सोमबार, २ असार, २०८२

भक्तपुरका राजनीतिक पार्टी: भोटका लागि सरकारी सम्पत्तिमा लुट, राजस्वमा छुट!

भोटको लोभले सरकारी सम्पत्ति स्वाहा पार्नेले देश र जनताको विषयमा आवाज उठाउन सुहाउँदैन। भक्तपुर निर्वाचन नम्बर २ मा कहिले काँग्रेस, एमाले त कहिले नेमकिपाले जितेको छ। एमालेका पूर्वसांसद महेश बस्नेतलगायत विभिन्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिले पनि हजारौँ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लगेका छन्।

भक्तपुर नगरपालिका–१, सिर्जनानगर पर्छ। नगरपालिकाले त्यस क्षेत्रको फोहोर सङ्कलनबापत वार्षिक दुई सयदेखि तीन सय रुपैयाँ लिँदै आएको छ। यहाँको नेवा: समुदायसँग फोहोरबापत दुई सय रुपैयाँ लिइन्छ भने बाहिरी जिल्लाबाट आएर घर बनाएकाहरूसँग तीन सय रुपैयाँ असुलिन्छ।

कतिपय घरधनीले नगरपालिकामा फोहोरको दर्ता नै गरेका छैनन्। वर्षमा दुई–तीन सय रुपैयाँ तिर्न पनि उनीहरूलाई सास्ती छ। नगरपालिकालाई दुई–तीन सय रुपैयाँ नतिर्ने घरधनीहरूले डेरावालसँग मासिक तीन सयदेखि साढे तीन सयसम्म असुलिरहेका छन्। यस क्षेत्रमा भएका अधिकांश घरमा इनार छ।

रोचक कुरा के भने, घरधनीहरूले इनारकै पानीको पैसा असुलिरहेका छन्। नगरपालिकाले भोटका लागि पानी निःशुल्क गरेको छ। धारा जोडिएको छ, पानी आउँछ तर नगरपालिकाले घरधनीबाट पैसा उठाउँदैन। घरधनीले भने भाडावालसँग मासिक दुई–तीन सयको दरले उठाउँछ।

यहाँ पुराना घरमा धारा जोडिएको छ, नयाँमा जडान हुन बाँकी छ। त्यस्ता घरमा इनार छन्। भाडामा बस्नेले इनारको पानीको पनि पैसा तिर्नुपर्ने बाध्यता छ। यहाँका घरधनीले एउटा कोठाको पाँच हजारदेखि आठ हजारसम्म मासिक भाडा असुलिरहेका छन्। एउटा सटरको मासिक ३० देखि ४५ हजार बुझाउने व्यवसायीहरू छन्।

फ्ल्याटको भाडा २० हजारभन्दा माथि नै छ। यो ठाउँमा पसल राख्ने कसैको पनि दर्ता छैन। वर्षौँदेखि उनीहरू दर्ताबिना पसल सञ्चालन गरिरहेका छन्। यहाँका घरधनीले नगरपालिकालाई घरबहाल कर तिर्दैनन्। यो ठाउँको जग्गा ऐलानी, सरकारी र गुठीको हो।

वृद्धवृद्धाहरूका अनुसार २०३० सालअघि त्यस क्षेत्रमा एउटा छाप्रो पनि थिएन। सल्लाघारीको आर्मी ब्यारेकमुनि रहेको गणेशथान, दुवाकोट जाने टर्निङबाट यता, हनुमन्ते खोलाभन्दा यता र सिर्जनानगर ऐलानी, सरकारी र गुठीको जग्गामा पर्दथ्यो। हाल उल्लेखित क्षेत्रमा हजारौँ घर बनेका छन्।

७६ जिल्लाका बासिन्दाले यहाँ जग्गा किनेर घर बनाएका छन्। यहाँ जग्गा आनाको २५ देखि ८० लाखसम्म किनबेच भइरहेको छ। यहाँ भएको हजारौँ रोपनी सरकारी, गुठी र ऐलानी जग्गा मासिएको छ। वडा नम्बर–१ का वडाध्यक्ष श्याम खत्री नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का हुन्। भक्तपुरका मेयर सुनिल प्रजापति पनि नेमकिपाबाटै निर्वाचित भएका हुन्।

सांसद पनि नेमकिपाकै छन्, प्रेम सुवाल। सल्लाघारी आर्मी ब्यारेकमुनि रहेको गणेशथानबाट केही तल एउटा ढुङ्गेधारा छ। त्यहाँ पानी जमेर सर्वसाधारणलाई पैदल हिँड्नै सास्ती भएको छ। गन्हाएर हिँड्नै सकिँदैन। इवामुरा अस्पताल छेउ एउटा कुवा छ। कुवाको छेउमा घरैघर छन्।

कुवा नै मिचेर घर बनाइएको छ। ढुङ्गेधारा र कुवा सार्वजनिक सम्पत्ति हुन्। तर, नगरपालिकाले न संरक्षण गरेको छ न सरसफाइ। सरोकारवाला निकायले सो कुवा नै धरापमा परेको छ। सल्लाघारीको चौरअगाडि तीनवटा ढुङ्गेधारा भएको बुढापाकाहरू बताउँछन्। बिकुलाल ख्याउँजुले तीनवटा ढुङ्गेधारा पुरेर घर बनाएका छन्।

उनको घरमा विभिन्न पसल सञ्चालनमा छन्। तत्कालीन राजपरिवारले सल्लाघारीको १०८ रोपनी जग्गा प्रति आना हजार रुपैयाँमा त्यहाँका बासिन्दासँग खरिद गरेको थियो। यो जग्गा अहिले नेपाल ट्रस्टको कार्यालयको नाममा गएको छ। १०८ रोपनी भएकोमा अहिले ६५–७० रोपनी मात्र बाँकी छ।

बाँकी सबै अतिक्रमण गरेर घर बनाइएको छ। बाँकी जग्गा पनि नेमकिपाले ख्वप कलेज बनाउने नाममा मागिरहेको छ। सस्तोमा विद्यार्थी पढाउने भन्दै उनीहरूले पास नै गरेर लैजान लबिङ गरिरहेका छन्। यस क्षेत्रमा बनेका केही घरको मात्र नक्सा पास छ। अधिकांशले नक्सा पास नै गरेका छैनन्।

एउटा भौतिक संरचना नभएको ठाउँमा २०३२ सालपछि बसोबास सुरु भयो। २०३२ सालमा एक जनाले छाप्रो हाले। त्यसको तीन वर्षपछि अर्थात् २०३५ सालमा त्यहाँ एउटा सानो कच्ची इँटाको छाप्रो बनाइयो। त्यतिखेर देशमा पञ्चायती व्यवस्था थियो। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले आफू भूमिगत भएको बेलामा त्यहाँको जग्गा हडप्न लगाएको स्थानीयहरू बताउँछन्।

आफू नदेखिए पनि उनले आफ्ना कार्यकर्तालाई सरकारी, ऐलानी र गुठीको जग्गा कब्जा गर्न लगाए। २०४६ सालमा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आएपछि सो क्षेत्रको जग्गा सबै व्यक्तिको नाममा गयो। त्यसमा नेमकिपाकै हात छ। धमाधम आफ्ना कार्यकर्ताको नाममा सो जग्गा दर्ता गरियो।

भक्तपुरमा दुई निर्वाचन क्षेत्र छन्। भक्तपुर निर्वाचन क्षेत्र १ मा नेमकिपाले लगातार जीत हासिल गरिरहेको छ। २०४८ देखि २०७० सालसम्म बिजुक्छे निर्वाचित भए। २०७४ र २०७९ को निर्वाचनमा प्रेम सुवाल निर्वाचित भए। जो आए पनि आखिर नेमकिपाकै हुन्।

७६ जिल्लाका मध्ये कसैले तीन आना त कसैले आठ आना जग्गा किनेर घर बनाएका छन्। जसमा बाहिरी जिल्लाका स्थानीय नेतादेखि कार्यकर्ता, अधिवक्ता, बहालवाला तथा भूतपूर्व सरकारी कर्मचारी, सुरक्षाकर्मीलगायत छन्। पहिले एमाले र काँग्रेसलाई भोट हाल्दै आएका उनीहरू अहिले मन नहुँदाहुँदै नेमकिपालाई भोट हाल्छन्।

कारण हो–जग्गा सरकारको नाममा जाने डर। सरकारी, ऐलानी र गुठीको जग्गा किनेर घर बनाएकाहरूसँग अब कुनै विकल्प नै छैन। आफ्नो घरजग्गा बचाउनका लागि उनीहरूले नेमकिपालाई भोट हालिरहेका छन्। भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले एक समय गुठीको जग्गा व्यक्तिको नाममा गरिदिने निर्णय गरेको थियो।

त्यतिबेला गुठी मात्र होइन, ऐलानी, सरकारी, आर्यघाट, मठमन्दिर, जङ्गल, खोलानाला, तालपोखरी, कुवा, ढुङ्गेधाराको जग्गा व्यक्तिको नाममा गयो। देशको सङ्घीय प्रशासनिक केन्द्र भएको स्थानमा त सरकारी सम्पत्ति धमाधम व्यक्तिको नाममा लैजाने काम भइरहेको छ भने बाहिरी जिल्लाको अवस्था के होला?

पार्टीको आडमा तिनका कार्यकर्ता र भूमाफियाहरूले सरकारी सम्पत्ति केही छोडेनन्। भोटका लागि नेमकिपाले राज्यलाई कतिसम्म नोक्सान गर्छ? यो छर्लङ्ग भइसकेको छ। सिर्जनानगर त एउटा उदाहरण मात्र हो, नगरपालिकाअन्तर्गत रहेका स्थानमा सोही अवस्था छ।

कर पनि नउठाउने, व्यवसाय पनि दर्ता गर्न नलगाउने, फोहोरको पैसा पनि वार्षिक रूपमा उठाउने, सरकारी सम्पत्ति खान दिने अनि स्थानीयलाई भोट बैंक बनाउने। २०४८ सालदेखि भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा निरन्तर जितिरहेको नेमकिपा आजसम्म सरकारमा गएको छैन।

कारण स्पष्ट छ–आफूले गरेका गल्तीहरू खोतलिने डर। प्रेम सुवाल सधैँ बोल्नका लागि समय माग्छन्। ठूला कुरा गर्छन्। जुनसुकै विधेयक आए पनि उनले विरोध गर्छन्। आफूले गरेको भने नदेख्ने अनि अरूमाथि औँला ठड्याउने! पहिले आफूले के गरेको छु? भनेर मनन गर।

भोटको लोभले सरकारी सम्पत्ति स्वाहा पार्नेले देश र जनताको विषयमा आवाज उठाउन सुहाउँदैन। भक्तपुर निर्वाचन नम्बर २ मा कहिले काँग्रेस, एमाले त कहिले नेमकिपाले जितेको छ। एमालेका पूर्वसांसद महेश बस्नेतलगायत विभिन्न पार्टीबाट निर्वाचित जनप्रतिनिधिले पनि हजारौँ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा लगेका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थित सुशील भैरवथानको जग्गा जनप्रतिनिधिले नै मिचेका छन्। मन्दिरको जग्गामा वडाध्यक्ष राजकुमार जोशी, प्रेम जोशी र श्याम जोशीले घर बनाएका छन्। उनीहरूको घर मन्दिरभन्दा ठूलो छ। वडाध्यक्ष जोशीको घरभन्दा मुनि त्यहाँ ढुङ्गेधारा र गाईभैँसीले पानी खाने आल थियो। आलको छेउमा भएको पिपलको बोट अहिले पनि छ।

आलभन्दा मुनि चौर थियो। त्यो चौर पनि नेमकिपाका कार्यकर्ताले कब्जा गरेका छन्। त्यहाँ अहिले भव्य बस्ती छ। सूर्यविनायक नगरपालिका भाडामा बसेको पुरानो भवन र अहिलेको नयाँ भवन अगाडि र छेउछाउ भएको सबै जग्गा सरकारी हो। काँग्रेस, एमाले र नेमकिपाले भक्तपुरको सबै सरकारी सम्पत्ति दर्ता गरेर खाएका छन्। यिनीहरू पार्टी होइनन्, जग्गा दलाल गर्ने कम्पनी हुन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार