शनिबार, २१ चैत्र, २०८२

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधारभूत सर्जिकल तालिम सम्पन्न

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेसिक सर्जिकल स्किल कोर्स २०२६ अन्तर्गत दुईदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। चैत २० र २१ गते सञ्चालन गरिएको उक्त तालिममा ५० जना सहभागी भएका थिए।

तालिममा रेसिडेन्ट डाक्टर, तेस्रो वर्षका एमबीबीएस विद्यार्थी तथा मेडिकल अफिसरहरूको सहभागिता रहेको थियो। उनीहरूले शल्यकला सम्बन्धी आधारभूत सीपहरू सिक्ने अवसर पाएका छन्।

तालिममा सर्जरी विभागका प्रा. डा. नारद प्रसाद थपलिया, डा. निर्मल थापा, डा. सुदन सुबेधी, डा. मुकेश जयसबाल र डा. राहुलले प्रशिक्षण दिएका थिए। साथै अर्थोपेडिक सर्जन डा. पवन मरासिनीले पनि सहजीकरण गरेका थिए।

सर्जरी विभागको आयोजनामा सम्पन्न तालिममा सैद्धान्तिक कक्षासँगै व्यावहारिक अभ्यासमा विशेष जोड दिइएको थियो। सहभागीहरूले डमीमा चेस्ट ट्युब, नासोग्यास्ट्रिक ट्युब र क्याथेटर राख्ने अभ्यास गरेका थिए।

त्यसैगरी, सुई टाँका (suturing) तथा टेन्डन रिपेयर जस्ता सीपहरू पनि सिकाइएका थिए। यी अभ्यासहरू सुगुरको मासु र टेन्डन प्रयोग गरेर गराइएको थियो, जसले सहभागीहरूलाई वास्तविक अभ्यासको अनुभव दिएको थियो।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल बहादुर धामीका अनुसार दुर्गम क्षेत्रमा गुणस्तरीय शल्यकला सेवा विस्तार गर्न यस्ता तालिमहरू अत्यन्त महत्वपूर्ण हुन्छन्। उनले यस्ता कार्यक्रमले स्वास्थ्य सेवाको गुणस्तर सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

सहभागीहरूले तालिमलाई अत्यन्त उपयोगी र व्यावहारिक भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले भविष्यको क्लिनिकल अभ्यासमा यसले सकारात्मक प्रभाव पार्ने बताएका छन्।

तालिमको अन्त्यमा शिक्षाध्यक्ष डा. धामी र डाइरेक्टर डा. कमल थानीले सहभागी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। साथै सर्जरी विभागका डा. निर्मल अमर सिंह थापाले यस्तो तालिम वार्षिक रूपमा सञ्चालन गर्न पाउँदा प्रतिष्ठानप्रति आभार व्यक्त गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार