका छन्।
सार्वजनिक बिदाको दिन यस्तो कार्य हुँदा सरकारको ढुकुटीमाथि भ्रष्टाचार भएको आशंका उब्जिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले दैनिक रूपमा सवारी साधनको चेकजाँच गर्ने बताएको छ।
शनिबार चन्दनाथ नगरपालिका -३ खोलीकोटमा भएको चेकजाँचमा सरकारी सवारीको दुरुपयोग पुष्टि भएको छ। चेकजाँचका क्रममा पक्राउ परेका सवारी साधनका नम्बरहरू निम्नानुसार छन्।
जसमा ०४१९ नम्बर, क १ ब ३५३ , बा २ ब १५१०, क १ ब २०० , बा २ ब १०१०, क १ ब २४४ बाइकहरु र बा प ०२-००१ म ३५८ पहेँलो नम्बर प्लेटको बाइक रहेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सामाजिक विकास कार्यालय कालिकोटको स्वामित्वमा रहेको एउटा मोटरसाइकलमा जुम्ला घर भएका एक व्यक्तिले आफ्नो बुबाको परिचयपत्र प्रयोग गरी तीन जना सवार गरेको अवस्थामा फेला परेको छ। उक्त मोटरसाइकल हाल जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा छ।
यस्तै, जुम्ला नापी कार्यालयका प्रमुखले जिल्ला प्रशासन कार्यालयबाट पास नलिई च्यारे चौर घुम्न गएको बुझिएको छ। ट्राफिक प्रहरीका अनुसार उनी पनि चेकचाँचमा परेका थिए।
अन्य केही मोटरसाइकलहरू चेकजाँचको जानकारी पाएपछि वैकल्पिक बाटो प्रयोग गरी भागेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
ट्राफिकका अनुसार कारबाही गर्न खोज्दा उच्च अधिकारीको फोन आउने समस्या रहेको छ। तर, सरकारी सवारीको यस्तो दुरुपयोगले प्रशासनिक पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको छ। स्थानीयले यस्ता गतिविधिमा कडाइ गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले यस्ता घटनाको अनुसन्धान र नियन्त्रणमा कडाइ गर्ने प्रतिबद्धता जनाएको छ। तर, प्रभावशाली व्यक्तिहरूको दबाबमा कारबाही प्रभावित हुने गरेको गुनासो पनि सुनिएको छ।