नयाँ राजनीतिक यात्राको यात्री बनेको छु, गन्तव्यमा पुग्न नथाकी लाग्ने अठोट छ।
जुम्लाको चन्दननाथ नगरपालिका -१० को सामान्य किसान परिवारमा २०२३ साल फागुन ५ गते जन्मिएका मक्कर बहादुर भण्डारीको यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिमा क्रियाशील छन्। परिवारिक स्रोत सीमित भएपनि शिर्क्षा आर्जनको सपनामा कुनै सीमा थिएन।

बाल्यकालदेखि नै शिक्षालाई जीवन परिवर्तन गर्ने बलियो माध्यम ठान्ने उनको परिवारले शिक्षा आर्जनको ढोकालाई अनेक व्यवधानका बीचमा पनि खुला राख्यो। परिणाम उनको शैक्षिक यात्राले ज्ञान आर्जनको फराकिलो आयतन निर्माण गर्यो।
विद्यालय जीवनमै उनी अनुशासन र परिश्रमका लागि चिनिन्थे। २०४२ सालमा एसएलसी उत्तीर्ण गरे। त्यसबेला जुम्लामा उच्च शिक्षाका अवसर सीमित थिए। तर उनी रोकिएनन्, जुम्ला बहुमुखी क्याम्पसको पहिलो व्याचका विद्यार्थी बने। २०४५ देखि २०४७ सम्म त्यहीँ अध्ययन गरे।

शिक्षाप्रतिको मोह अझ गहिरिँदै गयो। त्यसपछि २०४८ देखि २०५० सम्म त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरबाट बीएड पूरा गरे।
२०४२ सालदेखि नै उनले शिक्षण पेशा सुरु गरिसकेका थिए। कक्षा कोठामा उभिँदा उनी पाठ्यपुस्तक पढाउँदैनथे। जीवन बुझाउँथे। विद्यार्थीलाई सपना देख्न सिकाउँथे।

‘शिक्षा भनेको जागिर मात्र होइन, चेतना हो,’ उनी भन्थे। २०५१ सालसम्म उनी शिक्षककै रूपमा क्रियाशील रहे।
२०५१ सालपछि उनको जीवनले अर्को मोड लियो। निजामती सेवामा प्रवेश गरे। शिक्षा प्रशासन सेवामा काम थाले। विद्यालय व्यवस्थापनदेखि नीतिगत तहसम्म उनले जिम्मेवारी सम्हाले।
जिल्लादेखि केन्द्रसम्मको अनुभव संगाल्दै गए। उनी फाइलका साथसाथै विद्यार्थीको भविष्य पनि हेर्थे।

तर यो यात्रामा पीडा पनि कम थिएन। सेवा र जिम्मेवारीकै बीचमा उनले जीवनसाथी गुमाए। त्यो क्षण उनको जीवनको सबैभन्दा गहिरो घाउ बन्यो। घर सुनसान भयो। मन भारी भयो।
‘घर फर्कँदा बोल्ने कोही नहुँदा राज्यको कुर्सी पनि अर्थहीन लाग्थ्यो,’ उनी भावुक हुँदै भन्छन्। पारिवारिक विछोडको पीडाले उनलाई भित्रैदेखि हल्लायो। तर उनी भत्किएनन्। पीडालाई शक्तिमा बदल्ने प्रयास गरे।

२०८० साल माघ ८ गते उनले शिक्षा प्रशासन सेवाको उपसचिव पदबाट राजीनामा दिए। सुरक्षित र प्रतिष्ठित जागिर, धेरैका लागि सपना जस्तै पद। तर भण्डारीले नयाँ बाटो रोजे, राजनीति।
‘देश परिवर्तनको कुरा कार्यालयको कोठाभित्र बसेर मात्र हुँदैन,’ उनी निर्णयको कारण यसरी सुनाउँछन्।
२०८० साल माघ १२ गते उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिए। चार दिनपछि, माघ १६ गते पार्टी सभापति रवि लामिछानेबाट ब्याज ग्रहण गरे। त्यो क्षण उनका लागि नयाँ जीवनको सुरुवात थियो। ‘त्यो ब्याज सामान्य चिन्ह मात्रै होइन, जिम्मेवारी हो,’ उनी भन्छन्।

२०८० साल फागुन २८ गते केन्द्रीय कार्यालयले उनलाई जुम्ला जिल्ला संयोजकको जिम्मेवारी दियो। जिम्मेवारी पाएसँगै उनी जिल्ला फर्के, राजनीतिक गतिविधि सुरु गरे। जनताका दुःख, समस्या र विकासको भोग सुन्न थाले।
२०८१ साल वैशाख १ गते तत्कालीन खेलकुद मन्त्री विराजभक्त श्रेष्ठबाट जुम्लामा पार्टी कार्यालय उद्घाटन गराए। जुम्लामा रास्वपाको औपचारिक कार्यालय खुलेको त्यो दिन धेरै कार्यकर्ताको आँखामा आशा झल्किएको थियो।
त्यसपछि भण्डारीको दिनचर्या फेरियो। बैठक, भेला, संगठन विस्तार, विकास निर्माणका विषय, जनसरोकारका मुद्दा, उनी सबै ठाउँमा सक्रिय देखिन थाले।

‘राजनीति भनेको भाषण होइन, उपस्थिति हो,’ उनी भन्छन्। जिल्लामा पार्टीको पहिचान बनाउन उनी निरन्तर लागिरहे।
२०८१ साल चैत ३० गतेको जिल्ला भेलाबाट उनी जिल्ला सभापतिमा चयन भए। कार्यकर्ताले उनलाई भरोसा दिए। उनको अनुभवको कदर गरे।
पार्टीका हरेक तहका भेलामा उनको सक्रिय सहभागिता देखिन्छ। कर्णालीका विकट बस्तीहरूमा उनको कर्मचारीवाला छवि राजनीतिज्ञको रुपमा परिचित हुँदै गयो।

हाल उनले पार्टीले आह्वान गरेको प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारमा दाबी सहित नाम दर्ता गराएका छन्। कर्णाली प्रदेशभरिका २३ योग्य, क्षमतावान र अनुभवी व्यक्तिमध्ये उनी पनि एक हुन्।
लामो समयको शिक्षा प्रशासनको अनुभव, संगठन चलाउने क्षमता, जनतासँगको आत्मीय सम्बन्धलाई उनले आफ्नो बलिया पक्ष ठानेका छन्।
तर भण्डारीका लागि राजनीति पदको दौड मात्रै होइन। यो देशको केन्द्रदेखि दुर दराजको कर्णालीका पीडाबाट जन्मिएको प्रतिबद्धता पनि हो।
श्रीमतीको अभाव आज पनि उनलाई चस्स पोल्छ। कहिलेकाहीँ कार्यक्रम सकेर घर फर्कँदा मन भारी हुन्छ। ‘उनी भएको भए, आजको यो यात्रामा सबैभन्दा पहिले बधाई दिने सायद उनी नै हुन्थिन्,’ सम्झिँदा उनी केही क्षण मौन हुन्छन्।

उनको जीवनले एउटा कुरा स्पष्ट देखाउँछ। सेवा क्षेत्रबाट राजनीति प्रवेश गर्ने यात्रा सजिलो हुँदैन। तर इमान, अनुभव र पीडाले त्यो यात्रालाई अर्थपूर्ण बनाउँछ।
उनी जुम्ला सँगसँगै कर्णाली विकासको आशा लिएर राजनीतिमा लागेका छन्। शिक्षाबाट सुरु भएको उनको यात्रा अब परिवर्तनको दिशातर्फ अघि बढिरहेको छ। उनी भन्छन्, ‘नयाँ यात्राको यात्री बनेको छु, गन्तव्यमा पुग्न नथाकी लाग्ने अठोट छ।’














