मंगलवार, ३ असार, २०८२

प्रधानमन्त्रीले बालेनलाई असहयोग गरेको आरोप, सांसद शाहीको कडा आलोचना

सांसद शाहीले प्रशासनिक प्रमुख नहुँदा शिक्षक र वडाका कर्मचारीहरूले महिनौँदेखि तलब नपाएको भन्दै आक्रोश व्यक्त गरे।

प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी ओलीले काठमाडौं महानगरपालिकालाई असहयोग गर्दै जनप्रतिनिधिहरूसँग अनावश्यक प्रतिस्पर्धा गरेको आरोप लगाएका छन्।

आइतबार संसद् बैठकमा बोल्दै शाहीले प्रधानमन्त्रीले काठमाडौं महानगरका मेयर बालेन शाहलाई असफल बनाउन मुख्य प्रशासकीय अधिकृत नपठाएको दाबी गरे।

सांसद शाहीले प्रशासनिक प्रमुख नहुँदा शिक्षक र वडाका कर्मचारीहरूले महिनौँदेखि तलब नपाएको भन्दै आक्रोश व्यक्त गरे।

‘एक हजार आठ सय शिक्षक चार महिनादेखि तलबविहीन छन्, दुई हजारभन्दा बढी वडाका कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन्। यस्तो अवस्थामा कर्मचारीहरूको घरखर्च समेत चल्न कठिन छ,’ शाहीले भने।

उनले प्रधानमन्त्रीले बालेन शाहसँग ‘सिउँठे जोरी’ खेलेर प्रतिस्पर्धा गर्न खोजेको आरोप लगाए।

‘प्रधानमन्त्रीलाई एउटा जनप्रतिनिधिसँग सिङ जुधाउनुपर्ने कारण के हो? यसबारे संसद्‌लाई जवाफ दिनुपर्छ,’ उनले थपे।

शाहीले प्रधानमन्त्रीको व्यवहारले राजधानीलाई नै ठप्प बनाउने र आमनागरिकलाई धोका दिने काम गरेको दाबी गरे।

‘महानगरलाई असहयोग गर्नु भनेको यहाँका नागरिकलाई धोका दिनु हो। के प्रधानमन्त्रीले राजधानीसँग तुष पाल्नुभएको छ? नयाँ जोस-जाँगरका साथ आएका जनप्रतिनिधिलाई असफल बनाउने षड्यन्त्र भइसकेको छ,’ उनले चेतावनी दिए।

उनले जनप्रतिनिधिहरूलाई असफल बनाउन खोज्ने र आफू मात्र सत्तामा टिकिराख्ने प्रवृत्तिको घोर विरोध गरे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार