विश्व मुख स्वास्थ्य दिवस का अवसरमा नेपालमा ‘स्वस्थ मुख, सुखी जीवन’ भन्ने मूल नारासहित विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।
विश्व दन्त महासंघको आह्वानमा नेपाल डेन्टल एसोसिएसनले देशभर साताव्यापी रूपमा निःशुल्क मुख तथा दन्त परीक्षण सेवा सञ्चालन गरेको जनाएको छ।
चिकित्सकहरूले मुख स्वास्थ्यले व्यक्तिको आत्मविश्वास र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने डेन्टल एसोसिएसनका केन्द्रीय सदस्य भूमेश काफ्लेले जानकारी दिए।
उनका अनुसार फ्लोराइडयुक्त मञ्जन प्रयोग गरी दिनमा दुई पटक दाँत माझ्न र नियमित सरसफाइमा ध्यान दिन आग्रह गरेका छन्।
एसोसिएसनका अनुसार नेपाल मेडिकल काउन्सिल मा करिब ७ हजार दन्त चिकित्सक दर्ता भइसकेका छन् भने देशका १३ वटा दन्त शिक्षालयबाट वार्षिक करिब १२०० नयाँ जनशक्ति उत्पादन भइरहेको छ।
तर, दन्त चिकित्सक र जनसंख्याबीचको अनुपात अझै असन्तुलित रहेको छ।
विश्वमा ४ हजार जनसंख्यामा १ चिकित्सक उपयुक्त मानिए पनि नेपालमा ३० हजार जनसंख्यामा १ चिकित्सक मात्र रहेको छ।
एसोसिएसनले प्रत्येक पालिकास्तरका अस्पतालमा कम्तीमा दुई जना दन्त चिकित्सकको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
मुखसम्बन्धी रोगबाट बच्न नियमित जाँच र स्वस्थ जीवनशैली अपनाउन सबैमा आग्रह गरिएको छ।
















