आईतवार, २७ पुष, २०८२

विपत्तिले देखाएको स्वास्थ्य क्षेत्रको नाजुक चित्र

समयमै उपचार नपाएर कैयौँले ज्यान गुमाए। राजधानीका ठूला भनिएका अस्पतालहरू नै असफल देखिए। कर्णाली त अझै सिटामोल मागिरहेको अवस्था हो।

नेपालले इतिहासका विभिन्न कालखण्डमा ठूलाठूला विपत्ति भोग्दै आएको छ। वि.सं. १९९० सालको भूकम्प, वि.सं. २०७२ सालको विनाशकारी भूकम्प, र परिवर्तनका नाममा गरिएका राजनीतिक आन्दोलनहरू त्यसका उदाहरण हुन्।

यस्तै क्रमको पछिल्लो घटना वि.सं. २०८२ साल भदौ २३ र २४ गते देखियो। भ्रष्टाचार र बेथितीविरुद्ध आवाज उठाउँदै जेनजी समूह सडकमा उत्रियो। शान्तिपूर्ण भनिएको आन्दोलन हिंसात्मक बन्न पुग्यो। त्यसको परिणाम हजारौँ घाइते भए। प्रदर्शनकारी र सुरक्षाकर्मी दुवै प्रभावित भए।

आन्दोलनपछि धेरै विषयमा बहस भए। तर एउटा अत्यन्त संवेदनशील विषय ओझेलमा पर्यो। त्यो हो नेपालको स्वास्थ्य क्षेत्र। यो आन्दोलनले स्वास्थ्य प्रणालीको वास्तविक अवस्था छर्लङ्ग पारिदियो।

संघीय राजधानीमा रहेका तृतीय तहका आधुनिक अस्पतालहरू घाइते र बिरामीको चाप थेग्न सकेनन्। देशकै ठूलो कर्मचारी अस्पताल र ट्रमा केन्द्रमा शय्याको अभाव भयो। बिरामीलाई चिसो भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था आयो।

स्वास्थ्यकर्मीको अभाव स्पष्ट देखियो। नर्स र चिकित्सक पर्याप्त थिएनन्। सामान्य नुनिलो पानी, पीडानाशक औषधि र आधारभूत सामग्रीसमेत अभावमा परे। रगतको संकट चुलियो।

समयमै उपचार नपाएर कैयौँले ज्यान गुमाए। राजधानीका ठूला भनिएका अस्पतालहरू नै असफल देखिए। कर्णाली त अझै सिटामोल मागिरहेको अवस्था हो।

यो घटना प्रतिनिधि मात्र हो। कर्णालीमा यस्तो अवस्था दैनिक हुन्छ। आज पनि कतै रगत नपाएर सुत्केरी महिलाले ज्यान गुमाइरहेकी होलिन्। सामान्य ग्यास्ट्रिकको उपचारका लागि घरजग्गा धितो राखिँदै होला।

डोल्पाको धोमा समयमै उपचार नपाएर नवजात शिशुको मृत्यु भइरहेको होला। हुम्लाको नाम्खामा कुपोषणका कारण कुनै बालक जीवन र मृत्युको दोसाँधमा छ होला।

कर्णालीका स्वास्थ्य सूचकहरू चिन्ताजनक छन्। कुपोषणको दर उच्च छ। मातृ मृत्यु दर धेरै छ। नवजात र पाँच वर्षमुनिका बालबालिकाको मृत्यु दर डरलाग्दो छ।

आधारभूत सेवा पहुँचमा सुधार देखिए पनि गुणस्तर कमजोर छ। संसार कृत्रिम बुद्धिमत्ता र चन्द्रमाको कुरा गरिरहँदा कर्णालीमा प्रत्येक वर्ष सयौँ महिलाले सामान्य प्रसूति सेवा नपाएर ज्यान गुमाइरहेका छन्।

यही देशमा नेता भन्छन्, नेपाललाई युरोप बनाउँछु। रुघाखोकी लाग्दा सिंगापुर पुग्ने व्यवस्था गर्छु। संघीय राजधानीले नै धान्न नसकेको स्वास्थ्य प्रणाली कर्णालीमा आइपुग्दा के हालत हुन्छ ? काठमाडौँले कर्णाली देख्दैन। कर्णालीका मानिसको स्वास्थ्य काठमाडौँको प्राथमिकतामा पर्दैन।

स्वास्थ्य मौलिक अधिकार हो। यो भाषणले होइन, संरचनागत सुधारले सुनिश्चित हुन्छ। संकटका बेला देखिएको यथार्थले अब आँखा खोल्नुपर्छ। नत्र विपत्ति फेरि आउँछ। र फेरि उही लापरबाही दोहोरिन्छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार