जुम्लाको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकामा नेपाल परागसेचन परियोजना सुरु भएको छ। परियोजना अन्तरगत हर्ड इन्टरनेसनल, लिवर्ड लगायत पाँच साझेदार संस्थाको सहयोगमा दिगो कृषि अभ्यास र जैविक विविधता संरक्षण गर्ने उद्देश्य राखिएको छ।
यस परियोजनाले मौरी, भमरा, पुतली जस्ता प्राकृतिक परागसेचकहरूको संख्या घट्दै गएको अवस्थालाई वैज्ञानिक अध्ययन गरी परागसेचन प्रणाली सुदृढ गर्ने काम गर्ने हर्ट इन्टरनेसनल नेपालका जिल्ला कृषि अधिकृत धिरेन्द्र कार्कीले जानकारी दिए।
उनका अनुसार परियोजनाले किसान सचेतना अभिवृद्धि, स्थानीय समुदायलाई तालिम, हरित बगैचा निर्माण, जैविक कृषि प्रवर्द्धन, फार्म प्रदर्शनी तथा सामाजिक सञ्जालमा जागरण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। कृषकहरूले रासायनिक विषादीको सट्टा जैविक विधि अपनाउन, विभिन्न बाली नाली लगाउन र खेतमा परागसेचकलाई आकर्षित गर्ने फूलहरू रोप्न पनि प्रोत्साहित गरिनेछ।
जिल्ला प्रशासन, कृषि ज्ञान केन्द्र, वडा कार्यालय र स्थानीय सरोकारवालासँगको समन्वयमा परियोजना सञ्चालन हुने भएकोले किसानको उत्पादन बढाउने, खाद्य सुरक्षा सुदृढ गर्ने र जैविक विविधता संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। कृषि अधिकृत कार्कीले परियोजनाले परागसेचन, कृषक तथा उपभोक्ताको हित सुनिश्चित गर्ने विश्वास व्यक्त गरे।
















