सहकार्यको मोडल, शक्ति बाँडफाँट र भावी राजनीतिक रणनीतिबारे छलफल भएको नेताहरूको भनाइ छ । स्रोतका अनुसार निर्वाचनअघि सबै वैकल्पिक शक्तिलाई एकै ठाउँ ल्याउने विषयमा उनीहरूबीच सहमति बनेको छ ।
जेनजी आन्दोलनपछि विकसित नयाँ राजनीतिक चेतना र आसन्न निर्वाचनको सन्दर्भमा वैकल्पिक राजनीतिक शक्तिहरू एकै ठाउँमा ल्याउने प्रयास तीव्र बन्दै गएको छ । यही प्रयासको केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह देखिएका छन् । सोमबार राति अबेरसम्म चलेको लामो छलफलपछि दुवै नेता सहकार्य गर्ने सहमतिमा पुगेका छन् ।
सोमबार साँझ करिब ७ बजे सुरु भएको वार्ता राति करिब साढे १ बजेसम्म चलेको थियो । रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित कार्यालयमा भएको उक्त छलफल करिब ६ घण्टा लामो रह्यो । छलफलपछि रवि र बालेन एउटै गाडीमा बाहिरिएका थिए ।
यही क्षणलाई संकेत गर्दै असिम शाहले राति १ः४२ बजे सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन, दुई दाजु भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो ।’
सोमबार बिहान पनि दुवै नेताबीच भेटवार्ता भएको थियो । बिहान र साँझ गरी दुई चरणमा भएका छलफलमा उनीहरूले सामूहिक तथा एक्लाएक्लै संवाद गरेका थिए ।
सहकार्यको मोडल, शक्ति बाँडफाँट र भावी राजनीतिक रणनीतिबारे छलफल भएको नेताहरूको भनाइ छ । स्रोतका अनुसार निर्वाचनअघि सबै वैकल्पिक शक्तिलाई एकै ठाउँ ल्याउने विषयमा उनीहरूबीच सहमति बनेको छ ।
रास्वपा नेता गणेश कार्कीका अनुसार नयाँ शक्तिहरू मिल्नुपर्छ भन्ने साझा बुझाइका साथ नेतृत्व तहमा निर्णायक छलफल भइरहेको छ । ‘रास्वपाको संवाद समिति र मेयर शाहको टिमबीच पटकपटक छलफल भएको छ । नेतृत्व तहमै सकारात्मक ढंगले संवाद अघि बढिरहेको छ,’ उनले बताए ।
सोमबार साँझको छलफलमा रास्वपा उपसभापति डिपी अर्याल, मेयर शाहका सहयोगी कुमार बेन र जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ पनि सहभागी थिए । सहकार्यको ठोस ढाँचा तयार पार्न दुवै नेता र उनीहरूको टिम सक्रिय रहेको बताइएको छ । उपसभापति अर्यालले छलफलको विस्तृत प्रगतिबारे मंगलबार सार्वजनिक गरिने जानकारी दिएका छन् ।
न्यायिक आदेशबाट रिहा भएपछि रवि लामिछानेले राजनीतिक संवाद र भेटघाटलाई तीव्र बनाएका छन् । उनले सार्वजनिक रूपमा नै वैकल्पिक शक्तिहरूको एकताका लागि आफू पहिलो त्याग गर्न तयार रहेको घोषणा गरिसकेका छन् । ‘सिंगो पुस्ताको भविष्यका लागि मिल्ने हो भने मिलौँ,’ भन्ने उनको अभिव्यक्ति राजनीतिक वृत्तमा व्यापक चर्चा भएको छ ।
वार्ताको समन्वय गरिरहेका जेनजी अगुवा सुदन गुरुङका अनुसार दुवै नेता ‘ओपन माइन्डेड’ छन् र मिल्ने सम्भावना उच्च छ । ‘एजेन्डामा दुवै एकै ठाउँमा छन् । अब भूमिका, संगठनात्मक बाँडफाँट र अगाडि बढ्ने बाटो टुंग्याउन बाँकी छ,’ उनले भने ।
राजनीतिक विश्लेषकहरू रवि–बालेनको बढ्दो निकटतालाई आगामी निर्वाचनअघि वैकल्पिक राजनीतिक ध्रुव निर्माणतर्फको महत्वपूर्ण संकेतका रूपमा हेरिरहेका छन् । राति साढे १ बजे एउटै गाडीमा बाहिरिएको त्यो दृश्यले नेपाली राजनीतिमा नयाँ सम्भावनाको संकेत दिएको छ ।















