नेपालको राजनीतिमा भाषण नयाँ कुरा होइन । तर भाषण र प्रदर्शनको मिश्रणले कहिलेकाहीँ राजनीतिलाई केवल नीतिको बहसभन्दा पनि सार्वजनिक नाटकजस्तो बनाइदिन्छ । यही प्रवृत्तिबीच शाहीले आफूलाई फरक शैलीमा प्रस्तुत गरेका छन् ।
नेपालको राजनीतिमा अहिले “नयाँ” भन्ने शब्द निकै प्रचलित भएको छ । पुराना दल र नेतृत्वप्रति बढ्दो असन्तुष्टिका बीच नयाँ अनुहार, नयाँ अभियान र नयाँ भाषाको खोजी भइरहेको छ । यही परिवेशमा जुम्लाको पछिल्लो चुनावी परिणामले धेरैलाई चकित मात्र बनाएको छैन, सोच्न र मनन गर्न पनि बाध्य बनाएको छ । कारण स्पष्ट छ, यहाँका मतदाताले फेरि एक पटक ज्ञान बहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीलाई जिताएका छन् ।
जुम्ला एक काठमाडौं देखि दुर्गम र पिछडिएको क्षेत्र हो । यो क्षेत्रको राजनीतिक इतिहास हेर्ने हो भने एउटै व्यक्तिले लगातार दुई पटक चुनाव जित्नु निकै दुर्लभ रहेको छ । अर्थात् हालसम्म कुनै पनि व्यक्तिले दोस्रो पटक जितेका छैनन् ।
स्थानीय राजनीतिक उतारचढाव, दलगत प्रतिस्पर्धा र बदलिँदो समीकरणका कारण यहाँ मतदाताको निर्णय प्रायः हरेक चुनावमा फेरिने गरेको देखिन्छ । त्यसैले यसपटक पनि धेरैले परिणाम फरक आउने अनुमान गरेका थिए । तर अन्ततः मतदाताले फेरि उही व्यक्तिलाई रोजे, जसले यसभन्दा पहिले २०७९ सालमा पनि जित हासिल गरेका थिए ।
यसलाई चुनावी जितका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । यसले जुम्लाको समाज र मतदाताको मनोविज्ञान बुझ्न महत्त्वपूर्ण संकेत दिन्छ । शाहीको राजनीतिक यात्रा परम्परागत राजनीतिबाट सुरु भएको होइन । उनी मूलतः भ्रष्टाचारविरुद्ध आवाज उठाउने अभियानका माध्यमबाट सार्वजनिक जीवनमा देखिएका व्यक्ति हुन् ।
केही वर्षअघि मात्र उनले सार्वजनिक रूपमा विभिन्न विषयमा प्रश्न उठाउँदै आलोचनात्मक शैलीमा जनताको आवाज बोल्न थाले । त्यही शैलीले उनलाई जनचर्चामा ल्यायो र विस्तारै उनी राजनीतिक प्रतिस्पर्धाको मैदानमा प्रवेश गरे, त्यो पनि एउटा पुरानो भनिएको पार्टीबाट ।
उनको सबैभन्दा बलियो पक्ष भनेको सरल शब्द, चोटिलो र आकर्षक ढंगले जनभावना बुझ्ने भाषण कला हो । उनी मानिसले सुन्न चाहेको कुरा कसरी भन्नुपर्छ भन्ने जान्ने व्यक्तिका रूपमा परिचित छन् । राजनीतिक भाषण मात्र होइन, कहिलेकाहीँ नाटकीय शैलीमा प्रस्तुत हुने उनका अभिव्यक्तिहरूले पनि ध्यान आकर्षित गर्ने गरेको देखिन्छ ।
नेपालको राजनीतिमा भाषण नयाँ कुरा होइन । तर भाषण र प्रदर्शनको मिश्रणले कहिलेकाहीँ राजनीतिलाई केवल नीतिको बहसभन्दा पनि सार्वजनिक नाटकजस्तो बनाइदिन्छ । यही प्रवृत्तिबीच शाहीले आफूलाई फरक शैलीमा प्रस्तुत गरेका छन् । कसैले यसलाई साहस भन्छन्, कसैले नाटक । तर एउटा कुरा भने स्पष्ट छ—उनको शैलीले मानवीय ध्यान तानेको छ ।
यही सन्दर्भमा एउटा व्यंग्यात्मक कथा सम्झन लायक छ । कथा भन्छ; एकदिन एक जना किसानले राजनीति खेती गर्ने निर्णय गरे । खेती गर्न हलो चाहिन्छ भनेर उनले जंगलका रुख काटे र हलो बनाए । खेतमा पुगेर जोत्न थाले । तर माटो निकै कडा, साह्रो र सुख्खा थियो । हलोले राम्रोसँग माटो चिरेन, या भनौँ सिउँ लागेन ।
किसानले सोच्यो, ‘यो खेतलाई त पानी चाहिएको छ ।’ त्यसपछि उनले आकाशमा बादल बोलाउन थाले । सुरुमा दिनमा बादल लगाए । पछि रातिमा पनि बादल बोलाउन थाले । दिन र रात दुवै समयमा आकाश बादलले ढाकिन थाल्यो । बिस्तारै सूर्य देखिन छोड्यो, रात सजाउने तारा पनि ओझेल परे ।
गाउँका चौतारा र चिया पसलमा बस्नेहरूले आलोचना गरे, ‘खेत जोत्न खोज्दा यसले त आकाशै ढाकिदियो ।’ तर खेतमा पस्नेहरूले भने अर्को कुरा देखे—धेरै वर्षदेखि सुख्खा परेको माटो बिस्तारै भिज्न थालेको थियो ।
अन्ततः गाउँमा निर्णय गर्नुपर्ने भयो । को माथि भरोसा गर्ने ? चौतारामा बस्नेहरूले आकाश हेरेर निर्णय गर्न खोजे । खेतमा पस्नेहरूले माटो छामेर निर्णय गरे । अन्त्यमा किसानको जित हुन्छ ।
यो कथा केवल कल्पना मात्र होइन, जुम्लाको वर्तमान राजनीतिसँग मेल खाने एउटा रूपक पनि हो । राजनीतिमा कहिलेकाहीँ बाहिर देखिने दृश्य र भित्र चलिरहेको प्रक्रिया फरक हुन्छ । कसैले बादल देख्छ, कसैले त्यसले झारेको पानी । कसैले दिनमा न्यानो दिने सूर्य र रात सजाउने तारा हराएको देख्छन्, कसैले माटो भिजेको देख्छन् ।
शाहीको जितलाई पनि धेरैले यही फरक दृष्टिकोणबाट हेरेका छन् । केहीले उनको शैलीलाई केवल लोकप्रियताको राजनीति भन्छन् । अरूले भने यसलाई लामो समयदेखि मौन बसेको असन्तुष्टिको आवाज मान्छन् । यथार्थ के हो भन्ने प्रश्नको उत्तर समयले दिनेछ । तर एउटा कुरा स्पष्ट छ, जुम्लाका मतदाताले यसपटक पनि उनलाई विश्वास गरेका छन् ।
नेपालभर अहिले नयाँ नेतृत्वको चर्चा भइरहेको छ । धेरै ठाउँमा नयाँ अनुहारहरू उदाइरहेका छन् । तर जुम्लाको परिणामले एउटा रोचक सन्देश दिएको छ, नयाँ भन्ने कुरा कहिलेकाहीँ केवल उमेर वा समयले मात्र तय हुँदैन । कहिलेकाहीँ नयाँ भनेको शैली, भाषा र प्रस्तुति पनि हुन सक्छ ।
जुम्लाको राजनीतिमा यो परिणामले अर्को प्रश्न पनि उठाएको छ । के मतदाताले अब परम्परागत दलहरूबाट अलग विकल्प खोज्न थालेका हुन् ? कि दल जेसुकै भए पनि व्यक्ति वा व्यक्तिको शैली र प्रस्तुति नै निर्णायक बन्न थालेको हो ? नयाँ सधैँ ठीक र पुराना सधैँ बेठीक भन्ने नहुन पनि सक्छ कि ? यदि त्यस्तो हो भने यो प्रवृत्ति भविष्यमा अन्य जिल्लाहरूमा पनि नदेखिएला भन्न सकिन्न ।
अन्ततः लोकतन्त्रमा मतदाताको निर्णय नै अन्तिम सत्य हो । विश्लेषकहरूले जे भने पनि मतपेटिकाले दिएको संकेतलाई अस्वीकार गर्न सकिँदैन । जुम्लाका मतदाताले यसपटक दिएको सन्देश सायद यही हो, राजनीति केवल विचारको बहस मात्र होइन, जनभावना बुझ्ने कला पनि हो । जब कसैले त्यो कला सही समयमा प्रयोग गर्न सक्छ, तब आलोचना, व्यंग्य र विवादका बीच पनि जित सम्भव हुन्छ ।
















