चन्दननाथ नगरपालिका कृषि शाखाको आयोजनामा तथा कृषि खाद्य प्रणालीको लागि नवीकरणीय उर्जा(RERAS- LI- BIRD/ WFP)को सहयोगमा आगामी २०८२ साल मंसिर २७ गते हुने एक दिने कृषि जैविक विविधता तथा खाद्य परिकार प्रदर्शनी मेला लाग्ने भएको छ।
उक्त मेलाको प्रचारप्रसारका लागि जुम्ला पत्रकार महासंघ र सञ्चारकर्मीहरू बीच पत्रकार सम्मेलन सम्पन्न भएको छ। कार्यक्रम कृषि विकास शाखा कार्यालयमै आयोजना गरिएको थियो।
पत्रकार सम्मेलनमा चन्दननाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर बुढथापाले स्थानीय कृषि उत्पादनको संरक्षण र प्रवर्द्धन नगरपालिकाको प्रमुख प्राथमिकता रहेको बताउँदै प्रदर्शनी मेलाले किसान, उपभोक्ता र सरोकारवालाबीच प्रत्यक्ष समन्वय हुने विश्वास व्यक्त गरे।
उनले जैविक विविधता जगेर्ना र परम्परागत खाद्य संस्कृतिको पुनर्जीवन अहिलेको आवश्यकता भएको स्पष्ट पारे।
सोही कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख क्षेत्र बहादुर महतले सुरक्षित, पोषणयुक्त र स्थानीय उत्पादनको प्रयोगले सामुदायिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने भएकाले मेलाले जनचेतनामा ठूलाे योगदान पुर्याउने उल्लेख गरे।
त्यस्ने चन्दननाथ नगरपालिकाका कृषि शाखा प्रमुख शरद पोखरेलले जुम्लाको कृषि सम्भावना, परम्परागत प्रजाति संरक्षण तथा जैविक कृषि प्रवर्द्धनमा प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिए।
उनले किसानका नवीन उत्पादन, मौलिक बिउविजन तथा स्थानीय खाद्य परिकार एकै ठाउँमा प्रदर्शन गरिनु जिल्लाको कृषि पहिचान मजबूत बनाउने अवसर भएको बताए।















