सोमबार, २८ पुष, २०८२

जुम्लाको चन्दननाथमा रैथाने स्वाद र जैविक विविधताको उत्सव

मेलामा तातोपानी, पातारासी र चन्दननाथ नगरपालिकाका किसान सहभागी छन्। सडक नाटक र देउडा मार्फत रैथाने बाली संरक्षणको सन्देश दिइएको छ। किसानले यस्तो मेला नियमित हुनुपर्ने माग गरेका छन्।

जुम्लाको चन्दननाथ नगरपालिकामा कृषि जैविक विविधता र खाद्य परिकार प्रदर्शनी मेला आयोजना गरिएको छ। चन्दननाथ नगरपालिका कृषि शाखाको आयोजनामा तथा कृषि खाद्य प्रणालीको लागि नवीकरणीय उर्जा(RERAS- LI- BIRD/ WFP)को सहयोगमा एक दिने कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेलाको आयोजना गरिएको हो।

मेलाले जुम्लामा उत्पादन हुने अर्गानिक रैथाने बाली र त्यसबाट बन्ने परिकारको महत्व उजागर गरेको छ। स्थानीय स्वाद, पोषण र संस्कृति एकै ठाउँमा देख्न पाइने यो मेला सर्वसाधारणका लागि आकर्षणको केन्द्र बनेको छ।

मेलामा औषधीय गुण भएका जडीबुटीदेखि रैथाने बालीबाट बनेका विभिन्न परिकार राखिएका छन्। फापर, कोदो, कागुनो, सिमी, मार्सी चामलजस्ता बालीका परिकारले आगन्तुकको ध्यान तानेका छन्। ओखर, स्याउ र आलुबाट बनेका परिकार पनि प्रदर्शनीमा छन्। स्थानीय किसानले आफ्नै हातले उत्पादन गरेका बीऊ र खाना एउटै स्टलमा देख्न पाउँदा आगन्तुक उत्साहित देखिन्छन्।

शनिबार जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले फापरको सेलरोटी हालेर मेलाको उद्घाटन गरे। उनले रैथाने बाली लोप हुने अवस्थामा पुगेको बताए।

‘बाहिरबाट आउने विषादी मिसिएको खाद्यान्नको प्रयोग बढ्नु चिन्ताजनक विषय हो,’ उनले भने, ‘यो मेला किसानलाई रैथाने बाली उत्पादनतर्फ हौसला दिनेछ। किसानले उत्पादन गर्ने, स्थानीय सरकारले बजार खोज्ने र व्यापारीले बजारमा पुर्‍याउने वातावरण बनाउन मेलाले भूमिका खेल्नेछ।’

चन्दननाथ नगरपालिकाको आयोजनामा मेला गरिएको हो। नगरपालिकाले पोषिला रैथाने अर्गानिक बस्तुको उत्पादन, संरक्षण, प्रवर्द्धन र बजारीकरणलाई प्राथमिकता दिएको छ।

कृषि विकास शाखा प्रमुख शरद पोखरेलका अनुसार यसअघि सडक नाटक र देउडामार्फत सन्देश दिइन्थ्यो। यो पटक भने परिकारको प्रदर्शनी गरेर स्वाद नै चखाउने अवसर दिइएको छ। ‘यहाँ पोषिला खाद्य बस्तु धेरै छन्,’ उनले भने, ‘हामी आफ्नै उत्पादन बाहिर पठाएर आयातित खाना खाइरहेका छौं। अब आफैंले उत्पादन गरेको खाने र बचेको बाहिर पठाउने सन्देश दिन खोजेका हौं।’

प्रदर्शनीमा १२ वटा स्टल राखिएका छन्। फापरको रोटी, फापरको सेल, केक, कोदोको रोटी र कागुनोको खिर सबैभन्दा धेरै रुचाइएका छन्। पछिल्लो समय लोप हुँदै गएका बालीका बीऊ पनि छुट्टै राखिएका छन्। यसले नयाँ पुस्तालाई परम्परागत बाली चिन्न मद्दत गरेको छ।

सबैभन्दा महँगो र माग बढी भएको मार्सी चामल पनि आकर्षणको केन्द्र बनेको छ। जिल्लाभर उत्पादन हुने सिमी र अन्य बालीका परिकारले मेलालाई अझ रंगीन बनाएका छन्। किसान, उपभोक्ता र सरोकारवाला बीचको सम्बन्ध बलियो बनाउने अपेक्षा गरिएको छ।

उद्योग वाणिज्य संघ जुम्लाका उपाध्यक्ष बालकृष्ण बुढाले रैथाने परिकार बजारमा पुर्‍याउन गुणस्तर, प्याकेजिङ र ब्रान्डिङमा ध्यान दिनुपर्ने बताए। निर्यात भइरहेको भए पनि गुणस्तर कमजोर रहेको उनको भनाइ छ। आफ्नै उत्पादनलाई हेला गर्ने प्रवृत्ति अन्त्य गर्न मेला प्रभावकारी हुने उनले बताए।

मेलामा तातोपानी, पातारासी र चन्दननाथ नगरपालिकाका किसान सहभागी छन्। सडक नाटक र देउडा मार्फत रैथाने बाली संरक्षणको सन्देश दिइएको छ। किसानले यस्तो मेला नियमित हुनुपर्ने माग गरेका छन्। जुम्लाको माटो, स्वाद र संस्कृतिलाई जोगाउने प्रयासका रूपमा यो मेला महत्वपूर्ण बनेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार