सोमबार, ८ पुष, २०८१

‘कालिकोट जिप दुर्घटना ओभरलोडका कारण भयो,’ प्रहरी

प्रहरीका अनुसार ५ जनाको यात्रु क्षमताको उक्त जिपमा २० जना यात्रा गरिरहेका थिए, जसले दुर्घटना निम्त्यायो।

कर्णाली प्रदेशका दुर्गम पहाडी सडकमा ओभरलोडका कारण जिप दुर्घटना भएकशध खुलेको छ।

कालीकोटको पलाता गाउँपालिका–३ राडुनेटामा भएको जिप दुर्घटनामा ६ जनाको ज्यान गएको पुष्टि भएको हो।

दुर्घटनामा दिवंगत हुनेहरूमा पलाता–६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही; पलाता–५ की छाया शाही; तथा पलाता–३ का दमन रोकाया छन्।

दुर्घटनामा परि १३ जना यात्रु गम्भीर घाइते भएका छन्। तीमध्ये दानबहादुर, निर्मला, जगत दोली, आयुशा र चालक धनीरामको अवस्था अझै चिन्ताजनक रहेको प्रहरीको भनाइ छ।

घाइतेलाई नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल पुर्‍याइएको छ।

कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप आइतबार दिउँसो राडुनेटाको उकालोमा अनियन्त्रित भई काप्री खोलामा खसेको थियो।

प्रहरीका अनुसार ५ जनाको यात्रु क्षमताको उक्त जिपमा २० जना यात्रा गरिरहेका थिए, जसले दुर्घटना निम्त्यायो।

कर्णाली करिडोर हुँदै घाटपारि चौरसम्म सडक सञ्चालन भए पनि पलातासँग जोड्ने कर्णाली नदीमा पुलको अभावले यात्रालाई जोखिमपूर्ण बनाएको छ।

यसअघि नै डिजेल र पेट्रोलका ड्रम र काठमा बाँधेर जिप नदी तारेर ल्याउनुपरेको स्थानीयले बताएका छन्।

दुर्गम बस्ती र कच्ची सडकले यातायातलाई चुनौतीपूर्ण बनाउँदै यस प्रकारको दुर्घटना निम्त्याएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावत बताउँछन्।

रावतका अनुसार गाउँमा लामो यात्रा गर्नसक्ने विकल्पको अभावमा यातायातको असुरक्षित प्रयोग भइरहेको छ।

ग्रामीण सडकहरूमा यातायातको व्यवस्थापन र सुरक्षा उपाय लागू गर्ने तर्फ ध्यान नदिइएको खण्डमा यस्ता घटना अझै दोहोरिने सम्भावना रहेको भन्दै सरोकारवाला निकायले शीघ्र सुधारको आवश्यकता देखाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार