राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाले सहिद दिवस मनाएको छ। रास्वपाका युवाहरूले जुम्ला सदरमुकाम खलंगाको मुटुमा रहेको कृष्ण मन्दिर अगाडि सहिदहरुको सम्झनामा दीप प्रज्वलन गर्दै ७० औं सहिद दिवस मनाएका हुन्।
वि.सं. १९९७ मा राणा शासनको अन्त्य र स्वतन्त्रताको माग गरेका कारण चार वीर योद्धाहरूले सहादत प्राप्त गरेका थिए। जसमा शुक्रराज शास्त्रीलाई माघ १० गते टेकुस्थित पचलीमा र धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा मृत्युदण्ड दिइयो थियो।
त्यस्तै माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा लगेर मारिएको थियो।जसले गर्दा यी चारै सहिदको बलिदान नेपाली इतिहासमा प्रजातन्त्र स्थापनाको जगका रूपमा अमर रहन गएको थियो। सोही सम्झनामा जुम्लामा रास्वपाका युवाहरूद्वारा सहिद दिवस मनाएका छन्।
चारजना सहिदसहित उनीहरुले जेनजी आन्दोलनबाट ज्यान गुमाउने सहिदहरुको समेत ब्यानरमा फोटो राखेर सहिद एक मिनेट मौनधारण गरेर सहिदको सम्झनामा दिवस मनाएका हुन्।
रास्वपा जुम्लाका युवा नेता विशाल महतले ‘सहिदकै योगदानले हामी यो ठाउँमा छौं। उहाँहरूले ज्यान आहुती नदिएको भए हामी यो ठाउँमा हुन्थेनौं। अब पुनः देशमा फेरि सहिद नहुन देशमा सुशासन कायम होस्,’ उनले भने।
त्यस्तै रास्वपाका अर्का युवा नेता सुनिल रोकायाले देशमा परिवर्तन ल्याउन सहिदहरुले आहुती दिएको बताए।
उनले भने, ‘अहिले देश परिवर्तन गर्ने समय आएको छ। अब जुम्ली जनताले देश परिवर्तन गर्नमा साथ दिनुहुनेछ भन्ने आशा राखेको छु।’















