सर्लाहीमा अन्तरजातीय विवाह गरेका प्रेम जोडीमाथि गृह मन्त्रीको निर्देशनमा भएको दमनबारे संसदमा कुरा उठेको छ।
नेपाली कांग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडीमाथि भएको भनिएको बर्बरताबारे गृहमन्त्री रमेश लेखकले सत्य तत्य जानकारी दिन माग गरेकी छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद विकले सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको भनिएको सरकारी व्यवहार सत्य हो भने ६० लाख दलित समुदायको अपमान भएको बताइन्।
उनले गृहमन्त्री रमेश लेखको निर्देशनमा उनीहरूमाथि अपमानजनक व्यवहार भएको भनेर समाचारहरू आए पनि ती सबै सत्य हुन नसक्ने बताइन्।
त्यस्तै अर्का सांसद हर्कमाया विकले पनि उक्त घटनाले जातीय विभेदलाई सरकारले संरक्षण गरेको भन्दै दलितहरूको अपमान गरिएको बताइन्।
उनले नव विवाहित जोडी माथिको व्यवहार प्रहरी र अदालतको समेत कमजोरी देखिएको बताइन्।
















