सोमबार, ८ पुष, २०८१

हिमा जुम्लाको पहिलाे साक्षर गाउँपालिका

कुल जनसंख्या १२ हजार आठ सय ४ भएको हिमामा १२ हजार २ सय ५६ जना साक्षर छन्। अर्थात् हिमामा ९५.७२ प्रतिशत नागरिक साक्षर छन् भने ४.२८ प्रतिशत निरक्षर छन्।

जुम्ला । हिमा जिल्ला पहिलो साक्षर गाउँपालिका घाेषणा भएको छ। बिहीबार एक भव्य समाराेहका आयोजना गरि पालिकालाई साक्षर घोषणा गरिएको हो।

‘बहुभाषिक शिक्षाकाे प्रवर्द्धन, पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता’ भन्ने मुल नारासहित हिमालाई साक्षर घाेषणा गरिएकाे पालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए।

जिल्लाका आठ पालिकामध्ये हिमा पहिलो गाउँपालिकाको रुपमा घाेषणा हुनु उपलब्धिपूर्ण भएको अध्यक्ष शाहीको भनाइ छ।

कुल जनसंख्या १२ हजार आठ सय ४ भएको हिमामा १२ हजार २ सय ५६ जना साक्षर छन्। अर्थात् हिमामा ९५.७२ प्रतिशत नागरिक साक्षर छन् भने ४.२८ प्रतिशत निरक्षर छन्।

स्नातकोत्तर तहसम्म अध्ययन गरेका ५५ जना, स्नातक गरेका १५५ जना, प्रविणता प्रमाणपत्र तह गरेका ८ सय जना रहेका छन्। यस्तै उच्च माविसम्म ११ सय ९६ जना र एसएलसी पास गरेका ९५० जना, एसईई गरेका १६ सय ४८ रहेको हिमा गाउँपालिका शिक्षा शाखाले जनाएको छ।

शिक्षा शाखाका अनुसार बालविकास तर्फ सामान्य साक्षरकाे संख्या ४२२ जना रहेकाे छ। पालिकामा रहेका प्राैढ जनसंख्या एक हजार ६ सय ६० जना र विद्यालय उमेरका ५ हजार ३ सय ७० जना साक्षर छन्।

हिमा गाउँपालिका साक्षर घाेषणा हुनु हिमाकाे सबैभन्दा नमुना कार्य भएकाे अध्यक्ष शाहीले बताए।

‘याे कार्यक्रम हिमाकाे लागि महत्त्वपूर्ण हाे। शिक्षा क्षेत्रमा हिमाले गरेकाे सफलता हाे,’ उनले भने, ‘यसलाई संस्थागत गर्न सबैकाे हातेमालो आवश्यक छ।’

साक्षर हिमा गाउँपालिकाकाे सार्वजनिकिकरण घाेषणा कार्यक्रम – २०८१ मा कर्णाली प्रदेश सरकारकी जलस्राेत तथा उर्जा विकास मन्त्री विजया बुढाले साक्षर घाेषणा गरिन्।

उनले भनिन्, ‘हिमाले इतिहास रचेकाे छ। आगामी दिनमा पनि इतिहासको निरन्तरता दिनेमा विश्वस्त छु।’

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द आचार्यले साक्षर घाेषणा गरेर हिमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेकाे बताए।

उक्त अवसरमा बाेल्दै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले विकासका प्रमुख आधार शिक्षा रहेकाे बताए। शिक्षा विकासका लागि सबैकाे भुमिका महत्त्वपूर्ण रहेकाे उनको भनाइ छ।

सम्पूर्ण वडाअध्यक्षहरूकाे तफर्फबाट बाेल्दै हिमा-१ का वडाअध्यक्ष तथा प्रवक्ता रतनबहादुर शाहीले हिमालाई जिल्लाकै पहिलो साक्षर पालिका घाेषणा गर्नु नमुना कार्य भएकाे बताए।

उनका अनुसार हिमाले शिक्षामा विशेष जाेड दिएकाे छ। हिमाले हरेक वर्ष शिक्षामा ३० प्रतिशत बजेट लगानी गरिरहेकाे छ। साक्षर घाेषणामा पेश नेपाल, किर्डाक नेपाल, प्लान नेपाल, सुसुवा र क्याड नेऐपालले समन्वय र साझेदारी गरेका थिए।

उक्त अवसरमा ‘साक्षर नेपाल घाेषणाकाे औचित्यता’ शीर्षकमा हिमाका ६ माविबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएकाे थियाे भने हिमाकाे प्रशासनिक भवन निर्माणका लागि जग्गा प्रदान गरेका जग्गादाताहरूलाई सम्मान गरिएकाे थियाे।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार