एकपटक फालिएको राजा फेरि ल्याउनका लागि आन्दोलन हुन्थ्यो? नेताहरु सुध्रिने हो भने यो व्यवस्था संकट पर्दै पर्दैन। देशमा विकास हुन्छ, जनताले सुःख पाउलान् भनेर पूर्वराजा ज्ञानेन्द्रले दरबार छोडिदिए। राजाजस्तो व्यक्ति नागार्जुनको जंगलमा गएर नागरिक भएर बसेका छन्। नेताहरुले के गर्छन्? त्यो त राजाले पनि हेरिरहेका छन्।
‘मार्सी चामलको भात, व्यवस्थामाथि आउँदैछ संकट!’ एमाले अध्यक्षसमेत रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा मार्सी चामलको भात खाएको धेरैलाई स्मरण होला। २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री हुनअगाडि प्रसाईंको घरमा भात खान पुगेका थिए। साथमा प्रचण्ड पनि थिए।
दुबैलाई प्रसाईंले मार्सी चामलको भात खुवाएको तस्बिर बाहिरिएको थियो। सर्वसाधारणले कहिल्यै नदेखेको मार्सी चामल त्यसपछि हाहाकारसमेत हुन पुग्यो। त्यतिबेलै हो, प्रचण्ड र ओलीबीच आधाआधा कार्यकाल सरकार चलाउने सम्झौता भएको। उनीहरुले ६ बुँदै सम्झौता गरेका थिए, जसमा ३० महिना ओलीले र अर्को ३० महिना प्रचण्डले चलाउने मेन थियो।
त्यस्तै, पार्टी अध्यक्ष प्रचण्डले चलाउने सम्झौता पनि भएको थियो। रोचक प्रसंग के भने, प्रसाईं कुनै राजनीतिक दलको नेता थिएनन् न अभियन्ता नै थिए। बस्, एउटा व्यापारी थिए, जसले आफ्नो नाफाको विषयमा मात्रै सोच्छ। आफू चर्चामा आउन र झापाको बिएण्डसी अस्पतालको स्वीकृति पाउनका लागि प्रसाईंले आफ्नो घरमा भात खुवाएका थिए। प्रसाईं कुनै राजनीतिक दलका नेता थिएनन्। न उनी कुनै अभियन्ता थिए।
आफू चर्चामा व्यापारीको घरमा पुगेर सरकार गठनको सम्झौता गरियो। अहिले त्यही व्यापारीले यिनीहरुको चर्को खोइरो खनिरहेको अवस्था छ। यतिसम्मकी प्रसाईं व्यवस्थालाई नै संकटमा पार्न लागिपरेका छन्। प्रसाईं एक खुन्खार व्यापारी हुन्। उनले एक करोड पर्ने घरजग्गा धितो राखेर बैंकबाट ११ अर्ब ऋण लिइसकेका छन्। अब आफैं बुझौं, उनले कसरी मान्छेलाई चलाउँछन्?
आफ्नो फाइदाका लागि उनी कहिले एमाले बने त कहिले माओवादी। तर, दुबैतिरबाट आफ्नो काम नभएपछि उनी राजातिर ढल्किएका छन्। देशमा राजा चाहिन्छ भन्दै हिँडेका छन्। उनले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि धावा बोल्न थालिसकेका छन्। आफ्नो स्वार्थ पुरा नभएकाले उनी व्यवस्थाको विरोधमा लागेको प्रष्टै भएपनि जनता उनको भाषण सुन्न पुगिरहेका छन्, ताली पड्काइरहेका छन्, किन?
जवाफ सहज छ, त्यो हो जनताको व्यवस्थामाथि पैदा भएको अविश्वास। व्यवस्थालाई प्रसाईंजस्ताले होइन्, नेताहरुले नै खाडलमा लगेर हाल्ने काम गरे। जसका कारण १७ हजार जनताको छोराछोरी शहिद भएर आएको व्यवस्थामाथि कालो बादल मडारिएको छ। व्यवस्था परिवर्तनको लडाइँमा हजारौ अंगभंग भएका छन्, हजारौंले ज्यान फालेका छन् भन्ने कुरा नेताहरुले बिर्सिए।
व्यापारीले भात खान बोलाए, नेताहरु खान नपाएझैं पुगिहाले। व्यापारीको घरमा खाना खान जानुहुँदैन्, उनीहरुको स्वार्थ जोडिएको हुन्छ भन्ने कुरा नेताहरुले बुझेनन्। मान्छे केलाउन सिकेका प्रसाईंले नजिकबाट नेताहरुलाई नियाले, अहिले त्यसैले ‘वार’ गरिरहेका छन्। वास्तवमा भन्ने हो भने नेताहरुलाई यो व्यवस्थाप्रति अलिकति पनि लगाव छैन। आफ्नो योगदान भएको भए पो लगाव हुन्छ, चिन्ता हुन्छ।
व्यवस्थाका लागि जनताको छोराछोरी मरेका छन्। आफ्नो कुनै आफन्त गुमाउनुपरेको भए पो ओली, प्रचण्ड, बाबुराम भट्टराई, शेरबहादुर देउवा, माधव नेपालजस्तालाई माया हुन्थ्यो। आफ्नो छोराछोरी ठाउँमा पुर्याए, सात पुस्तालाई पुग्ने सम्पत्ति कमाए अनि किन व्यवस्थाको मतलब हुन्थ्यो? प्रचण्डले आफ्नी छोरीलाई मेयर, स्वकीय सचिव, भाइलाई सभामुख र बुहारीलाई मन्त्री बनाए। बाबुरामले छोरीलाई यसअघिको निर्वाचनमा उठाएका थिए।
जनताका छोराछोरीले भने एक पेट टन्न खान पाएका छैनन्। उपचार नपाएर तड्पिएका छन्। देशको खातिर लडेकाहरु मरिहाले, यी मुकुट लगाएर देशप्रेमीहरु भ्रष्टाचारी हुन्। जब व्यवस्था परिवर्तनको लडाइँ हुँदैथियो, प्रचण्ड र बाबुरा भारतमा थिए। ओली र देउवा राजाको सरकारमा मन्त्री र प्रधानमन्त्री खाइरहेका थिए। त्यसैले त एउटा व्यक्तिले बोल्दा लोकतन्त्रको जग हल्लियो।
नेताहरुको रातको निद्रा र दिनको चैन हरायो। अहिले राजेन्द्र लिङदेन, ज्ञानेन्द्र शाही, प्रकाशचन्द लोहनीलगायत राप्रपा नेताहरु प्रसाईंको पछाडि लागेका छन्। यता, पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राजगद्दीमा फर्किने संकेत दिएपछि प्रचण्डले सामान्तीहरुले टाउको उठाउन खोजे भने जनताबाट लखेटिने अभिव्यक्ति दिए। यता, ओलीले पनि राजतन्त्र नआउने बताएका छन्। तर, उनीहरुले विगत बिर्सिए।
२०४६ सालमा पञ्चायती व्यवस्था ढालेर जनताले देशमा बहुदलीय व्यवस्था ल्याए। २०६२/०६३ सालमा १९ दिन आन्दोलन भएपछि देशबाट राजतन्त्रको जरा उखालियो। राजा जंगलतिर लागे, देशमा लोकतन्त्र आयो। अब पुनः राजा आउँदैनन् भन्न सकिन्न। किन कि जनताको अगाडि कसको जोर चल्छ र?
जनता उत्रिएपछि पञ्चायती व्यवस्थाले घुँडा टेक्यो, बहुदलीय व्यवस्था हार्यो, राजाले श्रीपेच उतार्नुपर्यो। जनता राजतन्त्र चाहियो भनेर सडकमा उत्रिए भने नेताहरुले देश छोडेर कुलेलम ठोक्नेबाहेक केही गर्न सक्दैनन्। देशका नेताहरुले जनताको आवाजलाई अझै पनि ख्यालख्यालमा लिने हो भने देशमा राजतन्त्र फर्किन धेरै बेर लाग्दैन। विगतदेखि नै जनतालाई नेताहरुले हलुकामा लिए। जनतालाई गन्दैनगन्ने परिपाटीका कारण नेताकै अस्तित्व सकिने अवस्था बनेको छ। लोकतान्त्रिक व्यवस्थाबाट जनता आजित भइसकेका छन्।
बढ्दो मँहगी, बेरोजगारी, ऋण, भ्रष्टाचार, कुशासनले जनता निराश बनेका छन्। जसका कारण राजा चाँहिदैन् भन्नेहरु पनि चाहिन्छको आवाज उठाउन थालिसकेका छन्। २०७२ असोज ३ गते देशमा संविधान आयो। भारतले नेपाललाई नाकाबन्दी गर्यो। त्यतिबेला ग्याँस, इन्धन नपाएर जनतालाई ठूलो समस्या भएको थियो। भारतको विरोध गर्ने एउटै मात्र नेता थिए, केपी ओली।
जनता उनको पक्षमा उभिए। तर, अहिले सबैभन्दा बढी ओलीकै खोइरो खनिएको छ। किनकि उनले तानाशाह व्यवहार देखाएका छन्। उनको नजरमा जनता केही होइनन्। उनी जनतालाई दबाउने कोसिस गर्छन्। झन् उनकै विरोधमा बढी आवाज उठिरहेको छ। हाम्रो पछाडि जनता छन्, सञ्चारकर्मी छन् भन्ने नेताले कहिल्यै सोचेनन्। नेताहरु विलासीमुखी भए।
सम्पत्तिको लोभलालच र परिवारका सदस्यलाई माथि पुर्याउने प्रलोभनका कारण आज व्यवस्था संकटमा पर्यो कि परेन? करोडौंको घडी बाँध्ने, दशौं रोपनी घर बनाउने, दैनिक हजारौंको पानी खाने अनि जनताले यिनीहरुलाई नलखेटेर के गर्ने? राजा चाहियो भन्दै सडकमा आएका जनता हुन्। उनीहरुलाई यी नेता भनाउँदाले सामान्ती भनिदिए। जनताले आफ्नो माग पनि राख्न नपाउने? नेताहरुले मनपरी गर्दा र बोल्न हुने, जनताले आफ्नो हकअधिकार चाहियो भन्न पनि नहुने? नेताहरुले काम गरिदिएको भए, आज जनता पुनः राजतन्त्रको पक्षमा बोल्थे?
एकपटक फालिएको राजा फेरि ल्याउनका लागि आन्दोलन हुन्थ्यो? नेताहरु सुध्रिने हो भने यो व्यवस्था संकट पर्दै पर्दैन। देशमा विकास हुन्छ, जनताले सुःख पाउलान् भनेर पूर्वराजा ज्ञानेन्द्रले दरबार छोडिदिए। राजाजस्तो व्यक्ति नागार्जुनको जंगलमा गएर नागरिक भएर बसेका छन्। नेताहरुले के गर्छन्? त्यो त राजाले पनि हेरिरहेका छन्। नेताहरु आफू गल्ती गर्ने, जनतालाई डेलिभरी दिन नसक्ने अनि दोष राजा र जनतालाई लाएर हुन्छ? गत मंसिरमा ८४ हजार २२६ जनालाई विदेशमा बेचिएको छ। देश रित्तिँदै छ। उता, वैदेशिक ऋण बढेको बढ्यै छ।
यो स्थिति कसले बनाएको? पूर्वराजा ज्ञानेन्द्रले हो? यो गर्ने नेताहरु होइनन्? अब राजालाई गाली गर्ने कि आफूलाई? नेताहरुले ख्याल राखुन्। किनकि एउटा औंला अर्कोतिर तेर्स्याउँदा चार वटाले आफैंतिर देखाउँछ। अझै पनि नेताहरुले यो कुरा बुझेका छैनन्। पूर्वराजा ज्ञानेन्द्र मन्दिरमा दर्शन गर्ने बहानामा जनताको घरमा पुगे। शहिदहरुको घरमा गएर उनीहरुको अवस्था बुझे। जनतासँग राजा नजिक हुँदै गए। नेताहरु दोस्रो राजा बनेर वालुवाटार र दशौं रोपनीमा बनेको महलमा बसे। राजा बनेर शासन चलाउन खोजेका नेताहरुको अब भाग्ने दिन नजिकिँदैछ।
‘अतिले खति गर्छ’ भन्ने कुरा नेताले बुझेनन्। त्यसको परिणाम पनि यिनीहरुले भोग्नेछन्। जनतामाथि शासन चलाउन खोज्दा श्रीलंकाको राष्ट्रपति देश छोडेर भाग्नुपर्यो। बंगलादेशकी प्रधानमन्त्री अर्काको देशमा शरण लिन पुगेकी छिन्। यसपछिको पालो नेताका नेताहरुको हुन सक्छ। जनता भोकभोकै छन्, नेताहरुको मोजमस्ती सकिँदैन्। देश बेचेर ल्याएको पैसा पनि खाने, जनताले तिरेको कर पनि खाने, रेमिट्यान्स पनि खाने अनि जनताले कतिञ्जेल सहने?