बुधबार, २१ माघ, २०८२

सार्वजनिक यातायातलाई व्यवस्थित नगरी सुशासन सम्भव छैन : मन्त्री चौलागाईँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाईँले सार्वजनिक यातायात क्षेत्रलाई प्रविधिमैत्री, व्यवस्थित र प्रभावकारी नबनाएसम्म सुशासन सम्भव नहुने बताएका छन्।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित सार्वजनिक यातायात क्षेत्रका समस्या, चुनौती र समाधानका उपायबारेको बैठकमा बोल्दै मन्त्री चौलागाईँले विद्यमान ऐन, नियम र कार्यविधिमा समयानुकूल सुधार आवश्यक रहेको उल्लेख गरे।

उनले यातायात व्यवस्था प्रणालीमा देखिएका विकृति अन्त्य गर्न नीतिगत तथा प्रक्रियागत सुधार अपरिहार्य रहेको बताए।

‘संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय नगरी यातायात क्षेत्रका समस्या समाधान सम्भव नहुने स्पष्ट पार्दै ट्राफिक व्यवस्थापनलाई केवल ट्राफिक प्रहरीको जिम्मेवारीमा सीमित गर्न हुँदैन,’ उनले भने।

उनका अनुसार मन्त्रालय, यातायात व्यवस्था विभाग, स्थानीय तह र यातायात व्यवसायीबीच सहकार्य आवश्यक छ।

प्रविधिको प्रयोग, ट्राफिक संकेतको प्रभावकारी व्यवस्थापन तथा नागरिक सचेतनामार्फत सेवा प्रवाहलाई सहज र भरपर्दो बनाइने मन्त्री चौलागाईँको भनाइ छ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैसी, यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकबाट सार्वजनिक यातायातका समस्या समाधानका लागि ट्राफिक प्रहरी र सार्वजनिक यातायात क्षेत्रबीच समन्वय गर्ने उद्देश्यसहित सरोकारवाला निकाय संलग्न समिति गठन गरी प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ।

साथै ट्राफिक संकेत व्यवस्थापन तथा ट्राफिक प्रहरी सचेतनाका लागि मन्त्रालयले सहजीकरण गर्ने निर्णयसमेत गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार