सोमबार, २ असार, २०८२

जनप्रतिनिधि, जनश्रम र जनता

देश बनेन् भन्नेहरु, बनाउने कर्म आफू गर्दैनन्। कार्यक्रम पनि ल्याउँदैनन्। श्रमजीवीका नेता भन्छन्। त्यस्ता पनि छैनन्। दलाली र चाकरीका भरमा राज्यकोषमा हालीमुहाली गर्छन्। जनकम्युनहरु निम्नवर्गीय जनताको नेतृत्व र उसको नेतृत्वको सत्ताबाट आधारभूत समस्याको समाधानको उपज भनि दिन्छन्। तर राज्यकोषको बजेटमाथि तामझाम र मोजमस्तीमा डुबेकाहरुले जनतासँग देश बनाउने श्रमदान गरेका छैनन्।

नेपालको इतिहासमा समाजवाद उन्मुख बनाउन सबैभन्दा पहिले प्रत्येक नेपालीले विकास भन्ने सट्टा चेतनामा विकास हुन आवश्यक ठान्नुपर्ने देखिन्छ। योजनामा कतै कतै कमाउनेमा उद्धत व्यक्तिहरूले फिल्डमा विकास होइन, चेतनामा विकास आवश्यक रहेको हो कि भन्ने मेरो ठम्याइ रहेको छ। मार्क्स-लेनिनभन्दा पनि पर जाँदा जबजको मार्गनिर्देशन हुने गरी, अर्थात् खासगरी कम्युनिष्टहरूले बोल्ने भाषा—जनकम्यून, जनसत्ता र समाजवाद—जो जनतासँग प्रत्यक्ष जोडिएका तीन मर्म मानिन्छन्, त्यसमा ध्यान दिनुपर्छ।

जनताका आवश्यकतामा आधारभूत परिवर्तन ल्याउन कम्युनिष्ट पार्टिका नेता, कार्यकर्ता र समर्थकहरूको सम्बन्धलाई श्रमसँग जोडेर ल्याउन खोजिएको परिवर्तनलाई जनकम्यून भनिएको हो। अर्थात् जनताको प्रत्यक्ष सहभागिता रहेको, श्रमजीवी वर्गको साइनो बलियो भएको पार्टी कम्युनिष्ट वा सबै जनता र उनका छोराछोरी कम्युनिष्ट, कम्युनिष्ट आदर्श, मूल्य-मान्यता बोकेको मार्क्सवादी-लेनिनवादी जनसंगठन र उनीहरूको भविष्यप्रतिको आदर्श समाजवादी व्यवस्था भन्ने हो। जहाँ जनता, नेता र व्यवस्थाका प्रतिनिधिहरू प्रत्यक्ष श्रममा संलग्न हुन्छन्। जनश्रमले विकास निर्माणदेखि सामूहिकतामा जोड दिँदै यसका नेता अर्थात् क्याडरहरू जनताको प्रतिनिधित्व समेत श्रमबाट जन्मन्छन् र कर्म देश र जनताको सेवामा समर्पित गराउँछन्। यो शैद्धान्तिक मूल्य र मान्यता हो। जसले सत्ताको बागडोर सम्हाल्छन्, उनीहरू पनि देश निर्माणका अगुवा हुनुपर्छ। उनका आचरण, व्यवहार र कर्मबाट समाज विकास हुनुपर्छ।

यो शैद्धान्तिक कुरा हो। यथार्थमा अहिले देशमा न त जनवादी व्यवस्था मान्ने कम्युनिष्ट छन्, न त समाजवाद उन्मुख भनिएअनुसारको कर्म गर्ने जनकम्यून सत्ता छ। कम्युनिष्ट पार्टिको मूल्य, मान्यता र सिद्धान्तअनुसारको व्यवहार गर्ने कम्युनिष्ट पार्टिहरूले आफ्नो आदर्श, विचार र कर्म छाडेको धेरै भइसक्यो। तर अझै “तपाईं होइन, मपाइ” भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ। आफूलाई कम्युनिष्ट भनिरहेका छन्, तर उनका कार्यकर्ता उनीहरूको आचरण र कर्मलाई स्वीकार गरिरहेका छन्। कम्युन व्यवस्थाको शैद्धान्तिक वकालत गर्ने तर बुर्जुवा व्यवस्थाका दायाँपन्थीहरूको लोगो र झण्डा कम्युनिष्टको छ। जनतालाई भ्रममा राख्ने केही नारा कम्युनिष्टका छन्। जो सुकै आलोचनात्मक चेत भएको द्वन्द्ववादीले आफ्नो स्वतन्त्र ढंगले नेपालको कम्युनिष्ट आन्दोलन वा उनीहरूको वर्तमान वर्गीय चरित्रको स्व-अध्ययन गर्यो भने, यहाँभन्दा पर जान सकिंदैन। नेपालमा बाटो हराएका कम्युनिष्ट नामका पार्टि र नेताहरू छन्, जसलाई नाजायज कार्यकर्ताहरूको समर्थन छ।

राज्य व्यवस्थाको बागडोरमा कतै न कतै यिनीहरूको कर्म नेपाली जनताले व्यहोरेका छन्। कम्युनिष्टहरूको कथनी र करणीमा ठोस फरकपन छैन। विकासको नाममा विनाश भएको, जे गरे पनि हुन्छ भन्ने मानसिकताले आफ्ना आसेपासेलाई अगाल्ने परिपाटीका कारण द्वन्द्व सृजना भएका घटना ताजा छन्। विकासको नाममा मनपरितन्त्र हाबी भएको छ। जो कोही व्यक्तिलाई जनपक्षीय हिसाबले हेर्ने दृष्टिकोणमा फरकपन पक्कै छ। अनेकताको एकतासहितको सत्ता माजोहिलामा भने के कम्युनिष्ट, के कांग्रेस—एक रथका दुई पाङ्ग्रा हुन्। मिलेर एकै चिन्हमा चुनाव लड्छन्। जनतामा भ्रम पनि कति गज्जबको छ। नसुध्रिएका कम्युनिष्टहरू कांग्रेससित मिलेर चुनावमा आउँदा पनि त्यसका कार्यकर्ता उफ्रेर आफूलाई “लेफ्टिस्ट” र समाजवादी व्यवस्थाका अगुवा भनिदिनुपर्ने? देश बनाउन माटो छुनु नपर्ने तर देश स्वीजरल्याण्ड हुन्छ भन्दा ताली ठोक्नुपर्ने? त्यसको फलस्वरूप देशलाई ऋणमा थोपरेर जनतालाई कम्पारो ठोक्ने बनाउने यिनै नेता र पार्टिहरू होइनन्? यिनका समर्थकहरूको चेत कहिले खुल्ने?

देश बनेन भन्नेहरू, बनाउने कर्म आफू गर्दैनन्। कार्यक्रम पनि ल्याउँदैनन्। श्रमजीवीका नेता भन्छन्, तर त्यस्ता पनि छैनन्। दलाली र चाकरीका भरमा राज्यकोषको ढुकुटीमा हालीमुहाली गर्छन्। जनकम्यूनहरू निम्नवर्गीय जनताको नेतृत्व र उसको नेतृत्वको सत्ताबाट आधारभूत समस्याको समाधानको उपज भनी दिन्छन्। तर राज्यकोषको बजेटमा तामझाम र मोजमस्तीमा डुबेकाहरूले जनतासँग देश बनाउने श्रमदान गरेका छैनन्। यत्ति कुरा नजान्ने र नबुझ्ने गिदी किन चाहियो, मलखाद भन्दे हुन्न?

जबसम्म जनताका प्रतिनिधिहरू जनतासँग जनश्रम गरेर देश निर्माणको बाटो अवलम्बन गर्दैनन्, तबसम्म राष्ट्र विकास हुँदैन। वर्ग उत्थान होइन, वर्ग समन्वय र बुर्जुवा शासकको अगुवाइबाट समाजवाद यो व्यवहारबाट कहिल्यै आउँदैन। कागज र भाषणमा जति बोल्नेहरूबाट अब कति भरोसा गर्ने? देशमा अनेक अवैध धन्दा गर्नेहरू नेता छन्। कानूनी छिद्रमा छिरेर होस् वा कानून नै मिचेर वा कानून संशोधन गरेर पनि देश लुट्ने पार्टिहरू छन्। एक्लै भएन, उनीहरू मिलेर पनि देशलाई खोक्रो बनाउन उद्धत छन्। देशप्रति कुनै योगदान छैन। न उनीहरूप्रति जनतामा आशा-भरोसा नै छ। देश कंगाल बनाएको देख्दा देख्दै ताली पिट्ने गैरजिम्मेवार तिनका कार्यकर्ता र समर्थकहरू पनि यो देशका घातक हुन्। उनले समर्थन गरेका नेता हुन् वा पार्टी चुपचाप समर्थन गर्ने प्रवृत्तिले देश नबनेको हो। अब केही सचेतहरू पार्टीका नेता छाडेर स्वतन्त्रतिर लागेका देखिन्छन्। कारण अहिलेका दल र नेताले गरेका बदनामीपूर्ण कर्मप्रति सचेतता अपनाइएको पनि हो।

आफ्नो दर्शन, नीति र विचारमा श्रम र श्रमजीवी जनताको उत्थान, उत्पीडनको अन्त्य लेख्ने, बोल्ने दल र नेताहरूलाई धराने साङपाङले उनका कर्मबाट नैतिक संकट उत्पन्न गराइदिएका छन्। उनै जनप्रतिनिधि जो महानगरको मेयर जनतासँग प्रत्यक्ष श्रम गरिरहेका छन्। उनै जनप्रतिनिधिहरू जो यो देशका ७५२ स्थानमा निर्वाचित भएर गाडी, कुर्सी र भत्ताको शेयर गरिरहेका छन्। खोला किनारमा ढुँगा, बालुवा र गिट्टी उठाउनेले देश बनाउला कि कार्यकर्ता, नेता र आफू पालिने दलाल मनोवृत्तिका बाँकी जनप्रतिनिधिहरूबाट देश बन्ला? आम नागरिकमा उठिरहेको प्रश्न यही हो। देश बनाउने नभइ लुट्नेहरूलाई श्रीलङ्काका जनताले खेदाए जसरी भोलि यिनीहरू समेत सुरक्षित र सम्मानित देखिंदैनन्। अर्कातिर देश बन्न नागरिक र भोटहाल्ने भोटरहरू नेता र पार्टिका पुच्छर वा दलाल होइनन्, स्वतन्त्र हुन सक्नुपर्दछ। जनवसम्म मतदाता स्वतन्त्र हुँदैनन् तबसम्म यहाँका पार्टि र तिनका नेताले देश बनाउने कर्म गर्दैनन्। मौकामा पैसाले चुनाव जित्ने, पैसामा मत बेचिने र देश खोक्रो हुँदासम्म पनि नागरिकहरू “मेरो पार्टी, मेरो नेता” भनेर अन्धो समर्थक बन्दासम्म यो देशको कालो बादल हट्ने छैन।

जनविरोधी जनकम्यूनहरूको गणतन्त्र वा राष्ट्रविरोधी प्रजातान्त्रिक व्यवस्था उन्नत भनिएला तर व्यवहारतः सार्थकता, नैतिकता र शैद्धान्तिक हिसाबले समेत मरेको व्यवस्था बनाउन खोजिएको तन्त्र फेरेर देश बन्दैन। देशको शक्ति बेच्ने, राज्यकोष भागबण्डा गरेर घिच्ने र ऋणको भूमरीमाथिको गणतान्त्रिक व्यवस्था जनता उल्लू बनाउन नेताले ल्याएको हो। स्वार्थी र निकम्मा दलाल कार्यकर्ताको राजमा हर्षबढाइ हुँदैमा जनताको जनजीवन फेरिने व्यवस्था यो होइन र हुँदैन। नभए श्रमजीवी जनताको नेता सत्ता स्वार्थको साझेदारीबाट जनप्रतिनिधि भएर जनताप्रति दलाली र गद्दारी किन गरिरहेका छन्? कहिले होलान् जनताप्रति उत्तरदायी जनप्रतिनिधि, चेत खुल्ने दिन कहिले आउला? ५ वर्षको म्यान्डेट बोकेर आएका जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुन शुभकामना।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार