सोमबार, ८ पुष, २०८१

सिंजा गाउँपालिकाको शनिगाउँमा स्वास्थ्य शिविर सम्पन्न

स्वास्थ्य शिविर सिंजा गाउँपालिकाको आयोजना, प्लान नेपालको सहकार्य र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

जुम्लाको सिंजा गाउँपालिका, वडा नं. ५ शनिगाउँमा शुक्रबार एकदिने बहुआयामिक स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरमा स्थानीय बासिन्दाहरूलाई हाडजोर्नी, स्त्रीरोग, अपांग परीक्षण, मानसिक परामर्श, सामान्य स्वास्थ्य परीक्षणलगायत विविध स्वास्थ्य सेवा प्रदान गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियोे।

स्वास्थ्य शिविर सिंजा गाउँपालिकाको आयोजना, प्लान नेपालको सहकार्य र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले शिविरले स्थानीय स्तरमा नागरिकहरूलाई प्रत्यक्ष सेवा पुर्‍याउन सफल भएको बताए।

उनले भने, “यस्तो कार्यक्रमले गाउँपालिकाको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिने विश्वास लिएको छु।”

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. पूजनकुमार रोकायले शिविरको विवरण प्रस्तुत गर्दै विभिन्न सेवामा उल्लेख्य संख्यामा बिरामीहरूको सहभागिता रहेको जानकारी दिए।

उनका अनुसार ११० जनाल हाडजोर्नी १५० जनाले मनोसामाजिक परामर्श, ६५ जनाले स्त्रीरोग, ६० जनाले सामान्य स्वास्थ्य परीक्षण गरे भने १३५ जनाले अन्य सेवा लिए।

शिविरले गाउँपालिकाका जनतालाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गर्नुका साथै ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा नयाँ उदाहरण प्रस्तुत गरेको सिंजा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए।

शिविरमा उपस्थित स्थानीयहरूले यस प्रकारका स्वास्थ्य शिविरहरू ग्रामीण क्षेत्रमा आयोजना गरिनु अत्यन्तै आवश्यक रहेको बताएका छन्।

निःशुल्क औषधि र विशेषज्ञ चिकित्सकको सल्लाह पाउँदा उनीहरूले ठूलो राहत महसुस गरेको प्रतिक्रिया दिएका छन्।

गाउँपालिका अध्यक्ष धितालले शिविरका लागि प्राविधिक सहयोग गर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रोकाया र उनको टिमप्रति आभार व्यक्त गरे।

उनले थप, “शनिबार नराकोट स्वास्थ्य चौकीमा पनि यस्तै शिविर सञ्चालन गरिनेछ। नराकोट क्षेत्रमा बसोबास गर्ने सबै नागरिकलाई स्वास्थ्य परीक्षणका लागि शिविरमा उपस्थित हुन अनुरोध छ।”

उनले भविष्यमा पनि यस्ता स्वास्थ्य शिविरहरू आयोजना गर्दै ग्रामीण जनताको स्वास्थ्य अवस्था सुधार्न प्रतिबद्ध रहेको बताए।

शिविरले नजिकबाट स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर प्रदान गर्दै ग्रामीण जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने प्रयासलाई थप बलियो बनाएको निर्देशक डा. रोकायाको भनाई छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार