मंगलवार, ३ असार, २०८२

हिमपात र वर्षाले नाग्म-गमगडी सडक अवरुद्ध, किसानलाई राहत, पर्यटकलाई चुनौती

लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली सुक्ने चिन्तामा रहेका किसानहरू बिहीबार रातिदेखि सुरु भएको वर्षा र हिमपातले उत्साहित भएका छन्।

लगातारको वर्षा र हिमपातका कारण मुगु जिल्लाको नाग्म-गमगडी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यो सडक कर्णाली राजमार्गसँग मुगुलाई जोड्ने र रारा ताल पुग्ने प्रमुख पर्यटकीय मार्ग हो।

सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीका अनुसार भुलभुले क्षेत्रमा पहिरो खसेको र सात मोडमा बाक्लो हिउँ जमेका कारण सवारी आवागमन ठप्प भएको छ। अवरुद्ध हटाउन डोजरसहित जनशक्ति खटाइएको छ, तर मौसममा सुधार नभए काममा ढिलाइ हुन सक्ने उनले बताए।

‘हामीले निरन्तर प्रयास गरिरहेका छौं, तर फेरि वर्षा र हिमपात भए अवस्था जटिल बन्न सक्छ,’ चौधरीले भने।

यसले स्थानीय मुगुबासी र रारा ताल घुम्न जाने पर्यटकलाई ठूलो असर पारेको छ। सडक अवरुद्ध भएपछि यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने स्थिति आएको छ।

यद्यपि, सडक डिभिजनले अवरुद्ध हटाउने कार्य तीव्र गतिमा अघि बढाएको र यात्रुहरूलाई धैर्य गर्न अनुरोध गरेको छ। साथै, हिमपातको समयमा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न पनि अपिल गरिएको छ।

मौसममा सुधार आएपछि रारा तालमा हिउँ खेल्न जाने आन्तरिक पर्यटकको भीड लाग्ने भएकाले सडक चाँडो खुलाउन जोड दिइएको छ। यता, कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा भएको भारी हिमपात र वर्षाले किसानहरूलाई भने ठूलो राहत मिलेको छ।

लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली सुक्ने चिन्तामा रहेका किसानहरू बिहीबार रातिदेखि सुरु भएको वर्षा र हिमपातले उत्साहित भएका छन्। साविक कर्णालीका पाँचै जिल्लाका लेकाली क्षेत्रमा बाक्लो हिउँ जमेको छ, तर बेसी क्षेत्रमा हिउँ नपरे पनि वर्षाले जमिन भिजेको छ।

कृषि विज्ञहरूका अनुसार दुई दिनसम्मको वर्षाले हिउँदे बाली सप्रिने अपेक्षा गरिएको छ। ‘यो वर्षाले माटोमा चिस्यान बढ्छ, जसले बालीको उत्पादनमा सकारात्मक प्रभाव पार्छ,’ कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले भने।

मौसममा सुधार आएपछि जुम्लाको खाली, चेरे चौर र रारा तालजस्ता क्षेत्रमा हिउँ खेल्न जाने पर्यटकको भीड लाग्ने अनुमान छ।

हिमपातले पर्यटकीय आकर्षण बढाए पनि सडक अवरुद्धले यात्रामा भने चुनौती थपिएको छ। सडक डिभिजनले समस्या समाधानका लागि दीर्घकालीन उपायको खोजीमा पनि ध्यान दिनुपर्ने स्थानीयको सुझाव छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार