जुम्लाको पहिचान र गौरवसँग जोडिएको ‘जुम्ली मार्सी’ धानको संरक्षण गर्ने उद्देश्यका साथ यस वर्ष पनि जिल्लामा भव्य रूपमा धान दिवस मनाइएको छ। ‘जुम्लाको मूल्यवान मार्सी धान, संरक्षण प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ चैत १२ गते तेस्रो जिल्लास्तरीय धान दिवस मनाइएको हो।
तर, एकातिर उत्सवको रौनक छाउँदा अर्कोतिर मार्सी धानको अस्तित्व संकटमा पर्दै गएकोमा किसान र सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
जुम्लामा धान खेतीको इतिहास चन्दननाथ बाबासँग जोडिएको छ। किम्वदन्ती अनुसार धानको बीउ पत्ता लगाई तातोपानी गाउँपालिकाको लाछु जिउलामा पहिलो पटक खेती सुरु गरेका थिए। समुद्र सतहबाट ३०५० मिटरको उचाइमा फल्ने यो धान विश्वकै उच्च स्थानमा फल्ने धानका रूपमा प्रख्यात छ।
जुम्लामा धान खेतीको चक्र निकै लामो र विशिष्ट छ। चैत १२ गते बीउ भिजाउने, १६ गते पानीबाट उतार्ने र २१ गते बेर्नामा छर्ने गरिन्छ। यो प्रक्रिया चैतमा सुरु भई कात्तिकमा फसल भित्र्याएपछि मात्र टुङ्गिन्छ।
मार्सी धानको स्वाद र पौष्टिकता जति लोभलाग्दो छ, यसको उत्पादनमा देखिएका चुनौती उति नै डरलाग्दा छन्। नागरिक समाज जुम्लाका अध्यक्ष राज बहादुर महतका अनुसार पछिल्लो समय मार्सी धानमा देखिने ‘ब्लास्ट’ रोग सबैभन्दा ठूलो शत्रु बनेको छ। यसको प्रभावकारी नियन्त्रण हुन नसक्दा किसानहरू निराश छन्।
त्यस्तै, अर्को गम्भीर समस्याको रूपमा ‘व्युटाक्लोर’ नामक विषादीको बढ्दो प्रयोग देखिएको छ। जुम्लालाई प्राङ्गारिक (अर्गानिक) जिल्ला घोषणा गरिएको दशक बिते पनि विषादीको प्रयोग घट्नुको साटो बढ्दै जानु विडम्बनापूर्ण छ।
अध्यक्ष महत भन्छन्, ‘व्युटाक्लोरको प्रयोगले एकातिर धानको मौलिकता नष्ट गर्दैछ भने अर्कोतिर खेतीमा प्रत्यक्ष संलग्न महिलाहरूको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ।’
जिल्लामा कृषि अनुसन्धान केन्द्र (नार्क), कृषि विकास कार्यालय र बागवानी अनुसन्धान केन्द्र जस्ता सरकारी निकायहरू सक्रिय भए पनि किसानहरूले त्यसको अनुभूति गर्न पाएका छैनन्। कृषि अनुसन्धान केन्द्रले हालसम्म चन्दननाथ-१ र चन्दननाथ-३ जातका धान सिफारिस गरेको छ भने मार्सी-१८, २० र २२ सिफारिसको क्रममा छन्।
तर, किसानहरूको गुनासो बेग्लै छ। ६ महिनासम्म हाडछाला घोटेर खेती गर्दा पनि उत्पादनले परिवारलाई ६ महिना खान नपुग्ने भएपछि धेरै किसानहरू मार्सीको विकल्प खोज्न बाध्य छन्। कृषि क्षेत्रका सरोकारवाला निकायहरू समस्या समाधानमा ‘मूकदर्शक’ बनेको आरोप किसानहरूको छ।
चुनौतीका बाबजुद मार्सी धानको आर्थिक महत्व भने उच्च छ। कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्ली मार्सी चामलको बिक्रीबाट वार्षिक करिब ३ करोड ५० लाख रुपैयाँ जिल्लामा भित्रिने गरेको छ।
अधिकारी भन्छन्, ‘मार्सी धानलाई विश्वव्यापीकरण गर्नु आजको आवश्यकता हो, तर यसका लागि ब्लास्ट रोगको नियन्त्रण र संरक्षणमा सबै आठवटै स्थानीय तहले साझा पहलकदमी लिनु जरुरी छ।’
















