शुक्रबार, १ फाल्गुन, २०८२

जुम्ला समृद्ध अन्तर संवादमा ९ जना उम्मेदवार उपस्थित, आएनन् ज्ञानेन्द्र शाही

जुम्लामा ‘जुम्ला समृद्ध, अन्तर संवाद’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जुम्ला सदरमुकाम खलंगा स्थित खेलकुद विकास समितिको मैदानमा आयोजना गरिएको थियो।

स्थानीयको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमले जुम्लाबासीमा राजनीतिक चासो बढेको देखिन्छ। कार्यक्रम कर्णाली प्रदेशको जेन–जि समूहको आयोजनामा गरिएको हो।

मिडिया पार्टनरका रहेका कुटीरो डटकम र कनका खबर टेलिभिजनले सहजिकरण रहेका थिए। सञ्चार माध्यमको सक्रियताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रमको मुख्य उद्देश्य जुम्लालाई कसरी समृद्ध बनाउने भन्ने विषयमा खुला बहस गर्नु रहेको थियो। साथै, आम नागरिकका गुनासाहरू उम्मेदवारहरूसँग प्रत्यक्ष रूपमा राख्ने अवसर दिनु पनि यसको लक्ष्य थियो।

कार्यक्रमको सहजीकरण जेन–जि कर्णाली प्रदेशकी नेतृत्व सुप्रिया राज्य लक्ष्मी शाहीले गरेकी थिइन्। उनले कर्णाली प्रदेशलाई समृद्ध बनाउने सोचका साथ कार्यक्रम सञ्चालन गरिएको बताइन्।

उनका अनुसार नागरिक सचेत हुनु अहिलेको आवश्यकता हो। ‘अब जनता मौन बस्ने होइन। उम्मेदवारका एजेन्डा बुझ्ने र प्रश्न गर्ने समय आएको छ,’ उनले भनिन्।

अन्तर संवाद कार्यक्रममा जुम्लाबाट उम्मेदवारी दिएका १० जना मध्ये ९ जना उम्मेदवार सहभागी भए। राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही व्यस्तताका कारण उपस्थित हुन सकेनन्। आयोजकका अनुसार उनको अनुपस्थितिको जानकारी पहिले नै दिइएको थियो।

उपस्थित ९ जना मध्ये नेपाली काँग्रेसका दीप बहादुर शाही, नेकपाका नरेश भण्डारी, नेकपा एमालेका शान्तिलाल महत, रास्वपाका विनिता कठायत, नेमकिपाका विर्ष रावत, नेकपा माओवादीका विर्ष बहादुर शाही, प्रलोपाका मनऋषि धिताल, जनता पार्टीका रनिल विक्रम शाही सहित एक जना स्वतन्त्र उम्मेदवार भक्त बहादुर रावल पनि थिए।

सबै उम्मेदवारले जुम्लाको विकासका लागि आफ्ना योजना प्रस्तुत गरे। उम्मेदवारले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक, कृषि र पर्यटन मुख्य एजेन्डाका बनाएको बताए।

स्थानीय बासिन्दा लक्ष्मी रोकायाले भनिन्, ‘पहिलो पटक उम्मेदवारसँग प्रत्यक्ष कुरा गर्न पायौँ। यस्तो कार्यक्रम फेरि पनि हुनुपर्छ।’ अर्का सहभागी प्रेम शाहीले पनि कार्यक्रम उपयोगी भएको बताए।

कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीच दूरी घटाएको देखियो। आपसी संवाद बढाउन यसले सहयोग पुर्‍याएको सहभागीहरूको धारणा थियो।

आयोजक संस्थाले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। अन्य जिल्लामा पनि यसलाई विस्तार गर्ने योजना रहेको बताइएको छ।

‘जुम्ला समृद्ध, अन्तर संवाद’ कार्यक्रमले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाएको सहभागीहरुको भनाई छ। जनताको आवाज र उम्मेदवारको प्रतिबद्धता एकै ठाउँमा देखिने अवसर यसले प्रदान गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार