जुम्ला जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र शाहीले आफूलाई राजनीतिमा आउन प्रेरणा दिने व्यक्ति स्वर्गीय मानव सेजुवाल भएको बताएका छन्।
फागुन ४ गते नेपाली काँग्रेस जुम्लाले तत्कालीन जिल्ला सभापति मानव सेजुवालको १२ औं स्मृति दिवस मनायो। यही पेरिफेरिमा राप्रपा प्रवक्ता तथा उम्मेदवार ज्ञानेन्द्र शाहीले लेखेको स्टाटसलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसमार्फत शाहीले काठमाडौँमा भएको एक भेटका क्रममा मानव सेजुवालले, ‘तिमी जस्ता युवाहरू राजनीतिमा आउनुपर्छ’ भनेर प्रेरणा दिएको स्मरण गरेका छन्। आज आफू राजनीतिमा सक्रिय भए पनि सेजुवाल अब बीचमा नरहेको भन्दै उनले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
शाहीका अनुसार सेजुवालले देखाएको प्रजातान्त्रिक अभ्यास, राजनीति पेशा नभई सेवा हो भन्ने सोच र मूल्य मान्यताले मार्गदर्शन गरेको छ। ‘उहाँले देखाउनुभएको बाटोलाई बोकेर हिँड्न पाउनु हाम्रो लागि ठूलो सौभाग्य हो,’ उनले लेखेका छन्।
उनले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलालेखबाट केही स्थानीय राजनीतिकर्मीले मानव सेजुवालको नाम हटाएकोप्रति पनि दुःख व्यक्त गरेका छन्। शिलालेखबाट नाम हटाइए पनि जुम्ली जनताको मनबाट उहाँको योगदान कहिल्यै नमेटिने शाहीको भनाइ छ।
‘उहाँलाई जुम्लाले सधैँ सम्मानका साथ सम्झिरहनेछ,’ भन्दै शाहीले हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। उक्त स्टाटस ढिलो पोस्ट भएकोप्रति क्षमा माग्दै उनले बाटोमा नेटवर्कको समस्या भएकोसमेत उल्लेख गरेका छन्।
शाही हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट जुम्ला जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्। यसअघिको प्रतिनिधि सभा निर्वाचनमा उनी अत्यधिक मतले विजयी भएका थिए।
















