कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुमा आफ्नो पनि हात रहेको पूर्व मन्त्री बलबहादुर महतले दाबी गरेका छन्। जुम्लमा अवस्थित प्रतिष्ठान नरेश भण्डारीले मात्रै बनाएको भन्ने भाष्य स्थापित भएको सन्दर्भमा उनले आफ्नो पनि योगदान रहेको दाबी गरेका हुन्।
‘हामी दुबैको पहलबाट नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको हो’ , उनले भने।
पूर्व मन्त्री महतका अनुसार सुरुमा जुम्लामा करिब ४०० जनाको आम भेला आयोजना गरिएको थियो, जसमा जिल्लाका बौद्धिक व्यक्तित्व, नागरिक समाज, विद्यार्थी लगायतको सहभागिता रहेको र उक्त भेलाले नरेश भण्डारीलाई संयोजक र आफूलाई सह–संयोजक चयन गरेको हो तर समितिभित्र रहेका केही व्यक्तिले मात्रै सहयोग गरेको र अधिकांशले सहयोग नगरेको सत्य रहेको उनको भनाइ छ।
‘नरेश भण्डारी सभासद् भएकाले उहाँको पारिश्रमिक आउँथ्यो भने नेता भेटघाटका क्रममा त्यही खर्च भएको र एउटै माओवादीले मात्र बनाएको होइन, एउटै एमालेले मात्र बनाएको होइन, दुबैको सहकार्यबाट नै बनेको हो। एउटै नरेशजीले मात्र बनाएको होइन’ , पूर्व महतले भने।
उनका अनुसार नरेश भण्डारीद्वारा लेखित चाँदीको घेरा पुस्तकमा आफ्नो नाम पनि उल्लेख भएको सुनेको भए पनि किताब भने हेर्ने फुर्सद नपाएको बताएका छन्।
















