बिहीबार, २८ फाल्गुन, २०८२

विद्यार्थी राजनीतिमा उदाउँदै गरेकी सुष्मा शाही नेतृत्वका लागि तयारीमा!

उनी क्याम्पसमा पारदर्शी आर्थिक प्रणाली स्थापना गर्ने, गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति कोषलाई विस्तार गर्ने र पठनसामग्री पहुँचमा सहजता ल्याउने प्रतिबद्धता जनाउँछिन्।

दाङको लमही नगरपालिका निवासी सुष्मा शाही आजका दिनमा काठमाडौं उपत्यकाको विद्यार्थी राजनीति र सामाजिक अभियन्ता वृत्तमा परिचित नाम बनिसकेकी छन्।

विद्यार्थी जीवनको सुरुआतदेखि नै सामाजिक कार्यमा अग्रसर रहेकी सुष्माले पाटन संयुक्त क्याम्पस, पाटनढोकामा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुको तर्फबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्।

सामाजिक उत्तरदायित्वप्रति दृढ विश्वास राख्ने सुष्मा विगतका दिनमा दाङ र काठमाडौं–ललितपुर क्षेत्रमा युवाहरूलाई सचेत गराउने अभियानहरूमा नेतृत्वदायी भूमिकामा देखिएकी छन्।

बाल्यकालदेखि नै नेतृत्वको रुचि भएकी सुष्माले विद्यालय तहमा विभिन्न क्लबहरू सञ्चालन गरिन्, जसले उनलाई विद्यार्थी राजनीतिमा प्रवेश गराउने बाटो खोलेको थियो।

सुष्माले स्नातक तहको अध्ययनका क्रममा पाटन संयुक्त क्याम्पसमा भर्ना भएपछि अनेरास्ववियुसँग आबद्ध भइन्। संगठनमा आबद्धता मात्र होइन, उनले विभिन्न समयमा क्याम्पसभित्र भएका विद्यार्थी समस्याका मुद्दाहरू उठाउँदै समाधानसम्म पुर्‍याउने काम गरिन्।

चाहे क्याम्पसमा शैक्षिक शुल्क वृद्धिको विरोध होस् वा छात्रवृत्ति वितरणको सवाल, सुष्मा सधैं विद्यार्थीका पक्षमा डटेर उभिएकी छन्।

हालै सम्पन्न क्याम्पसस्तरीय पुस्तकालय सुधार अभियानमा पनि सुष्माको सक्रिय सहभागिता रह्यो। ‘हामीले पठनपाठनको गुणस्तर सुधार नगरी विद्यार्थीको समग्र विकास सम्भव छैन,’ सुष्मा भन्छिन्।

यही सोचका साथ उनले क्याम्पसमा अध्ययन सहजीकरण कार्यक्रम सञ्चालन गरिन्, जसमा सयौं विद्यार्थी लाभान्वित भए।

राजनीतिमा विश्वासको विषयमा सुष्मा भन्छिन्, ‘विद्यार्थी राजनीति केवल नाराबाजी र प्रदर्शनसम्म सीमित हुनुहुँदैन, यो शिक्षालयको विकास र विद्यार्थीका समस्या समाधान गर्ने केन्द्र बन्नुपर्छ।’

स्ववियुको कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएपछि सुष्माले आगामी योजना सार्वजनिक गरेकी छन्।

उनी क्याम्पसमा पारदर्शी आर्थिक प्रणाली स्थापना गर्ने, गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति कोषलाई विस्तार गर्ने र पठनसामग्री पहुँचमा सहजता ल्याउने प्रतिबद्धता जनाउँछिन्।

उनको उम्मेदवारीलाई क्याम्पसभित्र व्यापक समर्थन प्राप्त भइरहेको छ। अनेरास्ववियुका जिल्ला अध्यक्ष अमन थापाले सुष्मालाई ‘निष्ठावान् र कर्मशील कार्यकर्ता’ भन्दै उनको उम्मेदवारीले संगठन र विद्यार्थी दुवै पक्षलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

त्यसैगरी, क्याम्पसकी अर्की विद्यार्थी सिर्जना खड्का भन्छिन्, ‘सुष्मा दिदी हाम्रो आवाज सुनिदिने नेत्री हुनुहुन्छ। उहाँले हामी गरिब विद्यार्थीहरूका लागि आवाज उठाउँदै आउनु भएको छ।’

सुष्माको राजनीतिक यात्राले विद्यार्थी मात्र होइन, आम युवाहरूमा पनि सक्रिय सहभागिता र नेतृत्वप्रतिको प्रेरणा दिएको देखिन्छ। दाङ, लमहीकी छोरी भएर काठमाडौंको प्रतिष्ठित शिक्षालयमा नेतृत्वमा पुग्नु आफैंमा उदाहरणीय छ।

यतिखेर पाटन संयुक्त क्याम्पसको स्ववियु निर्वाचन नजिकिँदै गर्दा विद्यार्थीहरूबीच उम्मेदवारको चर्चा चलिरहेको छ।

शनिबार स्ववियु निर्वाचन हुँदैछ। निर्वाचनमा काम गर्नका लागि उम्मेदवार भएकाले सबै मतदाता विद्यार्थीहरूले भारी मतले आफूलाई विजयी बनाउने विश्वास सुष्माको छ।

सुष्मा शाही आफ्नो स्पष्ट कार्ययोजना र विगतका योगदानका कारण अन्य उम्मेदवारभन्दा फरक पहिचान बनाउन सफल देखिएकी छन्।

‘विद्यार्थीका हकहितका लागि म सधैं अग्रसर रहनेछु,’ सुष्माको प्रतिबद्धता छ। उनले थपिन्, ‘हामीले शिक्षालयलाई केवल डिग्री प्रदान गर्ने संस्था होइन, सामाजिक रूपान्तरणको थलो बनाउनुपर्छ। त्यसका लागि विद्यार्थी एकताबद्ध हुनु आवश्यक छ।’

सुष्माको उम्मेदवारी पद प्राप्तिका लागि प्रतिस्पर्धा नभएर लामो यात्राको स्वाभाविक विस्तारजस्तै देखिएको छ। विद्यार्थी राजनीतिमार्फत सामाजिक परिवर्तनको सपना देख्ने युवाहरूका लागि उनी आज नेतृत्वको वैकल्पिक उदाहरण बनेकी छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार