नेपालको नाथ सम्प्रदायसँग गहिरो सम्बन्ध राख्ने चन्दननाथ मन्दिरप्रति मुख्यमन्त्री योगीको गहिरो रुचि रहेको थियो।
भारतको उत्तरप्रदेशमा चलिरहेको महाकुम्भ मेलाले करोडौं श्रद्धालुको आस्थाको केन्द्र बनेका बेला, नेपालका लागि एउटा विशेष धार्मिक सन्देश प्रसारित भयो।
जुम्लाको ऐतिहासिक चन्दननाथ मन्दिरको प्रतिनिधित्व गर्दै भारतको उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीसँग संवादको अवसर जुट्यो।
महाकुम्भ जस्तो विशाल धार्मिक आयोजनाको व्यवस्थापनमा व्यस्त रहँदा पनि मुख्यमन्त्री योगीले नेपालको धार्मिक स्थलहरूको पवित्रता र महत्वबारे अभिव्यक्ति दिनु, धार्मिक तथा सांस्कृतिक सम्बन्धहरू मजबुत पार्ने महत्वपूर्ण कदम सावित भयो।
महाकुम्भमा ४० करोड मानिसको उपस्थिति व्यवस्थापन गर्ने जिम्मेवारी वहन गरिरहेका योगीले नेपालको पवित्र स्थलहरूमा गहिरो चासो देखाएका सांसद विनिता कठायतले बताइन्।
“विशेष गरी कैलाश पर्वतक्षेत्रबाट उत्पन्न भएका चार मुख्य नदीमध्ये करोडौं हिन्दूहरूको आस्थाको केन्द्र कर्णाली नदीबारे उनले गहिरो सन्दर्भ प्रस्तुत गर्नुभयो,” उनले भनिन्।
उनका अनुसार कैलाश मानसरोवरबाट उत्पन्न भएर कर्णाली नदी नेपालको धार्मिक भूमिसँग मिसिएर उत्तरप्रदेश हुँदै बग्दछ। यस नदीले आफू बग्ने मार्गमा हजारौं धार्मिक गुञ्जन बोकेको छ।
नेपालको नाथ सम्प्रदायसँग गहिरो सम्बन्ध राख्ने चन्दननाथ मन्दिरप्रति मुख्यमन्त्री योगीको गहिरो रुचि रहेको थियो। त्यसैले, उनलाई चन्दननाथ मन्दिरका तर्फबाट भ्रमणको निमन्त्रणा पत्रसमेत प्रदान गरेको सांसद कठायतले जानकारी दिइन्।
“यो निमन्त्रणासँगै नेपालका धार्मिक स्थलहरूलाई अन्तर्राष्ट्रिय हिन्दू समुदायको ध्यानाकर्षण गराउने अभिप्राय राखिएको थियो,” उनले थपिन्।
चन्दननाथ मन्दिरको इतिहासमा पहिलो पटक भारतको कुनै मुख्यमन्त्रीलाई मन्दिरको विशेष नासो प्रदान गरिएको उनको मत छ।
सांसद विनिता कठायतको पहलमा, चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर थापाले मुख्यमन्त्री योगीलाई धार्मिक नासो हस्तान्तरण गरे। नासो ग्रहण गरेपछि आदित्यनाथले अध्यक्ष थापा र नेपाली प्रतिनिधिमण्डललाई आभार प्रकट गरे।
यस विशेष क्षणले नेपाल–भारतबीचको धार्मिक सम्बन्धलाई थप मजबुत बनाएको अध्यक्ष थापाले बताए।
“चन्दननाथ मन्दिरको सांस्कृतिक एवं ऐतिहासिक महत्त्वलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने प्रयास सफल भएको महसुस गरेको छु,” उनले भने।
जुम्लाको चन्दननाथ मन्दिरसँग जोडिएका धार्मिक आख्यानहरूलाई भारतको धार्मिक वृत्तमा प्रवर्द्धन गराउने कार्यले नेपालको सम्पदा पर्यटनलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको उनको विश्वास छ।
नेपालका धार्मिक स्थलहरूको पहिचानलाई महाकुम्भ जस्तो विश्वव्यापी चासोको केन्द्रमा राख्न सक्नु, नेपालका लागि मात्र होइन, सम्पूर्ण हिन्दू समाजका लागि एक महत्वपूर्ण अवसर बनेको छ।